
२० वैशाख, काठमाडौं । म्यानमारको विद्रोही समूह कचिन इन्डिपेन्डेन्स् आर्मी (केआईए)ले सोमबार हवाइ आक्रमण गरेर फर्किँदै गरेको सेनाको हेलिकप्टर खसालेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारमा सेनामाथि विद्रोही समूहको आक्रमण बढेसँगै सेनाले पनि हवाई आक्रमणलाई तीव्रता दिएको हो । केआईए समूहका अनुसार कचिन प्रान्तको मोइमौक सहर नजिकै सेनाको हेलिकप्टर खसालिएको हो । यद्यपि, कुन हतियार प्रयोग गरी सेनाको हेलिकप्टर खसालेको भन्ने केआईएले खुलाएको छैन ।
संयुक्त राष्ट्रसंघको आकलन अनुसार हजारौं नागरिक सेना र धार्मिक अल्पसंख्यक समुदायका विद्रोही समूहसँगको लडाइँको कारण विस्थापित भइसकेका छन् । स्थानीयका अनुसार हेलिकप्टर खसालिएसँगै विमानमा रहेका चार जनाको मृत्यु भएको छ ।
गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारलाई हटाउँदै कू गरेपछि म्यानमारमा अस्थिरता बढेको छ । आइतबार म्यानमारमा सेनाविरुद्ध ठूलो प्रदर्शन भएको थियो । उक्त प्रदर्शनको क्रममा आठ प्रदर्शनकारी मारिएका थिए ।
म्यानमारको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा गत फेब्रुअरीयता ७६५ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4