+
+

खोप किन्ने अनुमति दिन स्वास्थ्यमन्त्रीलाई रामपुरका मेयरको निवेदन

अमृत सुवेदी अमृत सुवेदी
२०७८ जेठ ९ गते १८:४०

९ जेठ, पोखरा । पाल्पाको रामपुर नगरपालिकामा अहिले ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ जना गम्भीर बिरामीको अहिले प्रादेशिक स्तरको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

नगरपालिकामा रामपुरमा २० बेड, वडा नम्बर १, ९ र १० मा ५/५ बेडको आइसोलेसन तयार पारेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं खोप खरिद गर्ने भन्दै आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटेर निवेदन दिएका छन् ।

स्थानीय तहले खोप खरिदका लागि स्वीकृति मागेको यो पहिलो पटक भएको मेयर थापाको दाबी छ । सरकारले खोप उपलब्ध गराउन समय लगाउने देखेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन लागेको मेयर थापाले बताए ।

‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिन चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’

मेयर थापाले भारतमा रहेका रामपुर नगरपालिकाका सन्दीप रानाले खोप खरिदका लागि समन्वयमा गर्न सक्ने भनेकाले अनुमति मागिएको बताए । अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रबन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ ।

‘अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुरकै हुन् । उनीसँग छलफल भएपछि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका हौं,’ मेयर थापाले भने, ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्‍यो, होइन भने हामी नै खरिद गर्छौं, अनुमति दिनुपर्‍यो ।’

रानाको समन्वयमा भारतका तीन वटा कम्पनीबाट खोप खरिद गर्न लागिएको मेयर थापाको भनाइ छ । आफूले मासिक पारिश्रमिक पनि जनताकै काम लगाउँदा आएका मेयर थापाले विकास बजेट कटाएर भए पनि खोप खरिद गर्ने बताए ।

उनले विपद व्यवस्थापन कोषको एक करोड रुपैयाँ रहेको र खोपका लागि विकास बजेट काटेर भएपनि छुट्याउने बताए ।

फ्रन्ट लाइनमा खटिएकाहरु र लक्षित वर्षले पहिलो र दोस्रो चरणमा खोप लगाइसकेको र ५० हजार डोज खोप ल्याउँदा सबैलाई पुग्ने मेयर थापाको भनाइ छ । खोप खरिद गर्न देशविदेशबाट रामपुरवासीले पनि सहयोग गर्न चासो दिइरहेकाले आर्थिक समस्या नहुने मेयर थापाले बताए ।

‘प्रत्येक स्थानीय तहले कोरोना महामारीमा बल लगाउने हो भने यसले भयावह रुप लिने थिएन, किन त्यसरी समन्वय हुन सकेन भनेर स्वास्थ्यमन्त्रीसँग प्रश्न पनि गरें,’ मेयर थापाले अनलाइनखबरलाई सुनाए, ‘अब महामारीमै केन्द्रित रहेर सरकारका सबै अंगको ईफोर्ट लगाइने उहाँले बताउनुभयो ।’

अहिलेसम्म पाल्पामा कोरोनाले उग्र रुप नलिए पनि बेलैमा खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिकस्तरबाट पनि आइरहेकाले दबाब बढिरहेको उनको भनाइ छ । ‘हामीसँग ६०/७० वटा अक्सिजन सिलिण्डर थिए, अरु पनि जोगाड हुँदैछ । अक्सिजनकै अभावमा रामपुरमा कसैले ज्यान गुमाउनु पर्दैन,’ मेयर थापाले भने, ‘रामपुर प्रादेशिक अस्पताल भौतिक पूर्वाधार निर्माणकै चरणमा रहेकाले सम्पन्न भएपछि स्तरीय सुविधा अरु थपिने छ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?