
११ जेठ, काठमाडौं । कोरोना महामारीबाट जनतालाई बचाउन खोप ल्याउनुपर्ने बेलामा मध्यावधि निर्वाचन घोषणा गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जेठमा भनेका छन्, ‘चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा जुटेका छौं ।’ खोपका लागि मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेको र अन्तर्राष्ट्रिय संघसंस्थासँग कुराकानी भइरहेको उनले बताए ।
तर खोपका लागि गरिएको पहल पनि उत्साहजनक छैन । नेपाल सरकारले किनिसकेको १० लाख जोड खोप सेरम इन्स्टिच्युट अफ इण्डियाले कहिले दिने हो टुंगो छैन । यही कारण कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकको दोस्रो डोज लगाउने मिति फेरि सारिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार कोभ्याक्सले दिने खोप पनि धेरै हदसम्म सेरममा नै भर पर्छ ।
अर्को विकल्प भनेको निजी क्षेत्र हो । सरकारले तीनवटा कम्पनीलाई खोप ल्याउन अनुमति दिएको छ । तर विभिन्न खोपका आधिकारिक बिक्रेता तोकिएका ती कम्पनीहरूले व्यावसायिक रूपमा खोप ल्याउन सक्ने सामथ्र्य देखाएका छैनन् ।
उनीहरूले खोप ल्याउन सके नागरिकले किनेरै स्वेच्छिक खोप लगाउन पाउँथे । विज्ञहरूका अनुसार त्यसले खोप अभियान प्रभावकारी हुन्थ्यो भने राज्यकोषमाथि पर्ने भार कम पथ्र्योे ।
खोप लगाउने जिम्मा मूलतः सरकारकै भए पनि स्वेच्छिक रूपमा तोकिएको मूल्यमा खोप लगाउन पाएमा त्यसले महामारीका अरू लहरमा जोखिम घट्न सक्ने अपेक्षा गरिन्छ । तर अनुमति पाएका निजी कम्पनीहरू तत्कालै व्यावसायिक प्रयोग गर्ने गरी निजी पहलमा खोप ल्याउन नसकिने बताउँछन् । सरकारी पहलमा खोप किन्न कठिन भइरहेकाले निजीस्तरबाट व्यावसायिक रूपमा खोप आपूर्ति गर्ने सम्भावना निकै कम देख्छन्, सरकारी अधिकारीहरू पनि ।
क–कसले पाए अनुमति ?
औषधि व्यवस्था विभागबाट अहिलेसम्म हुकुम डिष्ट्रिब्युटर्स, लोमस फर्मा र इमाराल्ड फर्माले खोप आयात र बिक्री वितरणको अनुमति पाएका छन् । विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हुकुमले भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित ‘कोभिशिल्ड’, लोमसले रसियाली सरकारको ‘स्पुतनिक–भी’ र इमाराल्डले बायोटेक इण्डियाको ‘कोभ्याक्सिन’ खोप ल्याउन अनुमति पाएका छन् ।
‘उनीहरूले हामीले दिएको अनुमतिका शर्तका आधारमा खोप आयात गरेर निजी तवरबाट खोप बिक्री–वितरण गर्न सक्छन्,’ महानिर्देशक भट्टराईले भने, ‘तर अहिलेसम्म कुनै पनि कम्पनीले यस्तो खोप ल्याउन लागेको सूचना हामीसँग छैन ।’ उनका अनुसार अहिले विश्वभरि नै कोरोना विरुद्धको खोपको माग उच्च छ भने उत्पादन सीमित छ । यही कारण कम्पनीहरूले चाहे पनि सहजै आफ्नै प्रयासमा खोप ल्याइहाल्न सहज अवस्था छैन ।
‘स्पुतनिक तत्काल आउँदैन’
लोमस फर्माले ‘स्पुतनिक भी’ ल्याउन अनुमति पाएको छ । तर लोमसका एक अधिकारी सरकारी तवरबाट पहल गर्दा समेत सहजै खोप प्राप्त नभइरहेको अवस्थामा निजी क्षेत्रको जोडबलले खोप आउनसक्ने नदेखिएको बताउँछन् । ‘स्पुतनिक खोपका लागि हामी मात्रै हैन, ६०–७० देशका कम्पनीहरू प्रतीक्षा गरिरहेका छन्, तर अहिलेसम्म हामी प्राथमिकतामा परेका छैनौं,’ ती अधिकारीले भने, ‘तर, हामीले कूटनीतिक च्यानलबाट पनि नेपाललाई प्राथमिकतामा राख्न पहल गरेका छौं, अपेक्षित उपलब्धि हात परेको छैन ।’
कोभिशिल्ड र कोभ्याक्सिनको कथा उस्तै
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेको कोभिशिल्ड खोप भारतमा विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्ष्टिच्युट अफ इण्डियाले उत्पादन गर्छ । सरकारी तवरमा भएको सम्झौता अनुसार १० लाख डोज नै उसले दिन सकेको छैन । यो अवस्थामा निजी क्षेत्रले ल्याउन तत्कालका लागि सम्भव नहुने सरकारी अधिकारीहरू बताउँछन् ।
देशभित्र प्रयोग नगरी खोप निर्यात गरिएको भन्दै आलोचना खोपेको सेरमले औपचारिक रूपमै सन् २०२१ को अन्तिमतिरबाट मात्रै अन्य मुलुकलाई कोरोनाभाइरस विरुद्धको खोप दिन सकिने बताइसकेको छ । गत साता विज्ञप्ति जारी गरेर सेरमले आफ्नो मुलुक भारतलाई प्राथमिकतामा राखेकाले अन्य मुलुकलाई वर्षको अन्त्यतिरबाट खोप दिन सकिने जनाएको छ । यसअघि नै करोडौं डोजका लागि अग्रिम बुकिङ लिएको उसले व्यावसायिक प्रयोजनका लागि कहिले खोप दिन्छ भन्ने अनुमानसम्म लगाउन कठिन छ ।
केही समयको उत्पादन भारतमै प्रयोग गर्ने योजना बनेकाले यसमा आफूहरूले थप बोलिरहन नपर्ने नेपालमा कोभिशिल्डको आधिकारिक बिक्रेता तोकिएको हुकुमका एक प्रतिनिधिले बताए । ‘सेरमले नेपालमा भएको सम्झौता अनुसारको अर्डर समेत दिन सकिरहेको छैन भने तत्काल हामीले व्यावसायिक प्रयोजनमा ल्याउन सक्ने कल्पना पनि हुँदैन,’ ती प्रतिनिधिले भने, ‘केही दिनअघि सेरमले जारी गरेको विज्ञप्ति पढेर यसबारे स्पष्ट हुन सकिन्छ ।’
बायोटेक इण्डियाको ‘कोभ्याक्सिन’ पनि व्यावसायिक रूपमा नेपाल भित्र्याउन सहज देखिएको छैन ।
महामारीको दोस्रो लहरमा तहसनहस भएको भारतमा सरकारले नै खोप निर्यातमा कडाइ गरेको छ । जबकि भारतले करीब ६ करोड ६० लाख डोज विदेश पठाएको थियो । नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध दिएको थियो ।
चीनको खोप बिक्रेता छैनन्
नेपालमा प्रयोगको अनुमति पाइसकेको चीनको ‘भेरोसेल’ खोपको भने अहिलेसम्म नेपालमा स्थानीय बिक्रेता छैन । सो खोपको आपूर्ति सरकारी तवरबाट मात्रै सम्भव हुने अवस्था रहेको विभागका महानिर्देशक भट्टराई बताउँछन् ।
चीन सरकारले पनि ८ लाख डोज ‘भेरोसेल’ खोप नेपाललाई अनुदानमा दिएको थियो । तर, उसले अहिलेसम्म थप खोप दिन वा बेच्न नेपालसँग कुनै सम्झौता गरेको छैन ।
आधिकारिक बिक्रेताको अनुमति नपाएको अवस्थामा चीनबाट निजी क्षेत्रले खोप ल्याउने विषय सहज छैन । त्यसैले सरकारले चीनबाट खोप किन्न छलफल अघि बढाएको छ । स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्रमार्फत चिनियाँ पक्षलाई पत्राचार समेत गरिएको छ । तर त्यसको प्रतिक्रिया आइसकेको छैन ।
प्रतिक्रिया 4