
१५ जेठ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत हुनेवित्तिकै लगातार बढ्यो । डेढ महीनाको अवधिमा यस संस्थाको सेयर मूल्य प्रति कित्ता ५ हजार रुपैयाँ भन्दा माथि पुग्यो ।
अहिले आईपीओमा आवेदन दिनेहरूमध्ये केहीले गोलाप्रथाबाट १० कित्ता हात पार्छन् ।
एक हजार रुपैयाँ लगानी गरेर महिला लघुवित्तको १० कित्ता आईपीओ हात पार्नेहरूले छोटो अवधिमा नै ५० हजार रुपैयाँमा बेच्न पाए । बुधबारको मितिसम्म पनि यस संस्थाको सेयर मूल्य प्रति कित्ता ४ हजार ५७१ रुपैयाँ छ ।
सञ्चालनमा आएको केही वर्षमै ‘घ’ वर्गको लघुवित्तको सेयर मूल्य यति उच्च पुगेको छ भने धेरै वर्ष पुराना र अर्बौं चुक्ता पूँजी भएको ‘क’ वर्गको बैंकको सेयर मूल्य कति होला ?
अहिले सबैभन्दा धेरै सेयर मूल्य भएको बैंक भनेको नबिल हो । यस बैंकले प्रतिफल पनि हरेक वर्ष आकर्षक नै दिने गरेको छ । तर यसको सेयर मूल्य भनेको बुधबारसम्म प्रतिकित्ता एक हजार ३०६ रुपैयाँ छ ।
सानो संस्थाको भन्दा ठूलो संस्थाको सेयर मूल्य किन यति थोरै ? ‘बिग क्यापिटल भएका कम्पनीहरूको सेयर मूल्य धेरै नभए पनि स्टेबल हुन्छन्, थोरै क्यापिटल भएका कम्पनीहरूको सेयर मूल्य हाम्रो मुलुकमा मात्रै धेरै होइन अन्त पनि हुन्छ’ नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुली भन्छन्, ‘थोरै पूँजी भएका कम्पनीहरूको सेयर मूल्य बढी हुन्छ, त्यहाँ जोखिम पनि धेरै हुन्छ, जोखिम हुने ठाउँमा आम्दानी पनि राम्रै हुनसक्छ ।’
नेपाली सेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रकै ठूलो हिस्सा छ । यसमा पनि ‘क’ वर्गका बैंकहरू नेपाली सेयर बजारको ‘बिग क्यापिटल’ (ठूलो पूँजी) भएका कम्पनीहरू हुन् । यस्ता कम्पनीहरूको सेयर मूल्य कम भए पनि स्थिर हुने उनले बताए । लघुवित्तको पूँजी सानो हुने र यसबाट गरिने अपेक्षा भने धेरै हुने भएकाले पनि मूल्य आकाशिएको उनी बताउँछन् ।
‘साना कम्पनीमा जोखिम पनि बढी हुन्छ, क्यापिटल गेनका हिसाबले नाफाको सम्भावना पनि बढी हुन्छ’ प्रवक्ता पराजुली भन्छन्, ‘रिस्क बढी हुने ठाउँमा रिटर्न पनि बढी हुने सम्भावना भएकाले लघुवित्तहरूको सेयर मूल्य धेरै भएको हो ।’
अन्य देशहरूमा पनि यस्तै हुने भएकाले यसलाई खासै आश्चर्य मान्नु नपर्ने उनले बताए ।
दर्जनभन्दा बढी लघुवित्तको सेयर मूल्य दुई हजार उँभो
सञ्चालनमा रहेकामध्ये ५२ वटा लघुवित्त वित्तीय संस्थाहरू नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छन् ।
सूचीकृतमध्ये मर्जर प्रक्रियामा रहेका स्पर्श लघुवित्त, नेपाल एग्रो लघुवित्त लगायतका केही कम्पनीहरूको सेयर कारोबार रोकिएको छ । धेरैजसोको नियमित रूपमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।
बुधबारको सेयर मूल्यलाई आधार मान्दा दर्जनभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्य दुई हजार माथि छ ।
यसबाहेक पनि अधिकांशको सेयर मूल्य दुई हजार आसपासमा थियो । लघुवित्तहरूमा अहिले बजारमा सबैभन्दा धेरै सेयर मूल्य भएको महिला लघुवित्त वित्तीय संस्था नै हो ।
यसको सेयर मूल्य प्रतिकित्ता ४ हजार ५७१ रुपैयाँ रहेको छ भने दोस्रोमा देखिएको नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य ३ हजार ६३६ रुपैयाँ छ ।
तेस्रोमा जनउत्थान लघुवित्तको सेयर मूल्य ३ हजार ६१२ रुपैयाँ थियो । चौथोमा देखिएको फरवार्ड कम्युनिटीको २ हजार ८७० र पाँचौंमा देखिएको ग्लोबल आईएमईको सेयर मूल्य २ हजार ८०६ रुपैयाँ छ ।
हेर्नुस् धेरै मूल्य भएका दर्जन कम्पनीः
कमजोर छ बैंकको सेयर मूल्य
तुलनात्मक रूपमा लघुवित्त कम्पनीहरूको भन्दा ‘क’ वर्गका बैंकहरूको सेयर मूल्य निकै न्यून छ । अहिले सबैभन्दा धेरै सेयर मूल्य भएको नबिल बैंक हो । नबिल बैंकको १३०६ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य छ ।
बैंकहरूमध्येमा धेरै सेयर मूल्य हुने नबिलको लघुवित्तसँग तुलना गर्ने हो भने तेब्बर भन्दा बढी लघुवित्तको सेयर मूल्य छ । महिला लघुवित्तको सेयर मूल्य ४ हजार ५७१ रुपैयाँ नबिलभन्दा तीन गुणा बढी हो ।
उता दोस्रो नम्बरमा धेरै सेयर मूल्य रहेको एनआईसी एशियाभन्दा चार गुणा बढी नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य चार गुणा बढी छ । एनआईसी एशियाको मूल्य ९१० हुँदा नेशनल माइक्रोफाइनान्सको मूल्य ३ हजार ६०० भन्दा माथि छ ।
प्रतिक्रिया 4