
१६ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) महामारीको संकटको विषयलाई लिएर राष्ट्रपतिविरुद्ध देशव्यापी आन्दोलन भएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको प्रदर्शनकारीहरुको आरोप छ ।
शनिबार ब्राजिलको ब्रासिलियामा हजारौं प्रदर्शनकारीहरुले बोल्सोनारोको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपतिविरुद्ध महाभियोग र कोरोनाविरुद्ध थप खोपको माग गरेका थिए ।
ब्राजिलका अन्य प्रमुख शहरमा पनि प्रदर्शन भएको थियो । ब्राजिलमा कोरोनाको महामारी सुरु भएसँगै राष्ट्रपति बोल्सोनारोको लोकप्रियतामा निकै कमी आएको छ । ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । राष्ट्रपति बोल्सोनारोमाथि अहिले महामारी नियन्त्रणको लागि आवश्यक कदम नचालेको र कोरोना खोप कार्यक्रम तीव्र गतिमा अघि नबढाएको विषयमा संसदीय इन्वायरीको सामना गरिरहेका छन् ।
ब्राजिलका विभिन्न राज्यका नेताले राष्ट्रपतिले महामारी नियन्त्रणमा पर्याप्त कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । कोरोनाको महामारी सुरु भएदेखि नै बोल्सोनारोले रोकथामका लागि आवश्यक सतर्कता पालना गर्नु नपर्ने बताउँदै आएका थिए । उनले कोरोनाका कारण केही मानिसको मृत्यु भए पनि अर्थतन्त्र रोक्न नहुने शर्त राख्दै आएका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4