
२४ जेठ, विराटनगर । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको हो ।
प्रदेशमा असार १ गते बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । बजेटमाथिको छलफलका लागि सोमबारबाट बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ३३ अर्ब हाराहारीको ल्याइनेछ ।
‘चालु आर्थिक वर्षका लागि घाटा बजेट प्रस्तुत भएको छ, आगामी वर्षका लागि प्रदेशको क्षमता अनुसार बजेट आँउछ,’ उनले भने, ‘हामी तयारी गरिरहेका छौं, बजेटको आकार ३२–३३ अर्बको हुनेछ ।’
बजेटको तयारी भइरहेका बेला मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण भएका कारण केही समस्या भएको उनले बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । तर केन्द्रबाट अपेक्षा अनुसार अनुदान नआउँदा बजेट दुई अर्बभन्दा बढी घाटामा रहने उनले बताए ।
कोरोना महामारीका कारण प्रदेशको आम्दानीको स्रोत खुम्चिएका कारण बजेटको आकार घट्ने उनले बताए । आगामी आर्थिक वर्षमा नयाँ महत्वाकांक्षी योजना नसमेटिने उनले बताए ।
चालु वर्ष ४० अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको थियो ।
प्रतिक्रिया 4