+
+

सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

जनक विष्ट जनक विष्ट
२०७८ जेठ २८ गते २०:०३

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् ।

प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले बिहीबार सर्वोच्च अदालतले पार्टीको दशौँ महाधिवेशन कमिटीलाई वैधता नभएको अवस्थामा प्रदेश अध्यक्ष र सचिवलाई विधानले नचिन्ने बताए ।

उनले स्पष्टीकरण पेश गरिरहनुपर्ने आवश्यकता नभएपनि सामूहिक रुपमा आफूहरुले तथ्यगत कुराबारे जानकारी दिएको बताए ।

संसदीय दलका नेता प्रकाशबहादुर शाह, संसदीय दलकी सचेतक दुर्गा विकसहित १७ सांसदले स्पष्टीकरण पत्रमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई समर्थन र विश्वासको मत दिनुको कारण पेश गरेका छन् । उनीहरुले संसदीय दलका बहुमत सदस्यको निर्णयले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राखेको जनाएका छन् ।

सोही निर्णय बमोजिम नै भट्ट नेतृत्वको सरकारमा सहभागी भएको जनाउँदै विश्वासको मत समेत संसदीय दलकै निर्णयका आधारमा दिएको जवाफ पेश गरिएको सचेतक बिकले बताइन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत माग्दा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले उनको पक्षमा मतदान गरेका थिए भने ओली पक्षका ७ सांसदले विपक्षमा मतदान गरेका थिए ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएकामा २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले एमालेको प्रदेश कमिटीले १७ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?