+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जसको ३२६ वटा भेडा पहिरोमा पुरिए…

‘जीवनै भेडाको पछि बित्यो, फेरि भेडा पाल्छु’

विकास रोकामगर विकास रोकामगर
२०७८ असार ७ गते २०:४१

७ असार, पोखरा । सयौं भेडाबाख्राको हुल । भेडाहरुलाई पछ्याउँदै हिंडिरहेका चार भोटेकुकुर । भेडाहरुको चाल र घाँटीमा झुन्डाइएको घन्टीबाट आवाज आउँदा गाउँ नै संगीतमय हुन्थ्यो । भेडाका बथानै लिएर गाउँ पस्दा सबैले सबै भन्थे, ‘अहो ! लिलेका भेडा त सप्रिएछ । भेडालाई माया गर्न त जानेकै हो ।’

हुन पनि कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका लीलप्रसाद गुरुङको जीवनै भेडाको पछि बित्यो । दाजुभाइहरु पढ्न स्कुल जाँदा पनि उनी भेडा चराउनै गए, अर्को ‘इलम’ सोचेनन् । भेडाको संख्या बढाउने र डाँडापाखा डुल्ने मात्रै सपना थियो ।

गएको दशैंमा पनि गुरुङ भेडाबाख्रा जम्मा गरेर गाउँ आएका थिए । छरछिमेकी र गाउँलेले ‘दशैं मनाउन’ भेडा माग गरे । तर, उनले प्रस्ताव नकार्दै भनेका थिए, ‘हुँदैन । भेडा अझै थप्ने हो । बेच्दिनँ, अरुसँगै किन्नुस् ।’

गुरुङले भेडा नबेचेपछि अर्कै व्यापारीसँग किनेर दशैं मनाए । उनी भने आफ्नो भेडा बचेकोमा मख्ख भए । केही दिनमै गाउँमा बाघ पस्यो । ७ वटा भेडा बाघको आहारा बने । पुसको सुरुमा मात्रै गुरुङका भेडाहरुमा रोग देखियो । एक–दुई गर्दै १५० भन्दा बढी भेडा मरे । के रोग थियो, उनलाई अझै थाहा छैन । हिउँद सुरु भइसकेको थियो । यामअनुसार खर्कका गोठमा स्थानान्तरण गर्नुपर्ने थियो । गन्तव्य बन्यो, कोरी हिमालसम्म ।

पुसको १० गते उनी आफ्ना ३५० भेडाबाख्रा र ४ वटा कुकुरसहित उकालो उक्लिए ।

पहिरोमा भेडाबाख्रा सोत्तर भएको खबर…

गुरुङको गोठ हुगुमा थियो । उनी अर्का भेडा गोठाला र दुई जना कामदारसँग क्हपुचेतर्फको बाटो सोझिए । त्यहाँ उनले तीन वर्षअघि मात्रै नयाँ रैथाने गोठ बनाएका थिए । ‘कोरीसम्म पुग्न धेरै बाटो छन् । पहिले पनि अर्कै बाटोबाट जान्थ्यौं । गोठ बनिसकेपछि त्यो बाटो हिंड्नै पर्‍यो,’ गुरुङ सुनाउँछन् ।

जेठको अन्तिम सातातिर गाउँमा काम पर्‍यो । भेडाहरु तीन जनालाई जिम्मा लगाएर गुरुङ ३१ गते गाउँ फर्किए । गाउँ आइपुग्दा भारी वर्षा भइरहेको थियो । असार २ गते बिहानै हुगुको एक होटलबाट खबर आयो, ‘बौला खोला बौलियो । पहिरो गयो । जम्मै भेडाबाख्रा पुर्‍यो । भेंडी गोठको नामनिशान छैन । तीन जना गोठाला उतै फसेका छन् । आउन सक्ने अवस्था छैन ।’

लीलप्रसाद गुरुङ

त्यो दिनदेखि गुरुङ बेचैन छन् । आफ्ना सबै सम्पत्ति मानेको भेडा पहिरोले बगाएपछि के गरौं कसो गरौं भयो । ‘त्यहाँ पनि फोन टिप्दैन । एउटा होटलमा भएको वाकीटकीबाट खबर आएको थियो,’ उनी भन्छन्, ‘धेरै पानी परेर बाटो बिग्रिएकाले जान सक्ने अवस्था रहेन ।’ पहिरोमा परी आफ्नो ६० लाखभन्दा बढी क्षति भएको उनी सुनाउँछन् । उनका अनुसार २४ वटा भेडा र एउटा कुकुर मात्रै बचेका छन् । ‘पानी परेको पर्‍यै भएर खोला बढ्न थालेपछि केटाहरु माथितिर भागेका रै’छन् । त्यैबेला पहिरो गएछ,’ उनी सुनाउँछन्, ‘६० सालपछि पहिलो पटक यसरी खोला उर्लिएको देख्यौं । त्यतिबेला पनि यति बिजोग बनाएको थिएन ।’

फसेका तीन जना गोठालालाई उद्धार गर्न ३ गते मात्रै गाउँदेखि २४ जनाको टोली पुगेको थियो । ‘होटलका भाइहरुले प्लास्टिकमा ढुंगा बाँधेर बिस्कुट फालिदिएपछि त्यही खाएर बसेका रै’छन्,’ गुरुङका भाइ पावेल गुरुङ भन्छन्, ‘त्यो दिनपछि बाटो बनाउँदै जानुपर्ने भएर चार घन्टाको बाटो आठ घण्टा लगाएर पुग्यौं ।’

भेडाबाख्रा र कुकुर पहिरोमा पुरिएको एक हप्ता बित्यो । लीलप्रसाद अझै राम्रोसँग निदाउन सकिरहेका छैनन् । घरिघरि तिनै भेडाहरुको याद आउने गरेको उनी सुनाउँछन् । ‘मेरो जीवन भेडाको पछि लागेर बित्यो,’ उनी सुनाउँछन्, ‘फेरि पनि ऋणधन गरेरै भेडा पाल्छु । अर्को काम जानेकै छैन ।’

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?