+
+

भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित आठ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १५:२०

२७ असार, गैंडाकोट । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।

गैंडाकोट नगरपालिका–६ का वडाध्यक्ष सापकोटाले २०७७ चैत १ गते पहिचान विनै वंशजका आधारमा नागरिकता बनाउन झूठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए । ‘नागरिकता बनाइदिन नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ’ प्रहरी निरीक्षक खनालले भनिन्, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’

भारतीय नागरिक देवनलाई आफ्नै छोरा भन्दै नागरिकतामा उल्लेख आमा भनिने ममिता खातुनले सानैमा छोडेर गएको भनी झुठो विवरण पेश गरेर मियाँले नागरिकता बनाइदिएको प्रहरीको भनाइ छ । उनीहरुले भारतीय नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउन मियाँ बुबा र श्रीमतीले बच्चा जन्माएपछि सानैमा छोडेर गएकी भन्दै ममिता खातुनलाई आमा बनाएर झुटो विवरण पेश गरी कीर्ते गरेको खुल्न आएको प्रहरी निरीक्षक खनालले बताइन् ।

नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्मदर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७७ चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।

जन्मदर्ता बनाएको १५ दिनभित्रै नागरिकता बनेको देखिएको प्रहरीको भनाइ छ । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेका छन् ।

पक्राउ परेका आठै जनालाई नागरिकता सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक खनालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?