
१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा केही सुधार आएको सचिवालयले जनाएको छ । मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं, बाँसबारीस्थित स्नायु (न्यूरो) अस्पतालमा उपचार भइरहेको छ ।
‘बिहानभन्दा केही सुधार आएको छ । दिउँसो यहाँ (काठमाडौं) ल्याउँदासम्म आँखा पनि खोल्नु भएको थिएन,’ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘उपचार जारी छ । तर, डाक्टरहरुले केही सुधार हुँदैछ भन्नु भएको छ ।’
शुक्रबार बिहान अचानक स्वास्थ्यमा खराबी आएपछि उनलाई पोखराकै मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका थिए । सचिवालयले शुरुमा हृदयघात भएको जानकारी दिएपनि पछि मस्तिष्कघात भएको खुलेको थियो ।
मणिपालमा प्राथमिक उपचारपछि दिउँसो हेलिकप्टरबाट काठमाडौं थप उपचारका लागि लगिएको थियो । उच्च रक्तचापका कारण मेयर जीसीलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातका कारण शरीरको देब्रे भागमा समस्या देखिएको मेयर जीसीका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4