५ साउन, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय मिडिया एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडिया रहने भएको छ ।
आयोजक ईपीएल प्रालिले अष्ट्रेलियाको मारोन मिडियालाई अन्तर्राष्ट्रिय मिडिया अधिकार सेल्स एजेन्ट नियुक्त गरेको जनाएको छ । ईपीएलले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि मारोन मिडियासँग सम्झौता गरिएको जनाएको छ ।
सम्झौतापछि मारोन मिडियाले नेपाल र भारतबाहेक अन्तर्राष्ट्रिय मिडिया अधिकार पाएको छ । अब मारोन मिडियाले विश्वभर ईपीएलको प्रत्यक्ष प्रसारणको लागि अधिकार बेच्नेछ । नेपाल र भारतमा प्रसारण अधिकार भने ईपीएलको ग्लोबल ब्रोडकास्टर तथा होस्ट ब्रोस्कार लेक्स स्पोर्टेलसँग रहेको आयोजकले जनाएको छ ।
आयोजकले मारोन मिडियासँगको सम्झौता रकम भने खुलाएको छैन । मारोनका सह–संस्थापक लारा रिचर्डसले इपीएलसँग जोडिन पाउँदा खुशी लागेको बताएकी छन् । ‘हामी एभरेष्ट प्रिमियर लिगसँग सहकार्य गर्न पाउँदा र यसलाई मार्केटमा ल्याउन पाउँदा खुशी छौं, ‘सम्झौतापछि मारोनका सह–संस्थापक लारा रिचर्डसले भनिन् ।
लाराले ईपीएल लोकल ट्यालेन्ट र अन्तर्राष्ट्रिय खेलाडीको मिश्रण हुने भएकाले यसमा सहभागी हुन पाउँदा गर्व लागेको बताइन् । आयोजक ईपीएलका संस्थापक तथा सीईओ अमिर अख्तरले विश्वभर प्रतियोगिता प्रसारण हुनु गर्वको कुरा भएको बताएका छन ।
चौंथो संस्करणको ईपीएल आगामी असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान)ले पनि मान्यता दिइसकेको छ ।
आयोजकले प्रतियोगिताको लागि तीव्र रुपमा तयारी गरिरहेको छ । ईपीएलमा नेपालका ६ प्रमुख शहरको नाममा रहेका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो पटक सन् २०१८ मा ईपीएलको तेस्रो संस्करण आयोजना भएको थियो । २०२० मै प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि कोभिड–१९ का कारण प्रतियोगिता आयोजना हुन सकेन ।
ललितपुर प्याट्रीओट्स ईपीएलको साविक विजेता हो । ललितपुरसँगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सले ईपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4