+
+

कलैया उपमहानगरका विद्यालय खुले

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १५:३२
फाइल तस्वीर

१८ साउन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका विद्यालय सोमबारदेखि खुलेका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ ।

नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खेल्ने निर्णय गरेको थियो । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि गत वैशाख १३ गतेबाट विद्यालयहरु बन्द गरिएको थियो ।

सोमबारबाट उपमहानगर क्षेत्रभित्रका विद्यालय सञ्चालनमा आएको कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारीले जानकारी दिए । ‘कोरोना महामारीले विद्यार्थीको पठनपाठनमा निकै असर पारेको छ । नगर शिक्षा समितिले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालयको माथिल्लो कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘सोही अनुसार कलैयाका निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन् ।’

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद वर्णवालले आइतबार सूचना निकालेर माथिल्ला कक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएका थिए । सूचनामा कक्षा १–५ सम्म अध्यापन हुने आधारभूत विद्यालयलाई कक्षा ४ र ५, कक्षा १ देखि ८ सम्म अध्यापन हुने आधारभूत विद्यालयलाई कक्षा ६, ७ र ८, कक्षा १ देखि १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयलाई कक्षा ८, ९ र १० र कक्षा १ देखि १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयलाई कक्षा ८ देखि १२ सम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न आग्रह गरिएको छ ।

तोकिएको कक्षाबाहेक अन्य कक्षा तत्कालका लागि बन्द नै राख्न कलैया उपमहानगरपालिकाले आग्रह गरेको छ । कलैयामा ७२ वटा सामुदायिक विद्यालय छन् भने ४० वटा निजी तथा आवासीय विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?