२५ साउन, काठमाडौं । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र बजाज पल्सरको तर्फबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गाेल्छाले सम्झौता पत्र आदान प्रदान गरे ।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २४ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । विश्वकै नाम चलेका स्टार खेलाडीले समेत खेल्ने ईपीएलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
गाेल्छा ग्रुपका अध्यक्ष शेखर गाेल्छाले पछिल्लो समय क्रिकेटमा युवा पुस्ताो चासो बढेकाेले नेपालकाे सबैभन्दा ठूलाे क्रिकेट प्रतियाेगिता ईपीएलकाे टाइटल स्पाेनसर बन्ने निर्णय गरेकाे बताए । उनले नेपाली खेलकुदलाई सधैं सहयाेग गर्दै आएकाे र याे सहकार्यले पनि देशभरबाट धेरै गुणस्तरीय खेलाडी जन्मिने आशा व्यक्त गरे ।
यस्तै ईपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले ईपीएलले स्थापना कालदेखि नै नेपाल र विदेशी क्रिकेट प्रेमीकाे ठूलाे ध्यान तान्न सफल भएकाे बताए । साथै ईपीएलसंग जाेडिएकाे ब्राण्डले उच्च सम्मान पाउने र बजाज आफैं ब्राण्ड उत्कृष्टताकाे एक उदाहरण रहेकाे बताए ।
पछिल्लो पटक सन् २०१८ मा ईपीएलको तेस्रो संस्करण आयोजना भएको थियो । २०२० मै चौथो संस्करण आयोजना गर्ने तय भएपनि कोरोना महामारीले गर्दा प्रतियोगिता हुन सकेको थिएन ।
पछिल्लो पटक २०१८ मा भएको तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रिओट्सले जितेको थियो । ललितपुरसंगै काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले ईपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4