२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।
साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले जनाएको छ । यसअघि बंगलादेशमा साफ गर्ने तय भए पनि कोभिड–१९ का कारण उसले हात झिकेको थियो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले कोरोना महामारीका कारण अहिले नेपाल भन्दा माल्दिभ्सको अवस्था केही राम्रो रहेकाले माल्दिभ्समा आयोजना गर्न सहमति जनाएको बताए । माल्दिभ्स साफको साविक विजेता समेत हो ।
पछिल्लो पटक सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ आयोजना भएको थियो ।
यस पटक साफमा ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस्तै भुटानले पनि सहभागिताबारे ३ दिनमा निर्णय गर्ने एन्फाले जनाएको छ । अहिलेसम्म नेपाल, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले खेल्ने पक्का भएको छ । पाकिस्तान भने फिफाको प्रतिवन्धमा रहेकाले साफमा सहभागी हुने छैन ।
भारतले अहिलेसम्म सर्वाधिक ७ पटक साफ उपाधि जित्दा नेपाल भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।
नेपालले साफका लागि तयारी शुरु गरिसकेको छ । १० दिनको ब्रेकपछि नेपालको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुनेछ ।
प्रतिक्रिया 4