+
Home Sports Cricket सोमपाल कामी

सोमपाल कामी
नेपाल, बलर

Full Name: सोमपाल कामी
Nationality: नेपाल
Date of Bith: 1996-02-02 (28 yrs)
Team:
Position: बलर

ट्वान्टी ट्वान्टी विश्वकप २०२४ मा सहभागी खेलाडीमध्ये त्यस्ता एक जना मात्र छन्, जससँग यसअघि सन् २०१४ को संस्करण खेलेको पनि अनुभव हुनेछ । अर्थात् ती हुन्, सोमपाल कामी । यही एक तथ्यले नेपाली क्रिकेटका लागि उनी कति महत्वपूर्ण छन्, उनको योगदान कति छ थाहा हुन्छ । त्यही एक तथ्यले के पनि प्रमाणित गर्छ भने उनले यति धेरै लामो समय नेपाली क्रिकेटमा रहन कडा मिहिनेत गरेका छन् नै । उनी टिमकै सबैभन्दा अनुभवी खेलाडी पनि भए ।

गुल्मी तुरुङ–८ का हुन्, सोमपाल । सन् १९९६ मा उनको जन्म भएको हो । भर्खर तीन वर्षका थिए, आमा बुबासँगै भारतको पञ्जाब गए । उनको बाल्यकाल उतै बित्यो । सानैदेखि उनलाई क्रिकेट मन पथ्र्यो । क्रिकेट पनि उतै सिके । भारतमा छँदा स्कुलस्तरका प्रतियोगिता खेले । पछि सोमपालले इन्डियन प्रिमियर कर्पोरेट लिग पनि खेले र त्यसमा उनले कप्तानीको अनुभव पनि बटुले । सन् २०१३ मा उनी क्रिकेट खेल्नका लागि भनेर नेपाल आएका थिए र यो कथा आफैंमा संयोगको शृंखलाले भरिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट क्रिकेट खेलिरहेका अर्जुन अधिकारीले सोमपाललाई फेसबुकबाट मेसेस गरे । त्यसमा नेपाल क्रिकेट खेल्न निम्तो थियो । सोमपाल बुबालाई थाहा नदिई भारतबाट काठमाडौं आए । त्यो दिन थियो, सन् २०१३ को सेप्टेम्बर ३ । त्यो त्यही दिन थियो, जुन दिन साफ च्याम्पियनसिपमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए । त्यो गोल नहुँदो त नेपाल पराजित हुन्थ्यो, प्रतियोगिताबाट बाहिरिन सक्थ्यो । युवा सोमपाल यसबाट खुबै प्रभावित भए ।

घरेलु क्रिकेटमा प्रवेश

नेपाल आएयता उनले सबैभन्दा पहिले घरेलु यू–१९ खेले, फ्यान क्लबबाट । भारत छँदा सोमपाल ब्याटिङमा जोड दिन्थे । नेपाल आएयता उनको बलिङ बढी धारिलो बन्यो । उनले क्षेत्र नम्बर ३ काठमाडौंलाई यू–१९ को च्याम्पियन बनाउँदा उनको बलिङ नै चम्केको थियो, ब्याटिङको तुलनामा । क्षेत्रीय स्तरको खेलमा लगातार शतक प्रहार गरेपछि उनी प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परे । यसरी उनी पक्का अलराउन्डरको रूपमा अगाडि आए, घरेलु क्रिकेटमा उनले ओपनरको भूमिका समेत निभाएका छन् ।

लगातार दुई शतकपछि उनी यू–१९ एशिया कप टिममा परे । त्यसमै टिकेर उनी सिनियर टिमसम्म पुगे । सन् २०१३ मा ‘जर्नी टु वल्र्डकप’ भएको थियो । त्यो वान डे विश्वकप छनोटको तयारीका रूपमा भएको थियो । त्यसमा उनले शानदार खेले र यो नै उनको खेल जीवनको निर्णायक मोड बन्यो । उनले चार खेलमा सर्वाधिक १० विकेट लिए । सन् २०१५ मा आर्मीसँग आबद्ध भएका सोमपालले नेपालको घरेलु फ्रेञ्चाइज क्रिकेटमा जगदम्बा जायन्ट्स, काठमाडौं किंग्स–११ र चितवन टाइगर्सका लागि खेले ।

राष्ट्रिय टिममा प्रवेश

नेपालका लागि सोमपालले उमेर समूहमा कुनै प्रतियोगिता खेलेनन् । त्यसैले उनले सीधै राष्ट्रिय टिममा प्रवेश पाए, त्यो पनि वान डे विश्वकप जत्तिको ठूलो प्रतियोगिताको क्वालिफायरमा । सन् २०१४ मा न्यूजिल्यान्डमा वल्र्डकप क्वालिफायर चलेको थियो । त्यतिबेलाका फास्ट बलर अमृत भट्टराई, जितेन्द्र मुखिया र अविनाश कर्ण घाइते भए । त्यसैले सोमपालले मौका पाए । उनले यूएई विरुद्धको खेलमै डेब्युको अवसर पाएका थिए ।

उनले त्यस खेलमा विकेट भने लिन सकेनन् । स्कटल्यान्ड विरुद्धको अर्को खेलमा पनि मौका पाए र त्यसमा उनले तीन विकेट लिए । उनको पहिलो विकेट स्कटल्यान्डका कप्तान काएल कोएत्जरको थियो । उनले क्वालिफायरका सबै खेल खेलेर आठ विकेट लिए । तर नेपालको प्रदर्शन राम्रो हुन सकेन र नेपाल डिभिजन–टुमा झर्‍यो । सोमपालको करिअर भने अगाडि बढिसकेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी ट्वान्टी विश्वकप खेल्ने टिममा उनी परे ।

उनले हङकङ विरुद्धको खेलबाट ट्वान्टी ट्वान्टी क्रिकेटमा डेब्यु गरे । त्यस ऐतिहासिक खेलमा नेपालले हङकङलाई सजिलै हराएको थियो र त्यसमा सोमपालले तीन ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । त्यस विश्वकपमा सोमपालको पहिलो विकेट हङकङका कप्तान जेमी विट्किन्सनको रहेको थियो । अफगानिस्तान विरुद्धको दोस्रो खेलमा उनले १४० किलोमिटरको गतिमा बलिङ गरे । सन् २०१४ को सेप्टेम्बर–अक्टोबरमा २०१४ मा दक्षिण कोरियामा भएको एशियन गेम्समा ५ विकेट लिएका थिए ।

यस्तै सन् २०१४ अक्टोबरमा मलेसियामा भएको डिभिजन–थ्रीमा उनले ११ विकेट लिए । २०१४ को नोभेम्बरमा नेपालले हङकङ विरुद्ध पहिलो ट्वान्टी ट्वान्टी सिरिज श्रीलंकामा खेल्यो । वर्षात्का कारण सिरिजमा एकै खेल मात्र सम्भव भयो र त्यसमा १०औं क्रममा ब्याटिङ गर्दै सोमपालले ४० रन बनाएर कीर्तिमान बनाए । यसक्रममा उनी दशौं क्रममा ब्याटिङ गरेर सर्वाधिक रन बनाउने खेलाडी बने । नेपालले २५ रनमै ८ विकेट गुमाइसकेको अवस्था थियो । शक्ति गौचनसँग मिलेर नवौं विकेटका लागि उनले ४३ रनको साझेदारी गरेका थिए । उनले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

सोमपालले श्रीलंकाको सारासेन्स स्पोर्टस् क्लबबाट सन् २०१५ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरे । सन् २०१९ मा ग्लोबल टी–२० क्यानडामा उनले विनिपेग हक्सका लागि खेलेका थिए । उनी नेदरल्यान्ड्स विरुद्धको नेपालको पहिलो ऐतिहासिक वान डेमा डेब्यु गर्ने भाग्यमानी खेलाडीमध्ये एक रहे । त्यसमा उनले नयाँ इतिहास बनाए । उनी डानिएल टेर ब्राकलाई तेस्रो ओभरमा बोल्ड गर्दै वान डे क्रिकेटमा नेपालका लागि पहिलो विकेट लिने खेलाडी बने ।

त्यस पहिलो खेलमा उनले तीन विकेट लिए, ८.४ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चिएर । दोस्रो खेलमा भने नेपालले १ रनको रोमाञ्चक जित हात पार्दा सोमपालले अझ उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङ गर्ने क्रममा उनले ६१ रन बनाए । उनले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । त्यस खेलमा उनले १ विकेट समेत लिए र ‘प्लेयर अफ द म्याच’ पनि भए । उनले सन् २०१९ मा नेपालका लागि १३औं दक्षिण एशियाली खेलकुदमा काँस्य पनि जिते ।

Read Full