
प्रति सेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) कम्पनीको नाफा मूल्यांकन गर्ने एउटा महत्वपूर्ण सूचक हो । कम्पनीको खुद नाफा (करपछिको नाफा) लाई सेयर संख्याले भाग गर्दा आउने नतिजालाई प्रति सेयर आम्दानी भनिन्छ ।
प्रति सेयर आम्दानीको अंकले एक कित्ता सेयर बराबर कम्पनीले कति नाफा कमाएको छ भन्ने बुझाउँछ । यदी कम्पनीले अग्राधिकार (प्रिफरेन्स) सेयर जारी गरेको छ भने खुद नाफामा अग्राधिकार सेयरलाई दिनुपर्ने नाफा घटाइन्छ र कम्पनीमा कायम सेयर संख्याले भाग गरेर प्रति सेयर आम्दानी निकालिन्छ ।
उदाहरणका लागि
- कम्पनीको खुद नाफा: १ अर्ब
- कम्पनीको चुक्ता पुँजी: १० अर्ब
- सेयरको अंकित मूल्य (फेस भ्यालु): रू. १००/-
- कम्पनीमा कायम सेयर संख्या: १० करोड
- प्रति सेयर आम्दानी= कम्पनीको खुद नाफा/कम्पनीमा कायम सेयर संख्या= १ अर्ब/१० करोड = रु. १०/-
प्रति सेयर आम्दानी १० को अर्थ: कम्पनीमा कायम एक कित्ता सेयर बराबर कम्पनीले दश रुपैयाँ आम्दानी गरेको छ । सामान्यतया कम्पनीको इपिएस जति उच्च हुन्छ, त्यति नै लाभदायक हुन्छ ।
खुद नाफामा कम्पनीले कमाएको नाफा मात्र देखिने हुँदा र कम्पनीमा कायम सेयर संख्याको हिसाब नदेखिने भएकोले कम्पनीको आम्दानीलाई दाँजेर हेर्न इपिएसलाई वित्तीय विश्लेषण गर्ने राम्रो सूचकको रुपमा लिइन्छ ।
उदाहरणका लागि-
- कम्पनी “क” को नाफा: रु. १०००/-
- कम्पनी “क” मा कायम सेयर संख्या: १००
- कम्पनी “क”को प्रति सेयर आम्दानी: रु. १० /-
- कम्पनी “ख” को नाफा: रु. २०००/-
- कम्पनी “ख” मा कायम सेयर संख्या: ४००
- कम्पनी “ख”को प्रति सेयर आम्दानी: रु. ५/
माथिको उदाहरणमा कम्पनी “क” को नाफा एक हजार छ र कम्पनी “ख”को नाफा दुई हजार छ । नाफामा हेर्दा कम्पनी “ख” राम्रो देखिन्छ तर कम्पनीमा कायम सेयर संख्या हेर्दा कम्पनी “क” राम्रो देखिन्छ । किनभने कम्पनी “क” ले एक हजार नाफा कमाउँदा कम्पनी “क” को एक सेयर बराबर गरेको नाफा १० रुपैयाँ हो । तर, कम्पनी “ख”ले २ हजार नाफा कमाए पनि कम्पनी “ख”को एक सेयर बराबरको नाफा ५ रुपैयाँ मात्र हो ।
त्यसैले खुद नाफा भन्दा प्रति सेयर आम्दानीलाई राम्रो सूचक मान्ने गरिन्छ । प्रति सेयर आम्दानी ऋणात्मक भएको कम्पनी नोक्सानीमा गएको हो भन्ने बुझ्न सकिन्छ ।
नेपालमा वित्तीय प्रतिवेदनहरु त्रैमासिक रुपमा प्रकाशन हुने भएकोले प्रति सेयर आम्दानी पनि त्रैमासिक रुपमा परिवर्तन हुन्छ । तर त्रैमासको बिचमा कम्पनीको बोनस सेयर वा हकप्रद सेयर प्रयोजनका लागि बुक क्लोज भएर सेयर संख्या थपिएको अवस्थामा ‘डाइलुटेड’ अथवा ‘एड्जस्टेड’ प्रति सेयर आम्दानी हेर्नु उपयुक्त हुन्छ ।
कम्पनीको प्रति सेयर आम्दानीलाई कम्पनीको नाफाले असर गर्ने भएकोले नाफाको घटबढले कम्पनीको प्रति सेयर आम्दानीलाई तलमाथि पार्छ । त्यस्तै कम्पनीको चुक्ता पुँजीको तुलनामा खुद नाफामा वृद्धि हुन नसक्दा पनि प्रति सेयर आम्दानी प्रभावित हुन्छ ।
सामान्यतया प्रति सेयर आम्दानी धेरै हुँदा कम्पनीको बजार मूल्यलाई सकारात्मक प्रभाव पर्छ भने प्रति सेयर आम्दानी कम हुँदा त्यसको नकारात्मक प्रभाव पर्छ । प्रति सेयर आम्दानीलाई दाँजेर हेर्दा समान क्षेत्रका कम्पनीहरुलाई एकठाउँमा राखेर दाज्नु उपयुक्त हुन्छ ।
एउटै त्रैमासको मात्र प्रति सेयर आम्दानी हेरेर निर्णय लिनु भन्दा प्रति सेयर आम्दानीको एउटा ट्रेन्ड हेर्दा उपयुक्त हुन्छ । विगतदेखि प्रति सेयर आम्दानी वृद्धि हुँदै गएकोलाई राम्रो मानिन्छ ।
प्रति सेयर आम्दानीका सीमा
- कुनै पनि कम्पनीको प्रति सेयर आम्दानी भनेको कुनै एउटा निश्चित अवधिको गणनाबाट निकालिएको हुन्छ । यसले कम्पनीले भविष्यमा कस्तो गर्छ भन्ने कुराको प्रतिबिम्बित गर्दैन ।
- प्रति सेयर आम्दानी कम्पनीको मुनाफामा मात्र केन्ऽित हुन्छ । कम्पनीको ऋण कति छ र सो ऋण तिर्न कम्पनी कुन अवस्थामा छ भन्ने कुरा देखाउँदैन ।
- प्रति सेयर आम्दानी गणनाले नगद प्रवाहलाई ध्यानमा राख्दैन र प्रति सेयर आम्दानी मात्र हेर्दा कम्पनीको वित्तीय स्वास्थ्यको सही जानकारी नहुन सक्छ।
- बिमाकींय मूल्यांकन अघि र पछिको प्रति सेयर आम्दानी फरक पर्न सक्छ । यस अवस्थामा कम्पनीहरुलाई इपिएसको आधारमा दाँज्दा सावधानी अपनाउनु पर्छ ।
- प्रति सेयर आम्दानी मात्र हेरेर कम्पनीको सम्पत्ति, दायित्व र नेट्वर्थको बारेमा थाहा पाउन सकिदैन ।
- प्रति सेयर आम्दानी मात्र हेरेर आजको मूल्यमा कम्पनीको सेयर खरिद गर्नु उपयुक्त छ या छैन भनेर थाहा हुँदैन ।
- सेयर मूल्य अन्डर भ्यालुड वा ओभरभ्यालुड हो भन्नेबारे थाहा हुँदैन ।
प्रति सेयर आम्दानी मात्र हेरेर लगानीको निर्णय लिनु उपयुक्त हुँदैन । योसँगै कम्पनीको प्रति सेयर नेट्वर्थ, व्यवसाय वृद्धि दर, कम्पनीले गर्ने व्यवसायको भविष्य, सञ्चित नाफा/नोक्सान, लाभांश क्षमता जस्ता सूचकहरु पनि हेर्नु पर्छ ।
कम्पनीको बजार मूल्यसँग दाँजेर हेर्दा मूल्य आम्दानी अनुपात, पिबी रेसियो जस्ता सूचकहरु पनि हेर्नु आवश्यक छ । आधारभूत रुपमा जस्तो भए पनि लगानी गर्दा बुलिस र बियरिस प्रवृत्तिलाई पनि ख्याल गर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया 4