
News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ कम्युनिष्ट पाटीका विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध निरीक्षण विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको छ।
- वाल स्ट्रिट जर्नलले जुलाईको अन्त्यमा विदेश भ्रमणबाट फर्केपछि लिउलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ।
- लिउले फिलिपिन्स र इन्डोनेसियाका लागि राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित कूटनीतिक भूमिका सम्हालेका थिए।
२५ साउन, बेइजिङ । चीन भावी विदेशमन्त्रीको दावेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ परेका छन् ।
चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको हो ।
वाल स्ट्रिट जर्नलले आइतबार सार्वजनिक गरेको विवरणमा जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्केपछि अधिकारीहरूले लिउलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको उल्लेख छ । तर, लिउलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन ।
समाचार संस्था एएफीले चिनियाँ विदेश मन्त्रालयसँग घटनाको पुष्टि गर्न खोजेपनि मन्त्रालयले तत्काल जवाफ नदिएको बताएको छ ।
६१ वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि चिनियाँ राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित प्रमुख कूटनीतिक भूमिकामा रहेर काम गरिसकेका छन् ।
लिउले राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरुद्धको अभियान कार्यान्वयन गर्ने जिम्मेवारी भएका विभिन्न राष्ट्रिय र क्षेत्रीय निकायहरूको नेतृत्व गरिसकेका छन् ।
‘किन गाङ’पछि लिउ हिरासतमा पर्ने दोस्रो उच्चाधिकारी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
किनलाई सन् २०२३ मा विवाहेत्तर सम्बन्धको रिपोर्टपछि विदेशमन्त्रीको पदबाट बर्खास्त गरिएको थियो ।
राष्ट्रपति सीका विश्वासपात्र मानिएका लिउलाई चिनियाँ कूटनीतिक वृत्तमा उदीयमान व्यक्तित्वका रूपमा हेरिएको थियो ।
जुलाईको सुरुमा उनले अमेरिकाका रक्षामन्त्रीमाथि चीनको सामना गर्न आफ्ना सेनालाई बलियो बनाउन अमेरिकी सहयोगीहरूलाई आग्रह गरेर ‘टकराव र द्वन्द्व उक्साएको’ आरोप लगाएका थिए ।
गत महिनाको अन्त्यमा धेरै अफ्रिकी देशहरू, सिङ्गापुर र अन्यत्र भएका बैठकहरूपछि उनको सबैभन्दा पछिल्लो सार्वजनिक सहभागिता जुलाई २९ मा अल्जेरियामा भएको थियो ।
प्रतिक्रिया 4