Comments Add Comment

सुनकोशी नदी किनारलाई संकटग्रस्त क्षेत्र घोषणा

१७ साउन, काठमाडौं । सरकारले पहिरोका कारण थुनिएको सुनकोशी नदी किनारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले नदीबाट प्रभावित हुने तटीय क्षेत्रका सम्बन्धित जिल्लाका नदी किनाराका दायाँबायाँको २०० मिटरसम्म सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बैठकले तत्काल नदीको बहाव खोल्न आवश्यक सम्पूर्ण उपाय अपनाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ । नेपाली सेनाको नेतृत्वमा आवश्यक सङ्ख्यामा सम्पूर्ण सुरक्षा निकाय परिचालन गरी थुनिएको स्थानमा विष्फोटन वा अन्य कुनै उपायबाट पानीको बहाव तुरुन्त खुलाउने समितिको निर्णय छ ।

बैठकले दुर्घटनाबाट सम्भाव्य प्रभावित क्षेत्रका बासिन्दालाई तुरुन्त अन्यत्र सार्ने प्रबन्ध मिलाउने, घाइतेहरुको तत्काल उद्धार र उपचार गराउने तथा अन्यत्र सारिएकाहरुको खानपिन र बसोवासको व्यवस्था जिल्ला दैवी प्रकोप, उद्धार समितिलाई मिलाउन निर्देशन दिएको छ ।

खोज, उद्धार तथा राहत कार्यका लागि सबै सरकारी/गैरसरकारी निकाय तथा सुरक्षा निकायहरुसँग भएको स्रोत साधनहरु जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजनमा परिचालन गर्ने, निजी क्षेत्रका हेलिकप्टरहरुलाई आवश्यक परेका बेलामा उद्धार कार्यमा परिचालन हुने गरी तयारी अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

भोटेकोसी/सुनकोसी नदीको बहाव थुनिएपश्चात् उत्पन्न परिस्थितिले पार्न सक्ने प्रभावलाई मध्यनजर राखी उद्धार तथा राहतका लागि भारत र चीनलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने र कोसी ब्यारेजको ढोकाहरु खोल्न कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयमा लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment