Comments Add Comment

हलेसीका तीर्थयात्री चढेकाे जीप पल्टँदा ६ काे मृत्यु, ९ घाइते

५ मंसिर, दिक्तेल । खोटाङको दुर्छिम ६ गौरीभिरमा शुक्रबार विहान जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बाला चतुर्दशीको दिन हलेसी महादेवको दर्शन गरी फर्किंदै गरेका तीर्थयात्रीहरु चढेको मे १ ज ७३२ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा ओखलढुंगा च्यानम २ का ५६ वर्षीय टंक राय, सिन्धुली लिम्पाटार ४ की ६५ वर्षीया पुर्णमाया मगर, सोही ठाउँकी करिब ३७ वर्षीया चन्द्रमायाँ कार्की, चन्द्रमाया तामाङ, नुवाकोट पञ्चकन्याका ३८ वर्षीय रोबहादुर पण्डित र उनकी ३५ वर्षीया श्रीमती सरस्वती पण्डित छन् ।

घाइते ९ जनालाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी हलेसीस्थित हेलिप्याडमा ल्याइएको छ ।

उद्धारकार्यमा बिहानैदेखि जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी साप्कोटासहित डियसपी बिनोदराज खरेल पनि पुग्नुभएको छ ।

घाइते हुनेहरुमा अधिकांश सिन्धुली लिम्पाटारका रहेका छन् । लिम्पाटार ४ का ३३ वर्षीय सन्तोष मगर, ५२ वर्षीय टेकबहादुर मगर, २८ वर्षीय चित्रबहादुर रमौली, १९ वर्षीय चेतबहादुर रमौली, लिम्पाटार ३ का ३५ वर्षीय शम्भु विक, बनेपाका ३३ वर्षीय मन्जु भण्डारी सहित २ बालबालिकाहरु रहेका छन् ।

लिम्पाटार ४ कै ८ वर्षीय आशिष मगर र काठमाडौं कपन मिलनचोकका ९ वर्षीय बालक सिम्रन पण्डित पनि घाइते भएका छन् । करिब ६५ बर्षीय एक घाइतेको भने परिचय खुल्न नसकेको डीएसपी विनोदराज खरेलले जानकारी दिए ।

दुर्घटनापछि फरार चालक कुशल बिकलाई च्यास्मीटार प्रहरीले नियन्त्रणमा लिएको छ । जीप तिब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको दर्शन गर्न बालाचतुर्दशीका दिन बिभिन्न जिल्लाबाट हजारौं दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । दुर्घटनास्थल हलेसी बजारबाट करिब १० किलोमिटर टाढा छ।

बाबुकाजी कार्कीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment