Comments Add Comment

सवारी आयात साढे ३ अर्बले बढ्यो, ५ महिनामा २० अर्बको आयात

११ माघ, काठमाडौं । नेपालमा सवारी साधनको आयात उच्च दरले बढिरहेको छ । पछिल्ला वर्ष विलासी वस्तुका रुपमा लिइने सवारी अत्यावश्यक बन्न थालेपछि आयात बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पाँच महिनामा २० अर्ब ८८ करोड ३४ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका छन् । जुन अघिल्लो वर्षको आयात भन्दा करिव साढे ३ अर्ब रुपैयाँले बढी हो ।

अघिल्लो वर्षको पहिलो पाँच महिनामा १७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टसहरु आयात भएका थिए ।

नेपालीहरुको क्रय क्षमताभित्र पर्ने मोटरसाइकल आयात सबैभन्दा उच्च रहेको देखिन्छ । यसको अलवा हृयाचब्याक इन्ट्रि लेभल कारका प्रयोगकर्ता बढ्दै गइरहेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा सबैभन्दा बढी गाडी भारतबाट आयात गरिन्छ भने केही मात्रामा चीन, कोरिया, जापान लगायतका मुलुकबाट पनि आयात गरिँदै आएको छ । व्यवसायीका अनुसार सस्ता कारहरु भारतबाट भित्रिन्छन भने महंगा लक्जरी कारहरु अन्य मुलुकबाट ल्याइन्छ ।

मानिसहरुमा व्यस्तता बढ्दै जाँदा सवारी साधन आवश्यक बनेको छ । सक्नेहरु कार चढिरहेका छन भने नसक्नेहरु मोटरसाइकलमा हुँइकिने गरेको देखिन्छ । व्यवसायीका अनुसार नेपालमा एक लाख रुपैयाँदेखि झण्डै आधार करोडसम्म पर्ने मोटरसाइकल र ८ लाख रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्म पर्ने कारहरु बिक्री हुँदै आएका छन् ।

यसका साथै व्यवसायीक प्रयोजनका गाडीहरुको आयात पनि उच्च दरले बढ्दै गइरहेको छ । सडक सञ्जालको विस्तार, विकास निर्माणका कामले तिब्रता पाउँदा व्यवसायीक गाडीहरुको आयात उच्च भएको हो ।

राष्ट्र बैंकका अनुसार पाँच महिनाको अवधिमा भारतबाट १८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ बराबरको सवारी तथा पार्टस आयात गरिएको छ । त्यस्तै, चीनबाट ५ करोड ८५ लाख रुपैयाँ बराबरको सवारी आयात भएको छ भने अन्य मुलुकहरुबाट एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बराबरको सवारी आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment