Comments Add Comment

सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सुरु

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा बुधबारबाट ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता-२०७१’ सुरु भएको छ । सो प्रतियोगिताको सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले प्रधान कार्यालयस्थित एपीएफ लनटेनिस कोर्टमा आयोजित एक समारोहका बीच उदघाटन गरे ।
Kosh-Raj-Onta

  • प्रतियोगिता उदघाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त । तस्वीर : सौजन्य सशस्त्र प्रहरी बल

आगामी चैत्र १५ गतेसम्म संचालन हुने सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ छ । प्रतियोगिता अन्तर्गतका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा संचालन गरिएको छ । प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा पुरुष तथा महिलाको एकल युगल इभेन्ट्स छ । साथै नेपाल सरकारको सेवामा कार्यरत तथा अवकाश प्राप्त (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती सेवाका राजपत्राङ्कित अधिकृत)हरुको लागि एकल र युगल स्पर्धा पनि समावेश गरिएको छ । भेट्रान्सतर्फ एकल र युगलतर्फको ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष माथिका खेलहरु छन् । यसपटक ६५ वर्ष माथि भेट्रान्स युगल इभेन्ट्स पनि थप गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै पुरुष र महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०/२० हजार रुपैयाँ छ ।

प्रतियोगिताका खेलहरु आइटिएफ र एएनएलटिएको नियमअनुसार बेष्ट अफ थ्रीका आधारमा संचालन हुने छन् । एपीएफले यस प्रतियोगितासहित राष्ट्रियस्तरमा ब्याडमिन्टन तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment