Comments Add Comment

माल अड्डाका कर्मचारीसँग मन्त्री पण्डितको जुहारी (भिडियोसहित)

१७ चैत, काठमाडौं ।  मालपोत कार्यालयमा भइरहेको भ्रष्टाचारबारे छड्के जाँच गर्न कलंकी पुगेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई माल अड्डाका कर्मचारी र हाकिमले भोकै काम गर्नु परिरहेको गुनासो सुनाएर फिर्ता पठाएका छन् । आफूले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्दा छोराछोरीले समेत चिन्न छाडेको र एमालेको भाषामा भन्दा श्रम शोषण भइरहेको बताएर कर्मचारीले मन्त्री पण्डितलाई उल्लीबिल्ली बनाए ।

lal-babu-pandit-secret-vist-(11)

कलंकी मालपोत कार्यालयमा मन्त्री र कर्मचारीको जुहारी यसरी चल्यो

मन्त्री पण्डित– यता सुन्नुस्, दुई सिफ्ट मैले सुरु गरेको हो । मेरै प्रस्तावमा सरकारले निर्देशन दिएको हो । तर, बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म एउटै कर्मचारीलाई खटाउने भनिएको होइन । तपाईहरुलाई कति कर्मचारी चाहिन्छ ? पद रिक्त छ भने अहिल्यै म कर्मचारी पठाइदिन्छु । नभए सम्बिन्धत मन्त्रालयमा कति दरबन्दी चाहिन्छ, लेखेर पठाउनोस् । मैले दरबन्दी नै थपिदिन्छु । दरबन्दी नथपुञ्जेल अस्थायी व्यवस्थापन गर्दिन्छु ।

कर्मचारी– बच्चाले पनि नरोइकन आमाले दूध खुवाउन्नन् । त्यसकारण हामी बच्चा हो, त्यसैले रोएको ।

मन्त्री पण्डित– १२ घण्टा काम गर्ने भनेको मतलब अन्तरराष्ट्रिय कानूनको मर्यादा विपरीत हुन्छ । अहिले ओभरटाइमको आधारमा गर्दा भो, अपर्झट । नभए दरबन्दी थप्नुपर्छ । तपाईहरुले यहाँ कति कर्मचारी चाहिने हो, भन्नोस् । मलाई त थाहा हुँदैन नि । एउटै कर्मचारीलाई १२ घण्टा काम लगाउन पाइँदैन । अन्तरराष्ट्रिय कानून छ । ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन ।

कर्मचारी– हामी कर्मचारीलाई अब घरका केटाकेटीले पनि चिन्दैनन् । बिहान पाँच बजे उठेर अफिस आयो, बेलुका घरमा जाँदा ७ बज्छ ।

मन्त्री पण्डित– यसबारेमा लेखेर मन्त्रालयमा दिनुहोला ।

कर्मचारी– हामीले त मन्त्रालयमा त बेलैमा पेश गरेको हो नि । हजुर पनि एमालेबाटै जित्नुभएको हो, वामपन्थी भाषामा भन्नुपर्दा हाम्रो श्रमको शोषण भयो । यथार्थमा भन्नुपर्दा मन्त्री ज्यू ! मन्त्रीज्यूसँग धेरै बोल्दा फेरि चुकिएला ।

Lalbabu pandit at malpot (2)

(नीलो ज्याकेट लगाएका कर्मचारीसँग जुहारी सकिएपछि प्रमुख मालपोत अधिकृत र मन्त्रीको अर्को जुहारी सुरुभयो )

मालपोत प्रमुख जीवनाथ सिवाकोटी– अब यो अफिसमा पुसमा बिहान सवा ६ बजे आउँदा हालत के हुन्छ ? न बत्तिको ग्यारेन्टी छ, न डिजेल पेट्रोलमा हामीलाई पर्याप्त पैसा हुन्छ । न कर्मचारीलाई खाना, खाजाको व्यवस्था छ ।  तैपनि पहरो फोर् भनेको छ । हामीलाई मार्तोल र छिनो दिनोस् न भन्दा मुड्कीले हान्दै गर्नोस्, मार्तोल आउँदै गर्छ भनेको छ, हामी पनि हामी पनि हान्दै छौं ।

म १० /१५ दिन बिहान रेगुलर आएँ । बिहान साढे ८ बजेसम्म एकजना मान्छे पनि आएन । ९ बजेपछि कहिले एकजना आयो,  कहिले आउँदै आएन । पुसदेखि अहिलेसम्म चार महिना भयो । चार महिनादेखि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म कर्मचारी खटिएका छन्, न एक सुका इन्सेन्टिभ छ, न कुनै सुविधा छ ।

मन्त्री पण्डित– इन टोटल जुन टाइम छ नि, त्यसको वन थर्ड राजस्व बिहान र बेलुकाको सिफ्टबाट आउँछ । यो चार्ट नै हो, जिल्लाबाट अफिसले पठाएको । राजस्वको पनि यो रेट छ र संख्यामा पनि त्यो छ । मसँग आएकोमा पाल्पाको त्यो हो । मन्त्रीजीकै जिल्ला हो ।

जहाँ कामै छैन, त्यहाँ ६ बजे कहिलेकाहिँ काम नहुन सक्छ । यहाँले बैंक आइपुगेको छैन भन्नुभो, बैंकको पनि व्यवस्था गर्नुपर्छ, त्यो एउटा कुरा हो ।  तर, जनताको भीडभाड हुने भएको ठाउँमा, कलंकी त भीडभाड हुने ठाउँ हो । जहाँ भीडभाड छैन, त्यहाँ हामीले खोलेकै हैनौं । र, अर्को कुरा, सुगम ठाउँ पनि हो । सुगम ठाउँ पनि भएकाले आन्तरिक समस्या जेजे छ, त्यो आन्तरिकरुपमा हल गर्ने हो, तर सरकार रेडी छ सेवा दिन ।

मालपोत प्रमुख– एउटा कर्मचारी थपिएको छैन । एक रुपैयाँ बजेट आएको छैन । तैपनि हामीले खोलेकै छौं । मन्त्रीज्यूले गरेको निर्णय, नेपाल सरकारले गरेको निर्णय हो ।

बैंकसँग मैले पटक पटक आग्रह गरें । हाम्रो अफिस बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म खुल्दैछ, तपाईहरुले त्यही अनुसार सेवा उपलब्ध गराउनुपरो भन्दा म सक्दिँन भन्छ । चाबहिलमा गरिराखेको होला, यसले गर्दिँन भन्यो, म के गरौं ? मैले चिठी लेखें, उसले सक्दिँन भन्यो ।  मैले यही कुरा विभागमा, मन्त्रालयमा पनि जाहेर गरेको छु । के गरौं भन्दा क्यास लिनोस्, क्यास लिएर गर्नोस् भनेपछि त्यही गर्दै आइराखिएको छ ।

मन्त्री पण्डित– बिहान ६ बजे अप्ठ्यारो हुन्छ भने ७ बजेदेखि ७ बजेसम्म पनि गर्न पाइन्छ । नपाइने भनेको होइन । तर, त्यो चाहिँ सल्लाह गरेर, अगि्रम प्रचार-प्रसार गरेर गर्नुपर्‍यो । सहज कसरी बनाउने भन्ने के के प्रस्ताव छ, पठाउनोस् ।

यहाँहरुले गर्दाखेरि विभागसँग गर्नुहुन्छ, विभागले मन्त्रालयसँग गर्छ । यहाँको कार्यालयले सीधै सामान्य मन्त्रालयलाई त चिठी लेख्नुहुन्न । सिधै क्याबिनेटमा त जाँदैन । क्याबिनेटमा दरबन्दीको प्रस्ताव लानुपर्‍यो भने त मैले लान्छु । हैन ? कति कर्मचाररी चाहिन्छ, दरबन्दीको माग भयो भने त म लान्छु नि ।

मैले प्रष्ट भन्दैछु १२ घण्टा एउटै कर्मचारीबाट काम लिने भनेरै निर्णय भएको होइन । निर्णयमै दुई सिफ्ट छ । मसँग पनि छलफल हुँदाखेरि के भएको हो भने जुन जुन कार्यालय धेरैवटा टोली छ भने कुनै एउटा टोलीलाई बिहान ६ बजेदेखि गराएर अर्को टोलीलाई अर्को टाइममा गरेर भए पनि हामी म्यानेज गरेर लान्छौं भन्नुभएकाले गर्दा म अहिले पनि …. ।

हामी अस्ति जनकपुर मालपोतमा गएका थियौं । बैसाखदेखि अहिलेसम्म प्रमुख छैन । जान्छ, दुई दिन बस्छ, फेरि काठमाडौं फर्केर आइहाल्छ । मैले त्यही दिन डीजी, तपाईको रोहितजी न हुनुहुन्छ, रोहितजीसँग त्यहीँ भनें, त्यो कर्मचारीलाई के पोनाल्टी गर्ने हो, लु भन्नोस् त ? काशीजी हामी त्यही थियौं । हैन, आइतबारदेखि ऊ काठमाडौं नआउने गरी त्यहाँ ड्युटी गर्छ भनियो । किन ? भन्दाखेरि म ड्युटीमा छु भन्छ मोवाइलमा  । ऊ काठमाडौंमा हुन्छ , अपिसचाँहि जनकपुर छ । त्यो फेला परेको छ ।

मालपोत प्रमुख– मालपोतमा पौने १२ बजे लिखत पास भो भने त्यसको मोठ काट्ने र श्रेस्ता बनाउने काममा अझै एक घण्टा लाग्छ ।  १२ बजेको मान्छे फुत्त उठेर हिँडिदियो भने नयाँ मान्छे अघिल्लोले गरेको सबै मिलाउन सक्दैन । बैंकको काउन्टरजस्तो, यातायातमा लाइसेन्स दिएको जस्तो मालपोतमा मेरो ड्युटी सिद्धियो भनेर फुत्त निस्कन मिल्दैन ।

त्यसो भएको हुँदा यो सिफ्टको प्रश्न हाम्रो हकमा विचारणीय नै छ । तथापि हजुरले मर्जी भएको जस्तो हामी ६ बजेबाट खोल्नोस् भन्नुभो, खोल्यौं । त्यसपछि हामी बेलुका ६ बजेसम्म पनि बस्यौं । तर, कुरा के आयो भने सिफ्टमा जाने हो भने यति कर्मचारी चाहिन्छ, सिफ्टमा नजाने हो र यिनै कर्मचारीबाट काम गराउने हो भने कमसेकम इनिसिएटिभ चाहिन्छ भनेर समयमै पुसमै दुईपटक तीन पटकसम्म विभाग र मन्त्रालयसँग लेखापढी गरिएको छ ।  हजुरले मर्जी भएकोजस्तो मैले सिधै हजुरकोमा आएर भन्न मिलेन । मैले भन्ने त मेरै मन्त्रालयलाई हो । मेरै विभागलाई हो । अब उनीहरु गर्दैनन् । जसरी पनि छ बजे अड्डा खोल् काम गर् भनेको छ । पहरो फुटा भनेको छ, मुड्कीले हान्दैछौं । अलेली खोस्रिँदै पनि छौं । हात पनि दुख्दैछ, यस्तै छ हजुर । त्यो मार्तोल र छिनो अहिलेसम्म पाएको छैन ।

(कलंकी मालपोत कार्यालयमा हेल्प डेस्कमा मान्छे थिएन, कम्युप्टर शाखाको कुर्सी खाली थियो । तर, खान नपाएका जस्तै निन्याउरा देखिने कर्मचारीको दुखेसो सुन्दैमा मन्त्रीको ध्यान जनताले कस्तो सेवा पाइरहेका होलान् भन्नेतिर जानै पाएन । दृश्य हेर्दा यस्तो लाग्छ, मालपोत कार्यालयमा जनतालाई कुनै सास्ती छैन, कर्मचारीलाई मात्रै समस्या छ  । संगसँगै प्रश्न पनि उठेको छ, सबैभन्दा ठूलो समस्या मन्त्री पण्डित आफैं नै हुन् त ? जसले सरकारी कार्यालयमा बिहान-बेलुका जनताको काम गर्न निर्देशन दिएर कर्मचारीलाई दुख दिए ? )
 
भिडियो हेर्नुहोस्      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment