Comments Add Comment

सिन्धुलीको बंगुर फार्ममा भेटिए जनआन्दोलनका कवि !

राजकुमार श्रेष्ठ

९ वैशाख, काठमाडौं । लोकतान्त्रिक आन्दोलनका चर्चित कवि मणि काफ्ले यतिबेला कुनै फकिरझैं शहरबाट हराएका छन् । गणतन्त्र ल्याउन सक्रिय भूमिका खेलेका काफ्लेको अब पहिचानसमेत बदलिएको छ ।

दोस्रो जनआन्दोलन ०६२/६३ का बेला कीर्तिपुर चोकमा आन्दोलनको अगुवाइ गर्ने कुनै नेता नहुँदा काफ्ले आफ्नो कविताले आन्दोलनको ज्वाला दन्काउँथे । युवाहरुमा जोस भर्थे ।

Mani-Kafleलोकतान्त्रिक आन्दोलनका चर्चित कवि काफ्ले के गर्दैछन् भनेर खोज्दा उनी सिन्धुली पुगेका रहेछन् ।  के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने-आजभोलि म किसान भएको छु सर ।’

शाही ‘कु’ पछि दोस्रो आन्दोलनले प्रारम्भिक रुप लिँदै गर्दा काफ्ले मास्टरी पेशा गर्दै थिएँ । काठमाडौं पढ्न आउँदा उनलाई प्रा.डा. बन्छु भनेको लागेको थियो । तर, लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर क्रान्तिकारी कविता सुनाउने क्रममा उनी ‘हिट सेलिब्रेटी’ बने ।

मणि ९ वर्ष पहिलेको त्यो क्षण सम्झिँदै भन्छन्- ‘अब म राजनीतिक आन्दोलनमा आफ्नोतर्फबाट गर्न सक्ने योगदान गर्छु, समाजलाई माथि लैजान समाजशास्त्रीको रुपबाट गर्न सक्नेजति गर्छु भनेर आउट स्टडी गरेर बसेँ । तर, अहिले आइपुग्दा राजनीतिज्ञहरुलाई हामीजस्ता मान्छे काम नहुने ।’

काफ्ले विद्यार्थी जीवनबाटै वामपन्थी राजनीतिसँग जोडिएका थिए । उनी माओवादीसँग नजिक थिए । लोकतान्त्रिक आन्दोलनपछि उनले एमाओवादीको त्रिभुवन विश्वविद्यालयको कमिटीमासमेत काम गरे । पार्टी फुटेपछि उनी वैद्य माओवादीतिर लागे ।

तर, लोकतान्त्रिक आन्दोलनको सफलतापछि पनि जब राजनीति समाजसँग जोडिएन । मणि काफ्लेलाई लाग्यो, यो राजनीतिक पार्टीमा रहनुको कुनै अर्थ छैन ।

र, उनले निर्णय गरे, आफ्नो तर्फबाट जे सक्छु गर्छु, गाउँ र्फकन्छु । उनले भने-हामी काठमाडौंतिर बिलाएर गयो भने गाउँ जस्ताको तस्तै रहन्छ । गाउँमा गाडी पुग्ला, २/४ वटा रक्सी भट्टी खुल्छन् । ठेक्का पट्टा हुन्छ । तर, एकेडेमिक र उत्पादनको काम केही नहुने देखेपछि म एक्लैले जति सक्छु त्यति गर्छु भनेर गाउँ फर्किने निर्णय गरेँ ।’

अहिले उनी सिन्धुली फर्किएको वर्ष दिन हुन लाग्यो र एकेडेमिक एवं उत्पादनको काममा जोडिएका छन् ।

विद्यालय र बंगुरपालन

काफ्लेले अहिले कक्षा ५ सम्म पढाइ हुने स्कुल खोलेका छन् । आफ्नो स्कुल नाफामूखी नभएर सेवामूखी भएको उनले बताए । आफूलाई टिकाउन भने उनले बंगुर पालन गरेका छन् ।

‘स्कुल मेरो एकेडिमक काम हो, म आफू पढ्नका लागि काठमाडौं जुन वातावरणबाट गएँ, त्योभन्दा धेरै राम्रो वातावरणबाट अबका बालबालिकाहरु जाउन् भन्नका लागि मैले स्कुल खोलेको हो’ काफ्लेले भने- ‘आर्थिकरुपमा  मकहाँबाट टिक्ने भन्दा बंगुरको बिजनेश सुरु गरेँ । यसलाई ब्यालेन्स गर्न सकेँ भने म टिक्छु ।’

सुरुमा संयुक्तरुपमा सुरु गरेको भए पनि बंगुर फर्मलाई उनले अहिले एक्लै चलाएका छन् । अहिले आफ्नो फर्ममा ४० वटा बंगुर रहेको उनले सुनाए ।

लोकतान्त्रिक आन्दोलनका कवि काफ्लेेले गाउँ फर्किएर बंगुर पालन सुरु गरेपछि स्थानीय युवाहरुले पनि उनलाई पछ्याएका छन् । आसपासमा झण्डै १४/१५ बटा बंगुर र्फम खुलेका छन् ।

उसो त सुरुमा उनी गाउँ फर्कँदा काठमाडौं गएको मान्छेे, केही गर्न नसकेर फर्कियो भन्ने पनि नभएका होइनन् । विद्यालय खोलेपछि पनि अभिभावकहरुलाई बुझाउन सजिलो थिएन । तर, ९ महिनाको अनुभवले अब दुबै कामलाई एकसाथ अघि बढाउन सकिन्छ भन्ने आत्मविश्वास मणिमा पलाएको छ ।

अब गाउँ नै बस्ने हो ? अनलाइनखबरको प्रश्नमा उनले भने- हामीजस्तो यायावरको जीवन सेटल नै भन्ने त हुँदोरहेछ, आवश्यकताले कता डोर्‍याएर लैजान्छ, त्यतै जाने हो ।’

तर, लगत्तै उनले आफू ८/१० वर्षको योजनासहित गाउँ गएको सुनाए । स्कुललाई राम्रो एउटा एकेडेमिक सेन्टर बनाएर गाउँकै भाइहरुलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ । त्यो ८/१० वर्ष कृषिको काम पनि सँगसँगै लैजाने उनले बताए ।

गाउँबाट लोकतान्त्रिक आन्दोलनको सम्झना

काफ्लेको मानसपटलमा  यतिबेला ९ वर्षअघि भएको लोकतान्त्रिक आन्दोलनमा कविता सुनाउँदै हिँडेको र आम मानिस सडकमा उर्लिएको एक एक दृश्यहरु ताजै छन् । झन प्रत्येक वर्ष जनअन्दोलनको वर्षगाँठ मनाउँदा त उनका आँखा अगाडि ती दृश्यहरु घुमिरहन्छन् ।

ती दिनलाई सम्झँदै उनले अनलाइनखबरसँग भने, ‘त्योबेला म विश्वविद्यालयको विद्यार्थी थिएँ । देशले उथलपुथलबाट निकास खोजिरहेको थियो । सामान्य डेन्टपेन्टको निकासले काम गर्ने वाला थिएन । उलटपुलट नै चाहिएको थियो । र, जे भयो त्यसमा हाम्रो पनि योगदान थियो ।’

युवाहरुको उल्लेख्य सहभागिता रहेको दोस्रो आन्दोलनले २४० वर्ष पुरानो राजतन्त्रामक व्यवस्था अन्त्य गर्‍यो । काफ्लेको विश्लेषणमा त्यो एकदमै युगीन आवश्यकता थियो र नेपालको राजनीतिक परिवर्तनका लागि कोशेढुंगा सावित भयो ।

सपना अधुरै रह्यो

तर, राजनीतिक व्यवस्था परिर्वतन भएपछि त्यो आन्दोलनको उद्देश्य भने अझै पूरा भएको छैन । राजनीतिक परिर्वतनपछि जुन गतिमा परिर्वतनको अनुभूति हुन्छ भन्ने थियो, त्यो नहुँदा आन्दोलन नै ओझेलमा परेको उनको बुझाइ छ । काफ्ले भन्छन् – हामीले आन्दोलनको अग्रपङ्तीमा रहँदा जे सपना देखेका थियौं, त्यो केही पूरा भएन ।’

के थियो त सपना भन्ने प्रश्नमा उनको जवाफ छ – एउटा समुन्नत समाजका लागि आवश्यक पर्ने ‘कम्पोनेन्ट’ हरु राजनीतिक नेतृत्वले तयार गर्छन् भन्ने लाग्थ्यो । हामीलाई चाहिने आधार तयार भएपछि समाजलाई रुपान्तरण गरेर जान सक्छौं ।’

तर, व्यवस्था परिर्वतन भएपछि राजनीतिक नेतृत्व सत्ताको खेलमा लागे, जसलाई काफ्ले असाध्यै अपरिपक्व खेल भन्छन् । ‘त्यसले राजनीतिक परिवर्तनको व्यवस्थापन भएन । भ्रष्टाचार बढेर गयो । मानिसहरुमा रातारात धनी बन्ने महत्वाकाक्षा बढ्यो । अपराध नियन्त्रण नभएपछि हाम्रो समाज थोरै अपराधीकरण भएर गयो । र, राजनीतिले नयाँ बाटो देखाउन नसकेपछि विस्तारै समाज ध्वंसतिर गयो ।’

काफ्लेको थप विश्लेषण छ, ‘नेताहरु आफैं कन्फ्यूज्ड भए । के हो प्राथमिकता भन्ने निर्धारण नै गर्न सकेनन् । आन्दोलन गर्ने, त्याग पनि गर्ने, बलिदान पनि गर्ने तर, त्यसलाई सटेलमेन्ट गर्न समाजका सबै अंगहरुलाई परिचालन गरेर त्यो आन्दोलनलाई बचाइ राख्न र अगाडि लैजान हाम्रो राजनीतिक नेतृत्व चुक्यो । केही सुधार भएन ।

अब यतिकै गएर क्रमिक सुधार हुन्छ भन्ने आधार पनि काफ्लेले देखेका छैनन् । समाजमा अहिले पनि द्वन्द्व कायमै छ । सामाजिक अन्तरविरोधहरु हल भएका छैनन् । यही बीचमा आन्दोलन गर्ने गलत शक्तिहरु पनि राइज भएर आउन सक्छन् ।

अब ‘सेन्टिमेन्टल पोलिटिक्स’ पनि हुन सक्छ । अथवा कुनै एउटा शक्तिले अगाडि आएर सबै कुराको सेटलमेन्ट गरेर अगाडि लिएर जान पनि सक्छ । दुबै सम्भावना छ ।

काफ्ले अगाडि भन्छन्- तर, सेटलमेन्ट भएर देशलाई छिट्टै नयाँ ठाउँमा लिएर जाने सम्भावनाभन्दा अझै समाज विध्वंश हुने सम्भावना ज्यादा देखिन्छ ।’

नेपाली समाज कहाँ छ ?

काफ्लेले यो राजनीतिको अर्थ छैन भन्ने निश्कर्ष निकाल्नुका पछाडि थुप्रै कारणहरु छन् । ‘समाज एकातिर छ अनि पोलिटब्यूरोमा बसेर नेपाली समाज यहाँनेर पुगेको छ भनेपछि हामीले मान्नुपर्ने ? जबकि अवस्था त्यस्तो हुँदैन’ उनले भने- समाजले म यहाँ छु, आइज, मलाई ब्याख्या गर भन्नुपर्‍यो नि राजनीतिज्ञलाई ।’

नेपाली समाजलाई कसैले पूँजीवादी भनेका छन्, कसैले सामन्ती त कसैले  अर्ध सामन्ती भनेका छन् । लोकतान्त्रिक आन्दोलनका कवि मणि काफ्लेको प्रश्न छ- यो टर्मिनोलोजीको लडाइँ किन ?

उसोभए हाम्रो समाजको वास्तविकता के हो त भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने- हामी आर्थिकरुपमा बैंकक्रप्ट भइसक्यौं । हामीसँग केही छैन । रेमिट्यान्सले देश धानेको छ । दिनानुदिन १५ सय/दुई हजार युवा बाहिर जान्छन् । ४/५ वटा लास दैनिक आउँछन् । अनि नेताहरु रेमिट्यान्सको पैसामा भाषण गरेर हिँडेका छन् ।’

जाजरकोटमा मान्छे मरिरहेका छन्, अनि यो समाज पूँजीवादी हो कि सामन्तवादी हो भनेर व्याख्या गरेर बसेर हुन्छ ? काफ्लेको सुझाव छ, नेपाली युवालाई उत्पादनमा जोडेर सक्षम बनाएपछि पुँजीवादी कि समान्तवादी हो भनेर झगडा गरौंला ।

कांग्रेस र कम्युनिष्टलाई प्रश्न

लोकतन्त्र भने पनि, गणतन्त्र भने पनि, जनतन्त्र भने पनि र समाजवाद भने पनि यो सबै केवल भाषण गरेर जनतालाई भन्नका लागि रहेछन् भन्ने मणिको निष्कर्ष छ । उनी भन्छन्, वीपीको समाजवाद भनेको छ, त्यो लागू गर्ने कहाँ हो ? कांग्रेसले भन्नुपर्‍यो । स्वर्गमा त होइन होला, अर्को कुनै ग्रहमा होइन होला । यही नेपाल भन्ने भूमिमै हो भने सुरुवात गर्नुपर्‍यो नि ।

कम्युनिष्टहरु ६२ प्रतिशत जनता वामपन्थी छन् भन्छन् । कहाँ लागू गरेको छ जनवाद ? पार्टीबाटै सुरु गर्नुपर्ने होला । तर, पार्टीभित्र सामन्ती तरिका छ, नोकरशाही पद्दति छ ।

गणतन्त्र शब्दको खेल भयो

दोस्रो जनआन्दोलनको सफलतापछि नेपालमा गणतन्त्र आयो भनिएको छ । तर, काफ्लेको प्रश्न छ-के हो त गणतन्त्र भनेको ? किसानलाई कसरी आइपुग्छ ? मजदुरलाई कसरी आइपुग्छ ? महिला, विद्यार्थी, दलितलाई कसरी आइपुग्छ ? केही छैन । ३० वर्ष पुरानो पाठ्यक्रम छ, विद्यार्थीलाई आउँदै आएन । किसानलाई नयाँ बिउ मल आएन । महिलाहरु अहिले पनि बोक्सीको नाममा मारिएका छन् ।

त्यो गणतन्त्र भन्ने चिज के हो क्या ? कसैले नबुझिने चिज त होइन होला । गणतन्त्र त देखिने, छोइने चिज भएर आउनुपर्‍यो नि जनतासम्म । त्यो गीत भएर आउँछ कि ? समाचार भएर आउँछ कि ? बिउ भएर आउँछ कि ? मल भएर आउँछ ? गणतन्त्र शब्दमा, पेपरमा, टीभीको समाचारमा आएर त केही भएन ।

कुराकानीको अन्त्यमा लोकतान्त्रिक आन्दोलनका चर्चित युवा कवि काफ्लेले आफ्नो निष्कर्ष सुनाए- गणतन्त्र कसरी आउने भन्ने हाम्रा नेताहरुलाई नै थाहा रहेनछ । आयो है, गणतन्त्र भनेको छ, केवल शब्दको खेल भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment