१७ बैशाख, कालीवन (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको पोखरे गाविसको सवै घर भूकम्पले भत्किएर ध्वस्त भएको छ । पोखरे गाविसको ८ सय ५१ घर सवै भत्किएर पूर्ण रुपमा ध्वस्त भएको हो ।
मेलम्ची र चौताराकोबीचमा पर्ने पोखरे गाविसमा शनिवार गएको विनाशकारी भूकम्पमा परी उक्त गाविसका ५३ जनाको मृत्यु भएको छ भने सैंयौं घाइते भएका छन् ।
चौताराबाट झण्डै चार किलोमिटर टाढाको यो गाविसमा अहिलेसम्म राहत लिएर सरकार तथा राजनीतिक दलका प्रतिनिधिहरु कोही पनि नपुगेको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।
भूकम्पले जिल्लाको ७९ गाविसमा नै क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको लिस्दी, तातोपानी, मार्मिङ लगायतका गाविसमा बढी क्षति पुर्याएको छ ।
सहारा स्कुलले बाड्यो पहिलो पटक राहत
काठमाडौको शंखमुलस्थित सहारा नेशनल स्कुलले पहिलो पटक उक्त गाविसमा राहत सामग्री वितरण गरेको छ । बुधवार उक्त स्कुलबाट केही राहत सामग्री बोकेर पोखरे गाविसको कालिबन पुगेका थिए । स्कुलले आफ्नै कोषबाट उक्त ठाउँमा पहिलो पटक राहत पुर्याएको जनाएको छ ।
उक्त स्कुलले ५० सेट ट्रयाकसुट, २० जोर आउट कपडा, ७ बोरा चिउरा, ५ बोरा चामल, २० केजी दालमोट र पाँच हजार बराबरको औषधी कालीवनमा पीडितहरुलाई वितरण गरेको विद्यालयका कार्यकारी प्रमुख देवेन्द्र भट्टराईले बताए ।
प्रतिक्रिया 4