Comments Add Comment

यसरी ओरालो लाग्यो दिलिपको चम्किलो करिअर

dilip-rayamaji
अमेरिकामा रहेकी नायिका ऋचा घिमिरेले फेसबुकबाट सोमबार एउटा तस्बिर पोस्ट गरिन्, जसले नेपाली चलचित्र उद्योगलाई टाढाबाट गिज्याइरहेको भान हुन्छ । ऋचासहित नेपाली चलचित्र त्यागेर अमेरिका पुगेका कलाकारहरु तस्विरमा मुस्कुराई रहेका छन्, जसमा नवप्रवेशी हुन् दिलिप रायमाझी ।

एक समयका बहुचर्चित नायक दिलिप अन्ततः ‘भविष्य खोज्दै’ सपरिवार अमेरिका भासिए । कुनै बेलाका लोकपि्रय नायक सरोज खनाल १७ वर्षे अमेरिकी बसाईलाई पूर्ण बिराम लगाएर नेपाल फर्किएको एक महिनामै दिलिप त्यसतर्फ उडेका थिए । विगतमा नम्बर एक नायकको ट्याग भिरिसकेका दिलिप कसरी ओरालो लाग्दै पलायनको अवस्थामा आइपुगे । यहाँ उनको उतारचढावयुक्त करिअरको लेखाजोखा गर्ने प्रयत्न गरिएको छ ।

ग्रुप डान्सरबाट सुरु भएको यात्रा
दिलिप हाँकाहाँकी भन्ने गर्थे-‘म स्कुलको राम्रो विद्यार्थी हुन सकिन ।’ उनी पढाईमा जती अल्छी भए पनि नाच्नमा असाध्यै जाँगरिला थिए । जुनसुकै स्टेपमा पनि उनी डान्स गर्न माहिर मानिन्थे ।

एसएलसी दिएलगत्तै दिलिप पुतलीसडकमा रहेको इन्टरनेसनल डान्स सेन्टरमा भर्ना भए । त्यही उनको भेट भयो शुशिल क्षेत्री र सुब्रत आचार्यसँग । केही समय उनीहरुको दोस्ती खुब जम्यो । ‘अधकट्टी’का निर्देशक सुब्रत आचार्य भन्छन्,-‘हामी तीनै जना हिरो बन्नकै लागि डान्स सिक्न गएका थियाैं ।’

युवराज लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘खेलौना’ मा दिलिप, सुसिल र सुब्रत तीनै जनाले ग्रुपडान्स गरेका छन् । त्यसपछि सुब्रत टेलिभिजन कार्यक्रमतिर लागे भने सुसिल र दिलिप चलचित्रकै वरिपरि घुम्न थाले ।

यादब खरेलले निर्माण गरेको ‘आदीकवी भानुभक्त’मा शिर्ष भूमिका पाए दिलिपले । उनको ‘हरिबंशको भन्दा पनि खतरा अभिनय गर्छ रे, मिथुनको भन्दा खतरा डान्स गर्छ रे’ भन्दै चर्चा हुन थाल्यो ।

‘दर्पणछायाँ’ पछि सुपरस्टार
यादब खेरल निर्देशित ‘आदीकबी भानुभक्त’ बिकाउ चलचित्र थिएन । चलचित्र फ्लप भयो, तर आश्चर्यजनक रुपमा दिलिप हिट भए । लगत्तै निर्देशक उज्वल घिमिरेले करिष्मा मानन्धरको नायक बनाएर चलचित्र ‘जिन्दगी’मा दिलिपलाई अभिनय गराए । उमेरले दश वर्ष कान्छा दिलिपको करिष्मासँग अनस्त्रिmन प्रेम राम्रै बिक्यो । यही चलचित्रले दिलिपलाई रोमान्टिक नायककको इमेजमा स्थापित गरायो ।

दिलिपलाई शिखरमा पुर्‍याउने चलचित्र थियो, ‘दर्पणछायाँ’ । तन्नेरी केटाकेटीको कथामा तुलसी घिमिरेले बनाएको ‘दर्पणछायाँ’ले नेपाली चलचित्रका थुप्रै रेकर्डहरु ब्रेक गर्‍यो । दिलिप स्टारबाट सुपरस्टार बने । उनको भाउ पनि आकाशियो । निर्माताहरु दुई-तीन वर्षपछिका लागि समेत एग्रीमेन्ट गर्न समेत तयार भए ।

राजेश हमालले दुई लाख पारिश्रमिक लिएर काम गरिरहेका बेला दिलिपलाई तीन लाख पचास हजारसम्म दिए निर्माताले । एउटै म्युजिक भिडियोमा काम गरेको उनले ६० हजारसम्म लिन्थे ।

२४ घण्टाको दिनमा १५ घन्टा भन्दा बढी काम । यस्तो चटारो थियो एक समय दिलिपलाई । दिनभरि सुटिङ गर्थे, रातभरी डबिङ । खाना खानसमेत फुर्सद नहुने दिन थिए ती । एउटा चलचित्रको मेकअप गरेर अर्कैको सुटिङ गर्न गएका घटना त दिनहुँजस्तो हुन्थे ।

‘दर्पणछाँया’ रिलिज भएपछिको पाँच वर्ष दिलिपले राज गरे । यो अबधिमा ४० भन्दा बढी चलचित्रमा काम गरे उनले । हरेक चलचित्रको व्यापारिक सफलतामा दिलिपको नाम जोड्ने चलन थियो ।

यसरी ओरालो लागे
हरेक चलचित्रमा लगभग उस्तै भूमिकाको अफर आउँथे दिलिपलाई । लगभग रामायण शैलीको चलचित्र । राम, सिता र रावणका कथा । दिलिपले रामको भूमिका पाउँथे भने सीताको भुमिकामा निरुता वा विपना । एकैसाथ धेरैवटा चलचित्र भ्याउनुपर्ने दिलिपले अभिनयमा पनि विविधता ल्याउन सकेनन् । दर्शक विस्तारै विरक्तिन थाले ।

दिलिप अभिनित दर्जनौं चलचित्र लगातार असफल भएपछि उनको करिअर ह्वात्तै ओरालो लाग्यो । बिस्तारै उनको हात खालि हुदै गयो । बिराज भट्ट, निखिल उप्रेतिको प्रवेशपछि उनको स्थान खोसियो ।

कहाँ चुके ?
हात खाली हुँदै गएपछि दिलिपले आफूलाई चलचित्र उद्योगमा टिकाउनकै लागि पनि जस्तोसुकै भूमिकामा खेल्न थाले । चलचित्र निर्माणको आधारभूत ज्ञान नै नभएका निर्माताले ल्याएको प्रस्ताव पनि नाइनास्ती नगरी स्वीकार्न थाले । दिलिपले कहिल्यै चलचित्र खेल्नुअघि स्त्रिmप्ट पढ्ने लेठो गरेनन् । न त सहकर्मी कलाकारको चयनमै ध्यान दिए । अभिनय र भूमिकामा विविधता दिनेभन्दा रोमान्टिक इमेजमै रमाइरहे । यिनै कमजोरीहरुका कारण दिलिपको करिअरले फेरि गति लिन सकेन ।

अब के गर्छन् ?
करिअरले गती लिन नसकेकाले नै दिलिप विकल्पको खोजीमा थिए । अन्ततः उनले विदेश पलायनलाई नै रोजे, जुन बाटोमा उनीभन्दा अघि धेरै कलाकारहरु हिँडिसकेका छन् ।

अमेरिकामा नेपाली कलाकारको ठूलो हुलमा मिसिएका छन् दिलिप । उनको हातमा गि्रनकार्ड छ तर, अब अरुले जस्तै उनले शून्यबाट सुरु गर्नुपर्ने छ । परिवारलाई अमेरिकामा सेटल गरेर आफू नेपाल आउने कुरा पनि गरेका थिए, उनले साथीभाइसँग ।

दिलिपलाई सुपरस्टार बनाउने चलचित्र दर्पणछायाँको सिक्वेल बनाउने चर्चा चलिरहेको छ । सिक्वेलमा दिलिप र उत्तम प्रधानको जोडिले नै अभिनय गर्ने समाचार पनि आएको छ । तर, पुरानो दर्पणछायाँले स्थापित गरेका दिलिपलाई यसको सिक्वेलले पुनस्थापित गर्ने सम्भावना भने अहिले नै अड्कल लगाउन मुश्किल पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment