Comments Add Comment

आन्दोलनमा सिके राउतदेखि वैद्य विप्लव समेत घुसे

बैजनाथ थारु चौधरी एमालेका प्रभावशाली थारु नेता हुन् । नवलपरासीबाट प्रत्यक्ष चुनाव जितेका चौधरी एमालेको आधारक्षेत्र मानिने लुम्बिनी अन्चलको इन्चार्ज समेत छन् । अहिले थारु कल्याणकारी सभाको नेतृत्वमा सबै दलका थारु सभासद र थारु समुदाय आन्दोलनमा रहेका बेला एमालेका थारु भने आन्दोलनमा छैनन् ।

चौधरीका अनुसार, यो आन्दोलनमा सिके राउत, वैद्य र विप्लब र राजेन्द्र महतो सबैको गठबन्धन भएकाले एमालेका थारु बाहिर बसेका हुन् । त्यसो भए थारुको माग सम्बोधन गर्ने माध्यमार्गी बाटो के हो त ? चौधरी भन्छन्-‘दाङदेखि कन्चनपूरसम्मको भूभागलाई एकै प्रदेशमा राखेर समाधान खोज्न सकिन्छ ।’

प्रस्तुत छ, एमाले सभासद चौधरीसँग अनलाइनबरका लागि मात्रिका पौडेलले गरेको कुराकानीका सम्पादित अंशः

Bijayanath Chaudhari_2

थारु आन्दोलनका क्रममा टीकापु्रमा जुन विभत्स हत्याकाण्ड भयो, त्यो नियोजित थियो वा थारुको अधिकार खोसिएकोमा प्रतिक्रियात्मक आवेग थियो ?

– घटनाको सबै प्रकृति हेर्दा टीकापुर घटना सुनियोजित थियो । स्थानीय प्रशासनसँग थरुहट र अखण्ड दुवै आन्दोलनकारी बसेर शान्तिपूर्ण आन्दोलन गर्ने, कुनै हालतको हिंसा नगर्ने सहमति भएको थियो त्यहि विहान । त्यसको लगत्तै जुन खालको मान्छे उपस्थित गराइयो र धोखापूर्ण ढंगले सुरक्षाकर्मीको हत्या भयो, यो निकै गम्भीर विषय हो । यसको छानविन गर्न सरकारले समिति बनाइसकेकाले त्यसको रिपोर्ट आउला नै, अहिले म यति चाहिँ दावीका साथ भन्छु कि, यो घटना वा आन्दोलन थारुका माग पूरा गराउने ढंगले भन्दा पनि अहिलेसम्म पाइएका उपलव्धी पनि गुम्ने ढंगले भएको छ ।

तर, थरुहट थारुवान संयुक्त आन्दोलन परिचालन समितिका संयोजक धनिराम चौधरी लगायतका नेताले त यसको जिम्मा हामी लिदैनौं भनिसके नि ?

यो त झनै गैरजिम्मेवारपूर्ण कुरा भयो । जिम्मा त आन्दोलनको नेतृत्व गर्नेहरुले लिनैपर्छ । यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर कसैले छुट पाउदैन । मैले पनि धेरै ठूला ठूला आन्दोलनका नेतृत्व गरेको छु । आन्दोलन गर्ने भएपछि त्यसमा कस्ता मान्छे आउछन्, कसरी घुसपैठ रोक्ने भन्ने बेलैमा सोच्नुपर्छ । अहिले आएर घुसपैठियाले गरे भन्दैमा कसैले छुट पाउदैन र पाउनु पनि हुदैन । नत्र त दण्डहीनता बढेर जान्छ ।

थारुको माग पूरा गराउन आन्दोलन भइरहेको छ, तर यो आन्दोलन परिचालन समितिमा एमालेका थारु सभासद र नेताहरु त देखिदैनन् किन हो ?

– हामी नेकपा एमालेमा रहेका थारु सभासद र थारु नेता कार्यकर्ताहरु यो आन्दोलनमा छैनौं । थारुको माग पूरा हुनुपर्छ, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको अधिकार संविधानमा स्पष्ट लेखिनुपर्छ भनेर हामी लागेका छौं ।

तर, यो आन्दोलनमा जुन गठबन्धन बनेको छ, यसप्रति हामी सशंकित भयौं । यसमा मोहन वैद्यदेखि सिके राउतसम्मको संलग्नता छ । उपेन्द्र यादव राजेन्द्र महतोदेखि विप्लबसम्मको सहभागिता रहेपछि हामी यसमा नबसेका हौं । थारु कल्याणकारी सभा जस्तो सामुदायिक संगठनका अध्यक्ष धनिराम चौधरीले यस्तो आन्दोलनमा घुसपैठ त खुलेआम गराइसके ।

अनि थरुहट थारुवान प्रदेश स्थापना त तपाईहरुको पनि माग होइन र ?

झापादेखि कञ्चननपूरसम्म थरुहट राज्य हुनुपर्छ भन्ने मागमा हामी सहमत हुन सकेनौं । दोस्रो कुरा यो आन्दोलनको माग र नारा अझै प्रष्ट भएको छैन । सबैखालका मान्छेहरु मिसिएका छन् । थारु समुदाय नेपालका आदिवासी जनजाति समुदायमध्येको सबैभन्दा ठूलो र पीडित समुदाय हो । हामीले हाम्रो प्रतिनिधित्व र राजनीतिक अधिकारको लागि लड्नुपर्नेमा केही साथी मधेशवादीको मागमा गए । त्यहिँनेर समस्या भयो ।

तर, आन्दोलनकारीले त झापादेखि नवलपरासी र नवलपरासीदेखि कन्चनपूरको दुई प्रदेश भनेका छन् होइन र ?

दाङदेखि कन्चनपूरसम्मको भूभागलाई एकै प्रदेशमा राख्नुपर्छ । त्यसो भयो भने थारु आन्दोलनका अधिकांश माग पूरा हुन्छ । त्यसो भए उनीहरूको भाषा, भेष, संस्कृति मिल्छ । उनीहरुबीच बेटी रोटीको सम्बन्ध छ

– धनिराम चौधरी र राजकुमार लेखीले प्रष्ट भनेका छन्, समग्र तराई थरुहट प्रदेश भनेर । नवलपूरदेखि कञ्चनपूरसम्मको भूभागलाई एउटा प्रदेश बनाउने कि भन्ने कुरा चाहिँ शुरुमा एमालेले चुनावका बेलामा अघि सारेको थियो । उहाँहरु त पहाडको एक ढिस्को पनि मिसाउन हुँदैन भन्न थाल्नुभएको छ । यो त थारुको माग होइन, अन्तैबाट आयो यो माग । हामीलाई त पहाड चाहिन्छ । साधन स्रोत र सामर्थ्यको हिसाबले पहाडका प्युठान, रोल्पा र बाग्लुङ चाहिन्छ भनेरै हामी ५ नम्बर प्रदेशमा बसेका हौं । पहाड र तराई मिलाएरै प्रदेश बनाउनुपर्छ । अहिले २ नम्बर प्रदेशले पहाड माग्न थालिसक्यो ।

तपाई थारु समुदायको नेता समेत भएकाले भन्नुस् कि, आन्दोलनमा उठिसकेका थारुलाई बसाउने उपाय चाहिँ के हो त ?

पहिलो कुरा त आफ्नो माग राख्दा हिंसा होइन शान्ति अपनाउनुपर्छ । सुरक्षाकर्मीलाई जलाएर मार्ने, २ वर्षको बच्चालाई गोली ठोकेर मार्ने कुराले थारु समुदायमाथि इतिहासमै नभएको कलंक लागिसकेको छ । तर यो बेलामा सुरक्षाकर्मी थप संयमित हुन जरुरी छ । मैले कैलालीका फोरम लोकतान्त्रिकका सभासद जनक चौधरीसँग अघि कुरा गरेको थिएँ । कर्फ्यू लागेका बेला उहाँको घरमा आगजनी भएको छ रे । यदि त्यसो हो भने सेनामाथि प्रश्न उठ्छ । त्यहाँ थारु समुदायका घर पसल जलाउने र थारुमाथि अत्याचार गर्ने काम भएको पनि सुनिएको छ ।

यो त समस्या समाधान भन्दा पनि समस्या बल्झाउने कुरा भो । मैले नेताहरुलाई पनि भनेको छु, यो समस्याको समाधान फौजी ढंगले होइन वार्ताबाटै खोजिनुपर्छ । तर, हत्यामा संलग्न अपराधीलाई कानुनी कारवाहीको दायरमा ल्याउनुपर्छ ।

थारु आन्दोलनलाई समाधान गर्न र थारुका माग पूरा गर्नका लागि मध्यमार्गी बाटो के हुन सक्छ ?

म थारु समुदायको समेत नेता हुनुको नाताले र एउटा जिम्मेवार राजनीतिक पार्टीको नेता हुनुको नाताले के मात्र भन्छु भने-कुनै न कुनै हिसाबले थारुको माग सम्बोधन हुनैपर्छ । यसमा सरकार र आन्दोलनकारी दुवैले लचिलो बन्नुपर्‍यो । हामीले पनि झापादेखि कञ्चनपूर वा नवलपरासीदेखि कन्चनपूर चाहिन्छ भनेर हुँदैन ।

यसको मध्यमार्गी समाधान भनेको दाङदेखि कन्चनपूरसम्मको भूभागलाई एकै प्रदेशमा राख्ने हुनसक्छ । यो मेरो व्यक्तिगत बिचार हो । त्यसो भयो भने थारु आन्दोलनका अधिकांश माग पूरा हुन्छ । दाङदेखि कञ्चनपूरसम्मका थारुको भाषा, भेष, संस्कृति मिल्छ । उनीहरुबीच बेटी रोटीको सम्बन्ध छ । अब त्यसमा पहाड के गर्ने ? त्यो मेरो विषय होइन । विज्ञहरुले टुंगो लगाउनुपर्छ । सेती महाकालीका पहाड पूरै मिसाएर दाङसम्मको प्रदेश बनाए पनि भो ।

अनि नवलपरासीदेखि कञ्चनपूरको माग त कसरी पूरा हुन्छ ?

त्यो माग नै उचित भएन । नवलपरासीको दाउन्ने तल र दाउन्ने माथिका थारुको भाषा मिल्दैन । मेरी बहिनीको विहे नवलपूरमा भएको छ । उनले घरमा सासु ससुरासँग थारु भाषामा होइन,। नेपाली भाषामा कुरा गर्नुपर्छ । दाउन्ने तलदेखि कपिलवस्तुसम्मका थारुको एउटा संस्कृति छ । यहाँ त थारु भनेपछि सबै एकै हो भन्ने बुझेका छन् । थारुको क्लस्टर नबुझ्दा समस्या आएको हो ।

यदि खारा लाउने चेतावनी दिएको हो भने त्यो ठूलो दुर्भाग्य हो । जनतालाई माग र एजेण्डा बुझाएर आन्दोलनमा ल्याउनुपर्छ । कुरै नबुझी खाराको डर देखाएर आन्दोलनमा ल्याउँदा समस्या हुन्छ

दाङदेखि कञ्चनपूरको क्लस्टर नुछुट्याएको भए यस्तो आक्रोश नआउन सक्थ्यो । तर, केही नेताको अहंकारले गर्दा यो अवस्था आएको हो । आज केही नेता जसको म नाम लिन चाहान्न, सबैले चिनिसकेका छन्, तीनको पावरले कैलाली कञ्चनपूरलाई अलग गरे पनि भोलि दुई चार वर्षमा दाङदेखि कञ्चनपूर एक ठाउँमा पुग्नेछन् ।

सीमांकनकै कारण यति ठूलो लफडा भयो, अब थारुको माग सम्बोधन नगरी त अघि बढ्ने अवस्था रहेन होइन ?

मैले त हिजो संसदीय दलको बैठकमा पनि भनेँ, हामी १६ बुँदे सहमतिबाट बाहिर जानुनै गल्ती भयो । सीमांकनका लागि विज्ञहरुको आयोग बनाउने कुरा नै ठिक थियो ।

यहाँ त नेता प्राबिधिक र प्राज्ञिक बन्न खोज्दा सीमांकन कुरुप भयो । हरेक नेताले आफ्नो भेग हेर्न थालेपछि जनताको आकांक्षा सम्बोधन भएन । अझै पनि मिल्छ भने सीमांकनको जिम्मा आयोगलाई दिउँ भन्ने मेरो कुरा हो । तर, कुनै पनि कारणले संविधान जारी गर्ने कुराबाट भने पछि हट्न हुँदैन ।

हजारौंको संख्यामा थारु जनता आन्दोलनमा आएका छन्, यो त्यतिकै समाधान हुन्छ र ?

मैले भनिसकेँ,यसको राजनीतिक समाधान खोज्नुपर्छ । जहाँसम्म थारु हजारौंको संख्यामा आएको करा छ, यसमा दुई पाटो छ । एउटा त ३०/४० वर्षदेखि पहाडबाट बसाई सरेर आएका केही फटाहरुले थारुसँग मित लाएर उनीहरुकै सम्पत्ति हडपेका छन् । सबै पहाडिया त्यस्ता छैनन्, तर केही फटाहा छन् । उनीहरुको ज्यादतिका कारण पनि थारुमा एक खालको आक्रोश उत्पन्न हुन्छ र उनीहरु नबुझेरै पहाडीया विरुद्धको आन्दोलन भनेर आएका छन् । दोस्रो चाहिँ थारुको आफ्नै बढघर प्रथा छ, जसका कारण उनीहरु आन्दोलनमा आउन बाध्य पारिएका छन् ।

त्यो बाध्य पारिने बढघर प्रथा भनेको चाहिँ के हो, हाम्रा पाठकलाई प्रष्ट पारिदिनुस न ?

बढघर प्रथा थारु समुदायमा यथावत छ । थारु बस्तीमा भलमन्साले भनेपछि सबैले आदेश मान्नुपर्छ । भलमन्सा भनेको त्यो ठाउँको नाइके हो । म सुन्दैछु, भलमन्साले एक घर एक व्यक्ति आन्दोलनमा सहभागी नभएमा खारा लाउने चेतावनी दिएपछि बाध्य भएर मान्छेहरु सडकमा गए । खारा लाउने भनेको जरिवाना तिराउने भनेको हो ।

खाराको डरले गएकाहरु धेरै छन् भन्ने सुन्छु । यदि खारा लाउने चेतावनी दिएको हो भने त्यो ठूलो दुर्भाग्य हो । जनतालाई माग र एजेण्डा बुझाएर आन्दोलनमा ल्याउनुपर्छ । कुरै नबुझी खाराको डर देखाएर आन्दोलनमा ल्याउँदा समस्या हुन्छ । हिजो पर्वतेले ठग्यो भनेर आन्दोलनमा आएका थारुलाई आफ्नै भलमन्साले ठग्नु दुर्भाग्यो हो ।

तपाईको कुराले थारु समुदाय त तपाईसँग रुष्ट होलान् होइन ?

थारु समुदाय रुष्ट छैन । तर, मलाई भोट नदिने र एमाले इतरका थारुहरु रुष्ट छन् । मलाई भोट दिने थारु त मेरै पक्षमा छन् । अस्ति थरुहट आन्दोलनकारीले मेरो घरमा आक्रमण गरे । तर, त्यहाँ सबै थारु त थिएनन् नि । म नवलपरासीको क्षेत्र नम्बर ४ बाट जितेको छु । त्यहाँका सबै थारुले मलाई भोट दिएका त होइनन् । पहाडेले पनि भोट दिए, मधेसीले पनि दिएका छन् । अझ भन्ने हो भने मलाई सबैभन्दा धेरै भोट त पहाडेबाटै आयो । केही थारु मसँग रिसाउछन् भने मलाई पर्वाह छैन । म सामाजिक सद्भाव बिथोल्ने र एउटा समुदायविरुद्ध अर्को समुदाय भड्काउने कुराको बिरोधी हुँ ।

राजेन्द्र महतो, उपेन्द्र यादवहरु गएर टीकापुरमा थारुलाई भड्काएकै हुन् त ?

कुनै पनि नेताले जनतालाई अर्को समुदायको मान्छेलाई काट, लखेट, हतियार उठाऊ भन्छ भने त्यो गैरजिम्मेवार र भड्काउपूर्ण कुरा हो । यस्तो भाषण गर्नेलाई राज्यले कारवाही गर्नुपर्छ । राज्यले तुरुन्त नियन्त्रण गर्नुपर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment