Comments Add Comment

जिम्मेवारी पूरा गरेर सेना ब्यारेकमा फर्किन्छ : जंगी अड्डा

२९ भदौ, काठमाडौं । दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनको सहयोगका निमित्त खटिएको जनाउँदै नेपाली सेनाले आफ्नो जिम्मेवारी पूरा हुनासाथ ब्यारेकमा फर्कने जनाएको छ ।

सेनापति राजेन्द्र क्षेत्री
सेनापति राजेन्द्र क्षेत्री

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जंगीअड्डाले भनेको छ- ‘स्थानीय प्रशासन ऐन २०२८ को परिधिभित्र रही आम नागरिकको जीउ धन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षाको साथै सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय एवम् पेशेवर ढंगले कार्य गर्न प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी पुरा हुनासाथ व्यारेक फर्कने ब्यहोरा समेत पुनः सम्बन्धित सवैलाई विश्वास दिलाउन चाहन्छ ।’

दंगाग्रस्त क्षेत्रमा खटिएको सेनालाई सेना परिचालन भएको भन्न नमिल्ने जंगी अड्डाले स्पष्ट पारेको छ ।

सेनाले भनेको छ- ‘यसलाई सेना परिचालन भएको भन्ने अर्थमा नलिई स्थानीय प्रशासनलाई सहयोग गर्ने कार्यको लागि आफ्नो जिम्मेवारी निर्वाह गर्न नेपाली सेना खटिएको बुुझिदिन नेपाली सेना सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ ।’

फिल्डमा खटिएको सेनाले व्यवसायिता अपनाई सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय एवम् पेशेवर ढंगले कार्य गरिरहेको जंगी अड्डाको भनाइ छ ।

भारतीय राजदूतको भेटबारे स्पष्टीकरण

साथै प्रधानसेनापतिले भारतीय राजदूतसँग भएको भेटमा दुईपक्षीय हितबाहेक अन्य विषयमा कुनै कुरा नगरेको जंगी अड्डाले स्पष्ट पारेको छ ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘प्रधानसेनापति र भारतीय महामहिम राजदुत श्री रणजित रायबीच भएको भेटवार्ताका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा मात्र छलफल भएकोबारे प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सबैमा जानकारी गराइसकिएको र उक्त भेटवार्ताका क्रममा अन्य कुनै पनि बिषयमा छलफल नभएको व्यहोरा नेपाली सेना पुनः सम्वद्ध सबैमा जानकारी गराउन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment