Comments Add Comment

कोइरालाको निधनले कांग्रेसीहरुले दु:खी

Sushil-koirala

बसन्त रानाभाट

बार्सिलोना । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति युरोपका काँग्रेसीहरुले दु:ख व्यक्त गरेका छन् । कोइराला इमान्दार, शालिन र सरल नेता भएको बताउँदै देश र पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उनीहरुले दुख ब्यक्त गरेका हुन् ।

युरोप काँगेसका कार्यबाहक अध्यक्ष पूर्ण हमालले, आर्दश पुरुष र समाजबादी सोचका नेता कोईरालाको निधनबाट मुलुकले अभिभाबक गुमाएको बताए। अनलाइनखबरसँगको कुराकानीमा हमालले भने,” सभापतिले बिबाह पनि गर्नु भएँन,सारा जीवन राष्ट्रका लागि नै समर्पित गर्नुभयो, जनताले चाहेको संविधान ल्याएर नै छाड्नु भयो, व्यक्तिगत प्रलोभनमा नपर्ने उहाँजस्तो त्यागी नेता मुलूकले फेरि पाउँन मुश्किल छ। “

बाँचुन्जेल आलोचना गर्ने तर मरे पछि मात्र सम्मान गर्ने, नेपाली समाजको परम्परा रहेको धाराणा राख्दै, माओबादीलाई शान्ति प्रकियामा ल्याउँन र मूलत: मुलुकमा नयाँ संबिधान जारी गर्न कोईरालाको मुख्य भूमिका रहेको उनले बताए । १३ औ महाधिवेशनको संघारमा भएको कोइरालाको निधनले पार्टीले ठुलो नोक्सानी ब्यहोर्नु परेको हमालले स्पष्ट पारे ।

महाराजगञ्जस्थित निवासमै गत सोमबार राति १२ः५० आकस्मिक निधनको खबर युरोपको समय अनुसार साँझ भएकाले धेरैले तत्काल सामाजिक संजालमार्फत नै प्रतिक्रिया दिदै, श्रद्धान्जली ब्यक्त गरेका थिए ।

निधनको खबर प्राप्त गर्ने बित्तिकै बेल्जियम निबासी सीता सापकोटाले फेसबुकमा लेख्छिन्,” खै कहाँ बाट शुरु गरुँ ? केही शब्द लेख्न र बोल्न पनी असहज भयो,आखिर स्वीकार्नु को बिकल्प रहेनछ, अझै पनी मनले बिश्वास गर्न मानिरहेको छैन । प्रत्यक्ष नभेटेको दुई महिना भएको थियो भने पाँच दिन अगाडी मात्रै टेलिफोनमा कुराकानी भएको थियो, हजुरको स्वास्थ्य कस्तो छ सुशील दाई भन्दा अहिले त म एकदम तगडा छु भन्दै हुनुहुन्थ्यो । लग्यो चुँडेर दैवले, हामी लाई टुहुरो बनाएर जानु भयो शुशिल दा, दुःखद खबरले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ।”

यस्तै नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष डुम्रेले नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

अध्यक्ष डुम्रेले भनेका छन् ,”कोईरालाको निधनले पार्टी र देशलाई अपूर्णनिय क्षति भएको छ । देशले एक योद्धा र अभिभावक गुमाएको छ । शोकको घडीमा सम्पूर्ण कांगेसजनलाई धैर्य धारण गर्ने क्षमता मिलोस् ,पार्टी सभापति कोईरालाको आत्माले शान्ति पाओस् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”

यस्तै नेपाली जनसम्पर्क समिति डेनमार्कले बुधबार शोक तथा श्रद्धान्जली सभाको आयोजना गरेको छ । अध्यक्ष नबिन आचार्यले सूचना जारी गर्दै शोक सभाको आयोजना गरिएको जनाएका छन् ।

कोइराला एक सादा जीवन, उच्च विचार, ईमान्दार, देश प्रेमी, नेपाली लोकतन्त्रका सेनानी, एवं भर्खरै नयाँ निर्मित नेपालको संविधानका पिता भएको बताउँदै, असायामीक निधनबाट देशले असल नेता गुमाएको आचार्यले उल्लेख गरेका छन्।

बेलायत, जर्मनी, नेदरल्याण्ड, स्बिजरल्याण्ड, बेल्जियम, स्पेन, डेनमार्क, पोर्तुगल लगायत युरोपका बिभिन्न देशहरुमा रहेका जनसम्पर्क समितिहरु, काँग्रेस प्रति आस्थावान लगायत सर्ब साधारणहरुले पनि कोइरालाको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment