Comments Add Comment

कर छुटपछि विद्युतीय सवारीको मूल्य कति घट्यो ?

Mahindra Reva E2O (7)

१६ जेठ, काठमाडौं । नाकाबन्दीका क्रममा धेरैले विद्युतीय गाडी र स्कुटरलाई सम्झिए । तर, मूल्यका कारण किन्ने आँट गर्न सकेनन् ।

यतिबेला ओली सरकारले विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरी करमा छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्दै अन्तःशुल्क पुरै मिनाहा गर्ने र कर एक प्रतिशतमा झार्ने घोषणा गरे ।

बजेट भाषणपछि अब धेरैको चासो छ कि सरकारले दिएको यो छुटपछि विद्युतीय सवारीको कति मूल्य घट्यो त ?

नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठ निजी प्रयोजनका चारपांग्रेको २० र दुई पांग्रेको ५ प्रतिशतसम्म मूल्य घट्ने बताउँछन् । तर, कुन ब्राण्डको कुन सवारीमा कति मूल्य घट्यो भन्न गाह्रो छ ।

बजारमा सबैभन्दा बढी विक्री हुने इलेक्टि्रक कारमध्ये एक हो महिन्द्राको इ-२-ओ । यो कार अहिलेसम्म २४ लाख ७५ हजार रुपैयाँ तिर्नुपर्छ ।

बजेट भाषणपछि यसको मूल्य घटेको छ र, अब २० देखि २१ लाखमा आउनेछ । ‘२१ लाखसम्म इ-२-ओ कार बेच्न सकिन्छ प्रारम्भिक अनुमान छ’ महिन्द्राको विद्युतीय कार बेच्ने कम्पनी स्रोतले भन्यो, ‘अहिले यति नै घट्यो भन्न सकिन्न । सरकारले निकाल्ने करोबारको विस्तृत विवरण हेरेर मात्रै मूल्य तोकिन्छ ।’

महिन्द्राको चर्चित इलेक्टि्रक रेभा कार भने पछिल्लो सयमा नेपाल भित्रिन छाडेको छ । १५ लाख मूलयमा पाइने यो कारको उत्पादन नै बन्द भएको छ । त्यसैले अहिले उपभोक्ताको आकर्षण इ-२-ओ मा छ ।

यो रेभा भन्दा महंगो छ । तर, सरकारले बजेटमार्फत विद्युतीय सवारीको कर घटाएपछि यसको मूल्य पनि स्वतः घट्नेछ । चारपांग्रे इलेक्टि्रक सवारीमा ३ देखि साढे ४ लाखसम्म मूल्य घट्न सक्ने व्यवसायी बताउँछन् ।

स्कुटर र मोटरसाइकलको कति ?

बजारमा सामान्यतयाः ७० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका विद्युतीय मोटरसाइकल स्कुटरहरुको विक्री भइरहेको छ । यो भन्दा बढी मूल्यमा विद्युतीय सवारी पनि छ तर, विक्री न्यून छ ।

सरकारले बजेटमार्फत घटाएको करको दर अनुसार अब १ लाख पर्ने विद्युतीय मोटरसाइकलमा ५ हजारसम्म मूल्य घट्ने छ । ७० हजार पर्ने इलेक्टि्रक स्कुटरमा ३ हजारसम्म मूल्य कम हुनेछ । १ लाख ५० हजारसम्म पर्ने दुईपांग्रेमा भने ७/८ हजार मुल्य घट्नेछ ।

व्यवसायी चुप किन ?

नयाँ कायम हुन सक्ने मूल्यबारे प्रश्न विद्युतीय सवारी विक्रेताहरु खुलेर बोल्न मान्दैनन् । किनभने उनीहरुसँग यसअघि नै ल्याइएका पुराना विद्युतीय सवारीको मौज्दात छ ।

यसअघि ल्याएका सवारी विक्री नभइञ्जेलसम्म नयाँ मूल्यबारे पुरानो सवारी विक्री गर्न कठिन हुने त्रासमा छन् । त्यसैले नयाँ आयात हुने विद्युतीय सवारीको मूल्य कति हुन्छ भनेर बाहिर ल्याउन चाहिरहेका छैनन् ।

विद्युतीय परिवहन संघका अध्यक्ष श्रेष्ठ सर्वसाधारणले अझै सस्तो मूल्यमा इलेक्ट्रिक सवारी चढ्न पाउने बताउँछन् । उनले नेपालमै पनि विद्युतीय टेम्पो र माइक्रोको एसेम्बल हुने गरेकाले सरकारले इलेक्ट्रिक सवारीमा प्रयोग हुने ब्याट्रीको भन्सार, अन्तःशुल्क र भ्याट हटाउनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment