Comments Add Comment

ताप्लेजुङमा धान उत्पादन क्षेत्र घट्दै, किसान अलैंची खेतीमा लागे

मध्य असारसम्म १२ प्रतिशत रोपाईं

Dhan-Ropai-2073-Taplejung

१४ असार, ताप्लेजुङ । ‘मानो रोपेर मुरी उब्जाउने’ भन्ने उखान हराएर ताप्लेजुङमा ‘विरुवा रोपेर मन फलाउने’ उक्ति प्रचलित हुन थालेको छ ।

असार लागेसँगै धान रोपाईंका लागि हल गोरु, हली, रोपार, बाउसे र लाठे खोज्ने ताप्लेजुङका कृषकहरुले अहिले अलैंचीको विरुवा किनेर धान फल्ने खेतमा धमाधम रोप्न थालेपछि पुरानो उखान नै परिवर्तन हुन थालेको हो ।

भिरालो जमिन, धान खेतीका लागि पर्‍याप्त पानी नहुनु र रोपेको धानले पनि वर्ष भरी खान नपुग्ने भएकाले ताप्लेजुङका कृषकहरुले विस्तारै धान खेती छाड्न थालेका छन् । नगदेबालीको रुपमा अलैची खेती तर्फ जिल्लाका धेरै किसानहरु आकषिर्त भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्रबहादुर प्रधानले बताए ।

‘एकपटक लगाएपछि हल्का पानी लगाई गोडमेल गरे एकै सिजनमा लाखौंको आम्दानी गर्न सकिने र बजार पनि राम्रै भएकाले कृषकहरुको आकर्षण धान खेतीमा भन्दा पनि अलैची खेतिमा बढेको छ,’ प्रधानले भने ।

धान खेती गर्न बढी कामदार चाहिने तथा मेहेनत र लगानी अनुसारको प्रतिफल पनि नपाइने भन्दै जिल्लाका कृषकहरु विस्तारै धान खेतीबाट पलायन हुँदै गएका हुन् ।

धान खेत मासिँदै

धान खेतीबाट आम्दानी नहुने बुझेका जिल्लाका कृषकहरुले पहिले पर्याप्त धान खेती हुने खेत मासेर अहिले धमाधम अलैचीका लगाइरहेका छन् । वार्षिक २० देखि २५ हेक्टर धान उत्पादन हुने जमिन मासेर कृषकहरुले अलैची खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ ।

Alaichiदुई वर्ष अघि १० हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा रोपाईं भएको ताप्लेजुङमा अघिल्लो वर्ष ८ हजार ७ सय ६२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाईं भएको थियो । बाँकी रहेको सबै क्षेत्रफलमा अलैची खेती गरिएको थियो । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत विसुन देव यादवले यो वर्ष पनि यसकै धान रोपाईं घट्ने बताए ।

एक मन (४० किलो) अलैंचीबाट नै एक सिजनमा ८० देखि ९० हजार रुपैयाँसम्म आम्दानी गर्दछन् । धान उत्पादन हुने थोरै खेतमा लगाएको अलैंचीबाट नै धेरै आम्दानी गर्न सकिने हुँदा कृषकहरुले विकल्प खोज्न थालेको ताप्लेजुङ नगरपालिकाका स्थानिय कृषक कृष्ण बरालले बताए ।

‘एक मन अलैंचीबाट आएको रकमले नै वर्षभरि पुग्ने धान र चामल किन्न सकिने र बाँकी रकम बचत पनि हुने भएपछि हैरान गरेर कसले लगाओस् धान ?’ बरालले भने ।

कामदार अभाव

किसानहरुले धानको सट्टा अलैंची लगाउनुको कारण कामदार अभाव पनि एक हो । गाउँमा कामदार पाइन छाडेका छन् । घरमा बृद्ध-बृद्धा, अशक्त र केटाकेटीहरु मात्र भेटिन्छन् । काम गर्नसक्ने उमेरका युवा युवतीहरु कोही पढाइको सिलसिलामा शहर, बजार छिरेका छन् भने कोही कामको खोजीमा विदेश गएका छन् ।

‘अचेल काम गर्ने मान्छे पाउन मुस्किल छ । पहिले प्रति रोपार, प्रतिदिन ५० रुपैयाँ देखि सय रुपैयाँसम्म र बाउसे, लाठे एक सयदेखि दुई सय रुपैयाँसम्ममा पर्‍याप्त पाइन्थ्यो अहिले पाँच सय दिन्छु भन्दा पनि पाइँदैन,’ ताप्लेजुङ नगरपालिकाका कृषक नरेन्द्र बराल भन्छन्, ‘धान खेती गर्न मेहेनत र लगानी बढी हुन्छ । अलैची रोपेपछि एकपटक गोडेर पानी लगाए फलिहाल्छ, सिजनै पिच्छे लगाउने झन्झट पनि हुँदैन । थोरै कामदार भए पनि पुग्छ ।’

मध्य असारसम्म १२ प्रतिशत रोपाईं

ताप्लेजुङमा असार महिनाको मध्य भइसक्दा समेत १२ प्रतिशत मात्र रोपाईं सम्पन्न भएको छ । अघिल्लो वर्ष यही समयमा करिब २० प्रतिशत रोपाईं सम्पन्न भएको थियो ।

पर्‍याप्त पानी नपरेको, ढिला गरी वर्षा सुरु भएको र मुल नफुटेकाले हालसम्म बाह्र प्रतिशत क्षेत्रफलमा मात्र रोपाईं सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख प्रधानले जानकारी दिए ।

मकै रोप्ने सिजनमा वर्षा नहुँदा कृषकले ढिलो मकै लगाएको र अहिले ढिला गरी मात्र मकै पाकेकाले रोपाईं पनि ढिलो भएको हुनसक्ने प्रधान बताउँछन् ।

धान दिवस दुई स्थानमा मनाइँदै

यसैबीच ताप्लेजुङ जिल्लामा यसपटक १३ औं राष्ट्रिय धान दिवस दुई स्थानमा मनाइँदै छ । राष्ट्रिय धान दिवस असार १५ गते मनाइन्छ ।

अघिल्ला वर्षहरुमा जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सबै राजनीतिक दल र संघ संस्थाहरुको सहभागितामा एकै स्थानमा धान दिवस मनाइए पनि यस वर्ष भने जिल्ला कृषि विकास कार्यालय र एमाले निकट किसानहरुको सगठन अखिल नेपाल किसान महासंघले फरक-फरक स्थानमा एकैदिन मनाउने तयारी गरेका छन् ।

महासंघले मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै असार १५ गते ताप्लेजुङ नगरपालिकास्थित बोझेमा धान दिवस मनाउने जानकारी दिएको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लुेुङले ‘व्यवसायीक धान खेतीको आधार, सामुदायिक नर्सरीको बिस्तार’ भन्ने नाराकासाथ मेदिबुङमा दिवस मनाउँदै छ ।

फरक-फरक स्थानमा एकै समयमा धान दिवस मनाउने निम्तो सबै पुगेपछि कता जाने भन्ने दोधार भएको राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment