Comments Add Comment

बाढीले कटान गर्न थालेपछि म्याग्दीको फूलबारीमा छ घर विस्थापित

Baglung-Badi2
फाइल फोटो

१३ साउन, म्याग्दी । कटानका कारण म्याग्दीको ओखरबोट–१ मा पर्ने फूलबारीमा छ घरपरिवार विस्थापित भएका छन् ।

रितुङ खोलामा आएको बाढीले कटान गर्न थालेपछि रितुङ खोलाको किनारमा रहेको सो गाउँका थप ४५ घरधुरी जोखिममा परेका छन् ।

लालमान रसाइली, बेलकुमारी पुन, चुडामणि सापकोटा, मानसिङ सापकोटा, डमप्रकाश बस्याल र दलबहादुर पुनको परिवार विस्थापित भएका स्थानीयवासी समेत रहनुभएका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सदस्य मोतिराज गौतमले जानकारी दिए ।

नदीको धार बस्तीतर्फ बढेको कारणले उच्च जोखिम रहेको हुँदा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घरका सामग्री सुरक्षित स्थानमा सारेका छन् ।

बाढीले कटान गरेर भत्काउने र क्षति गर्ने अवस्थामा रहेका घर भत्काएर काठपातसमेत अन्यत्र लगिएको हो । विस्थापित आफन्तकहाँ आश्रय लिएर बसेका छन् । खोलाले बस्तीतर्फ धार परिवर्तन गरेकाले वर्षा नरोकिएसम्म तत्काल नियन्त्रणको प्रयास सम्भव नरहेको जनाइएको छ ।

कटानका कारण फूलबारीका थप करिब ४५ घर पनि त्रसित भएका छन् भने सुरक्षित ठाउँमा गएर रात कटाउने गरेका छन् । रितुङ खोलामा ४३ वर्षयताकै ठूलो बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ ।

जिविस, भूसंरक्षण कार्यालय र रेडक्रसको सहयोगमा नदी किनारमा लगाइएको तटबन्ध बाढीले बगाएको छ । सयाैं रोपनी खेतीयोग्य जमिन पनि कटानको चपेटामा परेको छ । विस्थापितको बसोबास र कटान नियन्त्रणका लागि पहल भइरहेको प्रजिअ केशवराज आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment