Comments Add Comment

मैले खेलकुदको विकास गर्छु भन्न नपाउने ?

ठीक छ, बर्दी खोलेर पनि जान्छु

नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा चुनाव लड्ने तयारी गर्दैछन् । अन्तर्वार्ताका लागि प्रस्ताव गर्दा उनले नेपाल प्रहरी हेडक्वाटरको अपराध अनुसन्धान विभागमा बोलाए । एन्फाको आसन्न चुनावबारे पूर्व खेलाडी समेत रहेका शर्मासँग गरिएको कुराकानी:

Bigyan Raj Sharma_810

एन्फा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णयमा पुगिसक्नुभएको हो ?

उम्मेदवार हुन्छु भनेर नै अगाडि बढिरहेको छु । फुटबलमा केही परिवर्तन गर्छु भन्ने सोचले अघि बढेको हो ।

नेपाल प्रहरीको एआईजी हुनुहुन्छ । बर्दीमै चुनाव लड्दा बर्दी प्रयोग गरेर चुनाव जित्न खोज्यो भन्लान् नि !

म त्यसरी बर्दीको दुरुपयोग गर्दिनँ । हो, व्यक्तिगत रुपले मलाई मन पराउने अफिसरहरुले विज्ञान सर पनि उठ्नुभएको छ, हेर भन्लान् । तर, मेरो उम्मेदवारी संस्थागत होइन । म त्यसरी गर्दै गर्दिनँ ।

बर्दी खोलेर गए राम्रो हुन्छ भन्ने लागेन ?

ठीक छ, बर्दी खोलेर पनि जान्छु म । तर, अहिले नै मौका आएकाले हेरौं न, प्रयास गरौं भनेको हो । बर्दी खोलेर आउने बेलामा तपाईँलाई म बर्दी खोलेर आएँ भन्छु (हाँसो) ।

भन्नाले एक वर्ष कुर्ने धैर्य पनि रहेन ?

स्पिरिट भएको बेला जाऊँ भन्ने मनसाय आएकाले एक पटक हेरुँ भन्ने निर्णयमा पुगेको हुँ । अरु केही होइन । अहिले बर्दीमा छु जित्छु, बर्दी भएन भने हार्छु भन्ने मनसाय होइन ।

फुटबल जीवन छाडेको केही दशक भइसक्यो । अहिले आएर किन एन्फामा जाऊँ-जाऊँ लाग्यो ?

यदि एन्फा व्यवस्थित रूपमा सञ्चालन भएको भए मेरो दिमागमा आउँदैनथ्यो होला । तर, देखियो नि एन्फाको कचिङ्गल । मैले पनि गर्नुपर्छ भन्ने जिम्मेवारीबोधले यो अवस्थासम्म ल्याएको हो ।

कुन समयबाट लाग्यो यस्तो ?

एन्फा बदनाम नहोस् भन्ने मेरो भित्री मनसाय हो । २/३ वर्ष अघिदेखि एन्फाभित्रका सबै कुरा छताछुल्ल हुन थाल्यो । यस्तो नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।

त्यही बेला म्याच फिक्सिङ काण्ड आयो । जतिबेला म उपत्यका प्रमुख थिए र मेरो मातहतको इकाईले नै यसको अनुसन्धान गरेको थियो । मैले त्यसलाई सूक्ष्मरुपले हेरेेको छु । त्यहाँबाट एन्फाभित्रको विकृति स्पष्ट भयो । केही साथीहरुले पनि मलाई स्पोट्र्समा आउनुपर्छ भनेर सुझाए । यसपछि साँच्चै मेरो खोजी भएको रहेछ भन्ने मलाई लाग्यो र म निर्णयमा पुगेँ ।

तर, नेपाल प्रहरीमा जागिरे जीवनबाट अवकाश पाउने बेला फुटबलमा जाँदा उहिलेको ब्याज खान जान लागेको जस्तो देखिएन ?

म पैसा कमाउन जान लागेको होइन नि । त्यहाँ तलब छैन ।

तलब नभएपछि अरु धेरै थोक हुन्छ भन्छन् नि ?

त्यो भए-नभएको त्यहाँ पुगेपछि नै बुझूँला । तर, म खेलाडी भएका नाताले कुनै खेलकुद विकास गर्छु भन्न पाउने कि नपाउने ? म फुटबल खेलाडी हुँ । म यो पेशा (प्रहरी) मा हुँदा पनि फुटबल खेलको सुरक्षा व्यवस्थापनमा एन्फा लगायत अरु कुनै संस्थाले खोज्नुपर्‍यो भने पहिले विज्ञान शर्मा कहाँ छ भनेर खोज्छन्, किन ? मैले खेलकुद बुझ्छु, खेलकुदको सुरक्षा व्यवस्थापन बुझ्छु भनेर हो ।

मैले ठूल्ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको सुरक्षा प्रमुख भएर काम गरेको छु । बेलाबेला गएर नेसनल टिमहरुलाई इनकरेज गरेको छु । जहाँ-जहाँ खटिएको छु, त्यहाँ फुटबललाई प्रोत्साहन गर्नेदेखि कहिलेकाहीँ आर्थिक सहयोग पनि गरेको छु । यो मैले नगरे पनि हुन्थ्यो नि त ! तर, यसमा मेरो लगाव छ । त्यसैले अवकाशपछि पनि मैले खेलेको भूमिकाले राम्रो हुन्छ, युवा पुस्तााई राम्रो हुन्छ भने त्यो काम गर्नु गलत हो र ? गलत हो भने भन्नुस्, म छोडिदिन्छु …(हाँस्दै) ।

Bigyan Ran Sharma (6)

त्यस्तो के देख्नुभो, आफैं गएर परिर्वतन नगरी नहुने ?

देखिहालियो नि, एन्फाभित्रका सबै कुरा छताछुल्ल भइसक्यो । यसले गर्दा खेलाडी भाइबहिनीहरुमा नकारात्मक असर नपरोस् भन्ने हो । उनीहरुलाई खेल्ने वातावरण दिने हो भने नेपाली फुटबलको भविष्य छ भन्ने कुरा बंगबन्धु र साफको जितबाट देखिसकिएको छ । त्यसैले व्यवस्थापनमा केही कमी-कमजोरी छ । त्यसलाई सुधार्नुपर्छ भन्ने मेरो अठोट हो ।

उसो भए नेपाली फुटबले अहिलेसम्म नतिजा निकाल्न नसक्नुको कारण एन्फा नै हो ?

एन्फा नै हो भन्ने होइन । एन्फा त एउटा संस्था हो । समस्या एन्फाभित्रका कुरीतिहरु हुन् । व्यवस्थापकीय कमी-कमजोरी हो । सामूहिक शैलीमा अघि बढ्यो र आर्थिक पारदर्शिता पनि भयो भने एन्फा आफैंमा खराब होइन । अझ राम्रो हुन्छ ।

तर, अहिले त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका चुनाव हुने हो । बाँकी त त्यही संरचना/व्यक्ति हो । आजको भोलि नै सुधार हुन्छ र ?

मूल सफा भयो भने तल सबै सफा हुन्छ । एन्फाको प्रमुख पारदर्शी, सबैलाई समेटेर लैजान सक्ने र फुटबलको विकास साँच्चै गर्छु भन्ने भावनाको भयो भने तलका अरु मान्छे आफैं ठीक हुन करै लाग्छ । हो, तपाईले भनेको जस्तो केही अप्ठ्यारा त आउँछ नै, त्यसलाई झेल्न सक्ने क्षमता र साहस त लिडरमा हुनुपर्छ ।

एन्फा अध्यक्षको उम्मेदवारी दिँदै गर्दा तपाईंको योजना के हो त ?

अहिले बाहिर देखिए जस्तो एन्फा भनेको अन्यौलग्रस्त संस्था होइन है, यो आर्थिक रुपमा पारदर्शी र खेल, खेलाडीदेखि रेप|mी र दर्शकलाई समेटेर लैजाने संस्था हो भन्ने भावना जागृत गराउनु नै मेरो प्रमुख लक्ष्य हो ।

Bigyan Ran Sharma (10)

यसबाहेक ?

यसबाहेक फुटबल विकास नै हो । म पुलिस अफिसर हुँ र क्राइम डिपार्टमेन्ट हेर्छु । धेरै युवायुवतीहरु ड्रग्समा फसेका छन् । मदिराका कारण धेरैले ज्यान गुमाएका छन् । मान्छेहरुमा फ्रस्टेशन छ, स्पोर्ट्स  फिल्डहरु छैन । मान्छे बिहान मर्निङ वाक गर्ने ठाउँ समेत छैन । त्यसैले म त भन्छु, अस्पताल र नर्सिङ होम बनाउने होइन, खेलमैदान बनाऔं ।

स्पोर्ट्स, त्यसमा पनि पपुलर गेम फुटबलमा युवाहरुलाई केन्द्रित गर्न सकियो भने धेरै हदसम्म विकृति र अपराध घटाउन सक्छौं । साथै फुटबलको माध्यमबाट राष्ट्रिय एकता जगेर्ना गर्न सकिन्छ । यदि म गएँ भने निश्कलंक र निष्पक्ष रूपमा प्रयास गर्नेछु ।

तर, अब हुने चुनाव भनेको त एक वर्षका लागि मात्र हो नि !

एक वर्षको कार्यकाल भए पनि मरो तीन वर्षे रणनीति छ । अघि भनेको जस्तो एन्फाप्रति विश्वास आर्जन गर्ने कार्यक्रम ल्याउँछु । युथलाई फोकस गर्छु र गाउँगाउँमा रहेका खाली मैदानलाई संरक्षण गरेर गाईबस्तु नचर्ने गरी घेर्छु । एउटा गाउँमा सानो मैदानलाई व्यवस्थित गर्न सकियो भने खेल्ने वातावरण बन्छ ।

तर, यसो भनिरहँदा काठमाडौंको मुटुमा रहेको रंगशालाले गिज्याउँदैन ? रंगशाला त झाडीमा परिणत भएको छ ।

मेरो घर पनि त्यहीँ त्रिपुरेश्वरमै छ । कहिलेकाहीँ त्यहाँ कुद्न जाँदा धेरै शरम लाग्छ । त्यहाँभित्र बस्ने पदाधिकारीलाई लाग्छ कि लाग्दैन थाहा छैन । तपाईँले भनेको कुरा सही हो, लाज लाग्छ । राष्ट्रिय रंगशाला नमूना भइदियो भने अरुलाई पनि प्रेरणा हुन्छ । हुन त रंगशालाको रेखदेखको काम राष्ट्रिय खेलकुद परिषद्को हो, यो उसले हेर्नुपर्छ । राखेपलाई झकझक्याउन सकिन्छ । यदि म एन्फाको नेतृत्वमा पुगेँ भने रंगशालालाई तपार्इहरुले सोचेको भन्दा राम्रो गर्न सक्छु ।

Bigyan Ran Sharma (7)
नेपाली फुटबल टोलीको प्रदर्शनबाट कति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै छु । जुन लेभलका खेलाडीहरु छन्, उनीहरुले सीमित स्रोत-साधन र सुविधाको भरमा मिहिनेत गरेका छन् । यो पर्याप्त छैन, अझै धेरै गर्नुपर्छ । स्कूल लेभलबाटै कार्यक्रम ल्याउनुपर्छ र युवा खेलाडीहरुलाई अगाडि बढाउनुपर्छ । हामीले साफ गेम त जित्यौं । तर, अहिले भएकै लेभलबाट हामीले फेरि जित्न सक्दैनौं ।

तपाईं आफ्नो जमानाको डिफेण्डर, नेपालले एसियन गेम्स, विश्वकप खेलेको कल्पना गर्नु हुन्छ कि हुन्न ?

म बाँचुन्जेल त्यो देख्दिँन । मैले नै एसियन गेम्स र वल्र्डकप क्वालिफायर खेलेेको छु । म डिफेन्स खेल्थेँ र हाम्रो बेलाको टिम पनि राम्रै थियो । तर, हामी डिफेण्डरहरु घडी हेरेर खेल्थ्यौं, कहिले हाफ टाइम हुन्छ भनेर । विपक्षी टिमबाट त्यति धेरै बलको प्रहार हुन्थ्यो ।

अहिले पनि खेलाडी नराम्रो होइन । तर, शारीरिक रुपमा कमजोर छौं । वान टु वान बललाई स्क्रिनिङ गरेर लिएर जान सक्ने क्षमता एकदमै कम खेलाडीमा मात्र छ । बच्चादेखि नै बनाएर नल्याएसम्म एसियन र विश्वकप क्वालिफाइङ राउण्डमा प्रतिस्पर्धा गर्न गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment