यस वर्षको साताको साहित्य पुरस्कार कवि बोनम प्रतापले पाउने भएका छन् ।
नेपाली साहित्यका विविध खुराक पस्किँदै आएको साताको साहित्य डटकममा २०१५ अगष्ट देखि २०१६ जुलाई सम्ममा प्रकाशित सिर्जनामध्ये छानिएका तीन सिर्जनामध्ये बोनमको कवितालाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।
पाठक प्रतिक्रिया र निर्णायकहरुको आधारमा केही समयअघि बोनमको कविता ‘म नि सुन्दर थिएँ नि’, जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र कमल संघर्षको गजललाई उत्कृष्ट रचनाका रुपमा सार्वजनिक गरिएको थियो । तीमध्ये चार सदस्यीय निर्णायक मण्डलले बहुमतको आधारमा ‘म नि सुन्दर थिएँ नि’ लाई सर्वोत्कृष्ट ठहर्याएको साताको साहित्य डटकमका सम्पादक निष्प्रभ सजीले जनाएका छन् ।
निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, नेपाली पत्र अष्ट्रेलियाका सम्पादक ऋषि आचार्य, नेपाली टाइम्स अष्ट्रेलियाका सम्पादक सुजित सिग्देल साताको साहित्यका सम्पादक निष्प्रभ पनि थिए ।
बोनम साताको साहित्य पुरस्कार पाउने पाँचौं लेखक हुन् । उनले पुरस्कारमा नगद रु २० हजार र ताम्रपत्र पाउनेछन् । यसअघि यो पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास र नवराज पराजुलीका रचनाले पाएका थिए ।
प्रतिक्रिया 4