Comments Add Comment

स्तन क्यान्सरलाई जितेकी बसुधा भन्छिन्- सुजातालाई स्वास्थ्यलाभको कामना !

'सुजाताले बुद्धि पुर्‍याउनुभएन, तर उहाँलाई माया चाहिन्छ'

२९ कात्तिक, काठमाडौं । बसुधा नेपाल पोखरेल यतिबेला अमेरिकामा छिन् । उनी स्तन क्यान्सरलाई जितेकी नेपाली चेली हुन् । क्यान्सर लाग्नुको पीडालाई नजिकैबाट भोगेकी बसुधा अहिले सात समुद्रपारि रहे पनि उनलाई नेपालमा सुजाता कोइरालाको चर्चा-परिचर्चाले गहिरोसँग छोएको छ ।

हामीले बसुधासँग स्तन क्यान्सर, यसको उपचार र सुजाता कोइराला प्रकरणबारे भाइबरको माध्यमबाट चासो राख्यौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकी कान्छी बहिनी बसुधाले सुजाताजस्तो ‘पब्लिक फिगर’ले बुद्धि पुर्‍याउन नसकेको तर यतिबेला उनलाई मानवीयताका आधारमा सहानुभूति देखाउनुपर्ने बताइन्-

basuda-nepal
बसुधा नेपाल

सुजाता कोइरालाजीलाई ठ्याक्कै के भएको हो, मैले बुझ्न सकेकी छैन । क्यान्सर पत्ता लागेर अप्रेसन गरिसकेको हो कि ? किमोथेरापी गरिँदै छ कि ? क्यान्सर नै हो भने कुन स्टेजको हो ?

ब्रेस्ट क्यान्सर भन्नेवित्तिकै सबै एकैखालको हुँदैन । उमेर अनुसार पनि फरक हुन्छ । ब्रेस्ट क्यान्सर भएका कसैलाई अप्रसेन र किमो थेरापीले मात्रै पुग्छ । कसैलाई पाँच वर्षसम्म मेडिसिन चलाउनुपर्छ । मलाई चाँहि एक वर्षसम्म किमोसँगै हर्सेप्टिङ इञ्जेक्सन पनि दिइयो, जुन १७ डोजसम्म चलाउनुपर्‍यो । एउटा इन्जेक्सनकै एक लाख रुपैयाँ जति पर्छ । क्यान्सर असाध्यै महंगो रोग हो ।

क्यान्सर सामान्य रोग होइन

कमसेकम सरकारले वर्षमा एकचोटि नेपालमा निशुल्क रुपमा म्यामोग्राफी गराउने प्रवन्ध आगामी वर्षदेखि गरोस्

हामी सबैले के कुरामा विचार पुर्‍याउनुपर्छ भने क्यान्सर भनेको सामान्य रोग होइन । म नेपाल सरकारलाई पनि यही भन्न चाहन्छु । मेरा श्रीमानले विदेशमा काम गर्नुभएको हुन्थेन भने मैले यसरी पुनर्जीवन पाउन सक्ने थिइँन । उहाँले एक वर्षसम्म विदा लिएर मेरो उपचार गर्नुभयो ।

अस्ति भर्खरै अर्थमन्त्री कृष्णबहादुर महरा अमेरिका भ्रमणमा आएका बेला अर्थ सचिव शान्तराज सुवेदी र मन्त्रीका प्रमुख स्वकीय सचिव हिमाल शर्मा अनि सहसचिवज्यु समेत हाम्रैमा बस्नुभएको थियो । मैले उहाँहरुलाई भनेकी छु- कमसेकम सरकारले वर्षमा एकचोटि नेपालमा निशुल्करुपमा म्यामोग्राफी गराउने प्रवन्ध आगामी वर्षदेखि गरोस् ।

सामान्यतः क्यान्सरका विरामीले अप्रेसन गरेको ३ हप्तापछि किमो थेरापी सुरु गर्नुपर्छ । सुरुमा एफएनएसी र बायोप्सी गरेर क्यान्सर पत्ता लाग्छ । अप्रेसन गरेपछि पनि बायोप्सी गरेर हेरिन्छ । ब्रेस्ट क्यान्सरमा ब्रेस्ट रिमोभ गर्ने र नगर्ने दुईखालको अप्रेसन हुन्छ ।

तर, सुजाताको बिमारकै बारेमा कन्फ्युज्य छु

समाचारहरुमा सुनेअनुसार सुजाताजी मलेसिया जाँदा उतै अप्रेसन गरेर नेपाल आउनुभएको र नेपाल फर्केपछि भारतको टाटा मेमोररियल क्यान्सर अस्पतालमा बायोप्सी जाँच गर्न स्याम्पल पठाइएको थियो रे । अहिले किमो चलाउनका लागि सिंगापुर जानुभएको भन्ने सुन्दा म झनै कन्फ्युज्ड भएकी छु ।

सिंगापुरमा अप्रेसन गरेर भारतको टाटा अस्पतालमा बायोप्सी जाँच, यो त हुनै सक्दैन, बायोप्सी सिंगापुरमै हुन्छ, यति कुरा त म ठोकेर भन्न सक्छु

सिंगापुरमा अप्रेसन गरेर भारतको टाटा अस्पतालमा बायोप्सी जाँच, यो त हुनै सक्दैन । बायोप्सी सिंगापुरमै हुन्छ । यति कुरा त म ठोकेर भन्न सक्छु ।

त्यसैले सुजाताजीको बिमारको विषयमा स्पष्ट कुरो नआउँदासम्म म कन्फ्युज्डमा छु । उहाँलाई के भएको हो र कुन स्टेजको क्यान्सर भएको हो, मलाई थाहा छैन ।

तर, म स्तन क्यान्सरबाट पीडित बनेर पुनर्जीवन पाएकी व्यक्ति हुनाले म के भन्छु भने क्यान्सरका विरामीहरुलाई परिवार र आफन्तजनको सपोर्ट चाहिन्छ । क्यान्सरका विरामीहरुलाई हामी सबैले माया गर्नुपर्छ ।

Sujata Koirala (1)
सुजाता कोइराला

सुजाताजीका बारेमा समाचार र सामाजिक सञ्जालहरुमा जेजस्ता टिप्पणीहरु सुनिरहेकी छु, यो सुन्दा मलाई अति नै दुःख लागेको छ ।

उहाँलाई क्यान्सर लागेको हो भने यो बेलामा सुजाताजीलाई गाली गलौज हैन, माया र सहानुभूति जनाउनुपर्ने बेला हो । क्यान्सरका विरामीबारे न्युज निकाल्दा वा बोल्दाखेरि मानवीयता राखेर बोल्नुपर्छ ।

सुजाताजीले बुद्धि पुर्‍याउनुभएन

सुजाताजीले आफैं बुद्धि पुर्‍याउनुएन र गाली खाने काम गर्नुभयो । उहाँ हामीजस्तो नभएर ‘पब्लिक फिगर’ हो । उहाँ उपचार गर्न नसक्ने गरीब मान्छे पनि होइन । क्यान्सर लाग्यो रे भनेर हल्ला चल्नासाथ सरकारसँग १ करोड रुपैयाँ मागेको सुन्दा मलाई ठीक लागेन ।

उहाँले सुरुमा आफ्नै खर्चले उपचार गर्नुपर्दथ्यो । उपचार गर्दै जाँदा खर्चको अभाव भएको अवस्थामा राज्यसँग मलाई अलिकति सपोर्ट चाहियो भनेर नपुग रकम मागेको भए हुन्थ्यो । तर, सुरुमै एक करोड चाहियो भनेको सुन्दा नराम्रो लाग्यो । अहिले ५० लाख सरकारले दियो । तर, उहाँको क्यान्सर कुन स्टेजको हो, त्यो केही पनि थाहा छैन ।

मेरो विचारमा सुजाताजीले बुद्धि पुर्‍याउनुभएन । उहाँले यस्तो कुरा सोच्न सक्नुपर्ने हो । उहाँलाई आफ्ना मानिसले पनि सल्लाह दिनुपर्ने हो ।

नेपालमै उपचार हुन्छ

क्यान्सरको उपचार नेपालमै पनि हुन्छ । नभए पनि मध्यम वर्गका मानिसहरु भारतसम्म जान सक्छन् । भारतमा क्यान्सरको उपचार यति राम्रो हुँदोरहछ कि मलाई अमेरिका आएपछि यहाँका डाक्टरहरुले तिम्रो उपचार असाध्यै राम्रो भएछ, हामीकहाँ आएको भए पनि उपचारविधि यस्तै नै हुन्थ्यो भनेको सुन्दा ज्यादै खुशी लाग्यो ।

basydha-nepal-and-madhab-ne

मेरो अप्रेशन भारतको राजीव गान्धी अस्पतालमा भएको हो । त्यो असाध्यै राम्रो र सस्तो अस्पताल हो । त्यसैले क्यान्सरको उपचार नेपाल र भारतमै सम्भव छ, अरु महंगो देशमा गइरहनुपर्दैन ।

तर, यो रोग असाध्यै खर्चालु रोग हो । वीरगञ्जको मान्छेले दिल्ली गएर बस्नु र काठमाडौं गएर बस्नु खर्चको हिसाबले यस्तै हो । कम्तिमा एक वर्षसम्म दुईजना व्यक्तिले शहरमा राखेर विरामीलाई रुङनुपर्‍यो । त्यो बेलासम्म खानुपर्‍यो । भाडाखर्च, यातायात खर्च यो सबै जोड्दा निम्न वर्गको मान्छेले उपचार गर्न गाह्रो हुन्छ । त्यसैले क्यान्सरका विपन्न विरामीलाई सरकारले हेर्नैपर्ने हुन्छ । तर, मेरो विचारमा क्यान्सरको राम्रो उपचार नेपालमै पनि हुन्छ ।

मैले भारतमा अप्रेसन गरे पनि औषधि चलाउन नेपालमै फर्किएकी थिएँ । पहिले डाक्टरले औषधि लिएरा जानोस् भने । लोडसेडिङ नहुने भएकाले अस्पतालको रेफ्रिजेरेटरमा औषधि राख्न भनिएको थियो । डा. सुदीप श्रेष्ठले औषधि चलाउनुभयो । पछि रेडिएसनका लागि म फेरि दिल्ली गएँ ।

अहिले नेपालमा हरिसिद्धस्थित क्यान्सर अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेकी छु । रेडिएसन मेसिन पनि हाल्नुभएको छ रे । किमो थेरापी काठमाडौं पनि हुन्छ । नेपाल बाहिर पनि क्यान्सर अस्पताल खुलेका छन् ।

अप्रसेन चाँहि मैले काठमाडौंमा नगरेको हुनाले कस्तो छ, भन्न सक्दिँन

खर्च कतिसम्म लाग्छ ?

मेरो त ब्रेस्ट क्यान्सर किमोसँगै महंगो इन्जेक्सन चलाउनुपर्ने स्टेजसम्म पुगेको हुनाले बढी नै खर्च भयो । एउटा इन्जेक्सनको एक लाख पर्ने । १७ वटा लगाउनुपर्‍यो । यस्तो महंगो इन्जेक्सन लगाउनुपरेन र किमोमात्रै चलाउनुपर्‍यो भने खर्च अलि घट्छ । तैपनि सामान्य अवस्थामा पनि स्वदेशमा वा भारतमा उपचार गर्दा २०/२५ लाख त लागिहाल्छ । मेरो लगभग ४०/५० लाख खर्च भयो होला ।

भारतमै उपचार नगरेर सिंगापुरमा जाने हो भने खर्च अझै बढ्न सक्छ । यातायात र अन्य कारणले पनि खर्च बढ्छ । क्यान्सर भएको हो भने सुजाताले लामो समयसम्म सिंगापुरमै बस्नुपर्ने हुन्छ, जसले गर्दा ५०/६० लाख खर्च लाग्न पनि सक्छ ।

(कुराकानीमा आधारित)

विरामी अवस्थामा बसुधाले लेखेका संस्मरणहरु

स्तन क्यान्सरले आक्रान्त म…. अनि मृत्यु नजिकको अनुभूति !

शरीरभित्र पनि घुस चल्दोरहेछ, मुटुदेखि पाइतालासम्म

देखो, मै तो ‘पिके‘ हो गयी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment