Comments Add Comment

फेरिँदो एमालेः अन्तर्राष्ट्रिय गीतको साटो राष्ट्रिय गान !

एमालेको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग अनिवार्य !

८ चैत, काठमाडौं । यसअघि अन्तरराष्ट्रिय गीत ‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ गाएर कम्युनिष्टहरुको कार्यक्रम शुरु हुन्थ्यो । अब यो प्रचलनलाई परिवर्तन गर्दै नेकपा एमालेले आफ्ना कार्यक्रमहरु राष्ट्रिय गानबाट शुरु गर्न थालेको छ ।

एमालेले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय गान अनिवार्य गर्न थालेको हो । एमालेका हरेक कार्यक्रम पछिल्लो सयम राष्ट्रिय गानबाट शुरु हुने गरेका छन् भने उसले पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न थालेको छ ।

एमालेको मेची महाकाली राष्ट्रिय अभियानमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा र सूर्य चिन्ह अंकित झण्डा र हँसिया हथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा लगभग उस्तै संख्यामा प्रयोग भए ।

एमालेको पहिचान नै सूर्य चिन्ह बनेकाले कार्यकर्ताले विगतमा सूर्य चिन्ह अंकित झण्डा बढी प्रयोग गरेका थिए । एमाले अभियानका सहभागीका गाडीमासमेत एकातिर सूर्य चिन्ह अंकित झण्डा र अर्कोतिर कम्युनिस्ट पार्टीका झण्डा फहराइएका हुन्थे ।

यसपालिको अभियानमा गाडीमा राष्ट्रिय झण्डालाई अग्रभागमा राखिएको थियो । एमालेको मेची महाकाली अभियानको लोगोमै राष्ट्रिय झण्डा थियो ।

झण्डाबारे ओलीले के भने ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय झण्डालाई एमालेले ब्यापक मात्रामा प्रयोग गर्ने नीति लिएको बताए । पार्टीका कार्यक्रमहरुमा सूर्य र हँसिया हथौडा अंकित झण्डा सँगै राष्ट्रिय झण्डा पनि अनिवार्य गरिएको उनले औपचारिक जानकारी गराए ।

कार्यक्रममा ओलीले भने- केही मान्छे एमालेले राष्ट्रिय झण्डा लिएर मेची महाकाली किन हिँडेको भन्दैछन्, यो देशको माया छ भने, उनीहरुले पनि राष्ट्रिय झण्डा फहराएर मेची महाकाली दौडाहा गरे हुन्छ । एमालेका कार्यक्रममा मात्र होइन, हामी घर घरमा राष्ट्रिय झण्डा फहाराउनुपर्छर् भन्ने अभियान चलाउँदैछौं ।

ओलीले राष्ट्रिय झण्डा नै परिवर्तन गर्नुपर्छ भनेर संविधानसभामा एजेण्डा ल्याउनेहरुलाई दोस्रो संविधानसभा जनताले पराजित गरेको समेत बताए ।

एमालेले राष्ट्रिय झण्डाको प्रयोग गर्न थालेको केपी ओली अध्यक्ष भएपछि हो । उनले चन्द्र सूर्य अंकित लकेट पार्टीभित्र आफ्ना प्रतिस्पर्धी माधव नेपाललाई लगाइदिएर यो अभियानको थालनी गरेका थिए । ओलीले लकेट लगाइदिने अभियान नै चलाएको तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले स्मरण गरे ।

रामेश्वर फुयालको प्रस्ताव

एमालेको अघिल्लो केन्द्रीय कमिटी बैठकमा तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुयालले पार्टीका कार्यक्रममा राष्ट्रिय झण्डा अनिवार्य गर्न प्रस्ताव राखेका थिए । त्यही एजेण्डा बोकेर चुनाव जितेका फुयालले अहिले काठमाडौं क्षेत्र नम्बर ३ का घर घरमा राष्ट्रिय झण्डा निशुल्क बाँड्ने अभियान चलाइरहेका छन् ।

करीव एक महिना माइतीघर मण्डलामा केही युवाहरुले नेपालकै अहिलेसम्मको ठूलो राष्ट्रिय झण्डा गाड्ने सन्दर्भमा पनि ओलीकै हातबाट झण्डोत्तोलन गरेका थिए ।

देशभक्तहरुमाथि आक्रमण हुन थालेको र राष्ट्रिय हितको कुरा गर्नेलाई खोक्रो राष्ट्रवादी भनेर लल्कार्ने जमात हावी हुन थालेको भन्दै एमालेले राष्ट्रिय झण्डाको प्रयोगलाई अघोषित रुपमा अनिवार्य गरेको एमाले नेताहरु बताउँछन् ।

एमालेले अब आफ्ना कार्यकर्ताका घर घरमा पनि राष्ट्रिय झण्डा फहाराउने तयारी गरेको छ । ‘राष्ट्रभन्दा ठूलो पार्टी हुदैन,राष्ट्रिय भावना जगाउन राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग गर्नुपर्छ भन्ने एमालेले महशुस गरेको हो’ प्रचार विभाग सचिव बिष्णु रिजालले भने ।

अन्तरराष्ट्रिय गीत छाडेर राष्ट्रिय गान

एमालेको मेची महाकाली अभियानका क्रममा कुनै पनि दिन नछुटेको अर्को विशेषता भनेको राष्ट्रियगान र शहीदप्रति मौनधारर्ण । यसअघिका ठूला सभाहरु शहीदहरुलाई सम्भिmदै अघि बढाइन्थे । तर, पछिल्ला दिनमा राष्ट्रिय गान लगत्तै शहीदप्रति मौन धारणा गर्न एक मिनेट सबै नेता र जनता उठ्नै पर्ने नियम पनि एमालेले थपेको छ ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने -देशको सान राष्ट्रिय झण्डा राष्ट्रियताको प्रतिक हो । त्यस्तै यो देशको निर्माणदेखि जनताका अधिकार प्राप्तिको आन्दोलनमा जीवन दिने शहीदहरुप्रति नयाँ पुस्तालाई गर्व गर्न सिकाउन पनि एक मिनेट मौनधारणा गर्ने पद्धति अनिवार्य गरिएको हो ।
एमालेका पछिल्ला कार्यक्रमहरुमा कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत गाउन वा बजाउन भने छाडिएको छ ।

‘पार्टी महाधिवेशन, जिल्ला अधिवेशनहरुमा अन्तर्राष्ट्रिय गीत पनि बजाइन्छ’ एमाले निकट जनसांस्कतिक मञ्चकी कोषाध्यक्ष भूमिका सुब्बाले भनिन् ‘सार्वजनिक कार्यक्रममा शुरुवात राष्ट्रिय गीतबाट हुन्छ, त्यसपछि हामी पार्टीकै गीत गाउँछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment