Comments Add Comment

टाइम बम फुटेको छैन- महन्थ, पत्रकारले आतंक मच्चाए-उपेन्द्र

रोकिएन मधेसी मोर्चा र गठबन्धनको विरोध कार्यक्रम

११ बैशाख, काठमाडौं । मधेसी मोर्चा र सरकारवीच शनिबार बालुवाटारमा छलफल भइरहेका बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव जनकपुरतिर लागेका थिए ।

मधेस केन्द्रित ६ दलवीच एकता भएपछि उपेन्द्र यादव तनावमा परेको र मोर्चाभित्रका दुई दलवीच चिसोपन बढेको कतिपयको अनुमान थियो । तर, आइतबार बिराटनगरको बी-ब्लकमा आयोजित विरोध सभामा उपेन्द्र यादव र महन्थ ठाकुर एउटै मञ्चमा मात्रै उभिएनन्, दुबै नेताले एउटै किसिमको अभिव्यक्ति दिए ।
फरक यतिमात्रै थियो, उपेन्द्रले नेपाली भाषामा भाषण गरेका थिए भने महन्थले हिन्दीमा ।

दुबै नेताले सार्वजनिक खपतकै लागि भए पनि कडा भाषण गरेका थिए । तर, उपेन्द्रले चुनावमा जान चाहिरहेका आफ्नै सहयात्रीलाई पनि व्यंग्य गर्न भ्याए ।
यादवले भने- ‘अलि-अलि लोभीपापी कोही-कोही होलान् चुनावमा हाम्फाल्ने । त्यसमा चिन्ता हामीलाई छैन । यो क्लियर धारणा हो हाम्रो ।’

फोरम नेता यादवले पत्रकारहरुले आतंक मच्चाएको गुनासो समेत गरे । उनले बालुवाटारमा कुनै सहमति नभएको र आफूहरुको अडान यथावत रहेको बताए ।
महन्थ ठाकुरले पनि सरकारसँगको आशंका कायमै रहेको र मधेसको टाइम बम फुट्न सक्ने चेतावनी दिए ।

नेताहरुको अभिव्यक्ति सुन्दाखेरि बालुवाटार बैठकको सहमतिबाट धेरै हौसिन सकिने स्थिति नआइसकेको संकेत मिल्थ्यो ।

विरोध कार्यक्रम जारी

दुई चरणमा चुनाव गर्ने र संविधान संशोधन प्रस्ताव परिमार्जनपछि मधेसी मोर्चा चुनावमा आउने शनिबार बालुवाटारमा अलिखित समझदारी बनेको थियो । यो समझदारीपछि मधेसी मोर्चाले गर्ने भनेको विरोधको कार्यक्रम स्थगित हुने बताइएको थियो ।

तर, आइतबार मोर्चाले बिराटनगरमा पूर्वानिर्धारित कार्यक्रम स्थगन गरेन । सो कार्यक्रममा महन्थ र उपेन्द्रले सम्वोधन गरे ।

विरोध कार्यक्रम हाटखोलामा राखिएको थियो । तर, त्यसलाई परिमार्जन गरेर नगरपालिकाको बी-ब्लकमा अवस्थित सानो ठाउँमा आयोजना गरिएको थियो ।

त्यसैगरी सोमबार झापको विर्तामोडमा पनि संघीय गठबन्धन र लिम्बुवान मोर्चाको आयोजनामा विरोध जुलुस आयोजना गरियो । जुलुसमा मधेसी मोर्चाका भन्दा पनि लिम्बुृवान नेताहरु उपस्थित थिए । कुमार लिङदेन, सञ्जुहाङ पालुङवा लगायतका नेताहरुको सहभागितामा निस्केको जुलुसमा ‘संविधान संशोधन बेगरको चुनाव मान्दैनौं’ लगायतका नाराहरु लगाइएको थियो ।

बिराटनगरमा उपेन्द्र यादव र महन्थ ठाकुरले दिएको अभिव्यक्ति जस्ताको त्यस्तै-

पत्रकारले आतंक मच्चाएः उपेन्द्र यादव

मोर्चा गठबन्धनसँग सम्झौता भयो, अब चुनावमा जान्छ भनेर हाम्रा पत्रकारुहरुले, प्रिन्ट मिडिया र इलेक्ट्रोनिक मिडियाहरुले आतंक नै मच्चाइदिएका छन् । यो कुरा गलत हो । हामीले कुनै सम्झौता गरेका छैनौं । जुन प्रचार भएको छ, त्यो गलत हो ।


साँचो कुरा के हो भन्दाखेरि हिजो बार्तामा हाम्रा हाम्रा साथीले केही सुझाव दिएका थिए । र, प्रधानमन्त्रीलाई यो संविधान संशोधन गरी मधेसीका मुद्दाहरु, आदिवासी जनजातिका मुद्दाहरु, दलितका मुद्दाहरु, थारुका मुद्दाहरु, सीमान्तीकृत समुदायका मुद्दाहरु, मुस्लिम समुदायका मुद्दाहरु, लगायतका अल्पसंख्यक समुदायका मुद्दाहरुलाई सम्वोधन गर्नोस् भनेर सुझाव दिएका छन् । नम्बर एक ।

नम्बर दुई, यो संविधान विकृति विसंगतिले भरिएको, बन्दुकको भरमा जबरजस्ती जनतामाथि लादिएको, विभेदकारी संविधान हो । यो संविधानले विगतमा भएका जनयुद्ध, जन संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनहरुका भावनालाई यो संविधानले समेट्न सकेको छैन ।

त्यसकारणले यो संविधानमा संघीयता, गणतन्त्र, राष्ट्रिय पहिचानको मान्यता विभेदको अन्त्य, समानुपातिक-समावेशिता, सामाजिक न्याय र प्रादेशिक स्वायत्तता सहितको, पहिचान सहितको संघीय राज्यहरुको निर्माण गर्नुहोस् । हामीले यो संविधानमा भएका गल्तीहरु सच्याऔं भनेर भनेका छौं ।

संविधान संशोधन नहुञ्जेलसम्म, हामीले राखेका ११ बुँदे, २६ बुँदे मुज्ञाहरु, राष्ट्रिय सभालाई सम्वोधन नगरिकन चुनाव यो मुलुकमा हुँदैन । र, चुनावमा हामी सहभागी हुँदैनौं । हाम्रो अडान हिजो पनि थियो, आज पनि छ । भोलि पनि रहन्छ ।

अलि-अलि लोभीपापी कोही कोही होलान् चुनावमा हाम्फाल्ने । त्यसमा चिन्ता हामीलाई छैन । यो क्लियर धारणा हो हाम्रो ।

पत्रकार मित्रहरुसँग मेरो विशेष आग्रह छ, राज्यले फैलाएको गोयबल्स शैलीको हल्लालाई प्रचारमा, मिडियामा यो स्वच्छ वातावरणमा प्रदुषित हुन नपाओस् ।

टाइम बम फुटेको छैनः महन्थ ठाकुर

यहाँ ढोल बजाइरहेका छन् । पिटिरहेका छन् । तपाईहरुले पनि सुन्नुभयो, सहमति भयो । तर, काहीँ कुनै नयाँ सहमति भएको छैन । यिनीहरु भ्रम फैलाइरहेका छन् कि सहमति भयो ।

अहिलेसम्म पनि पहिलेकै अवस्था छ । यो अवस्थामा जबसम्म संविधानको संशोधन हुँदैन, संशोधनविना कुनै चुनाव हुँदैन ।

यो सरकारले हामीलाई अलग राखेको छ । यो चुनावमा हामीलाई अलग- थलग राख्ने कोसिस भइरहेको छ । उनीहरु आरोप लगाउँदैछन् कि यिनीहरु चुनाव हुन दिँदैनन् । तर, यो किसिमको चुनाव कसरी स्वीकार गर्न सकिन्छ । हामी स्वीकार गर्न सक्दैनौं । यस्तो चुनाव कुनै हालतमा गरेर देखाऊ ।

जो मानिसहरुले संविधान बनाएका छन्, यसका त्रुटीहरु सच्याउनु तिनै मानिसहरुको जिम्मेवारी हो । यसमा संशोधन गरेर हामी प्रत्येक जनताले अनुभूति गर्न सकियोस् कि यो संविधानले हाम्रो हक हित र सम्मानको रक्षा गर्छ ।
जबसम्म यसको अनुभूति हामी जनताले गर्न सक्दैनौं, तबसम्म हामीले भनेका छौं, असहयोग । यहाँको प्रशासनलाई कुनै प्रकारको सहयोग हुँदैन । सरकारलाई, देशलाई अवज्ञा गर्नेछौं ।

बम फुटेको छैन, यो टाइम बम हो । तपाईले उठाउनुभएन भने यो निश्त्रिmय हुन्छ । यदि तपाई सुधि्रनुभएन भने उठाइन्छ, फुट्छ । यो कमको नाम जनता बम हो । जनतालाई सम्मान गरिएन भने उनीहरु अधिकारबाट वञ्चित भए भने यो बम फुट्छ । कुनै मधेसीमाथि गोली मारिन्छ भने अर्को मधेसी चुपचाप बस्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment