Comments Add Comment

बिराटनगरका ३ बुहारीः जो उपमेयरमा भिड्दैछन्

यस्तो छ इन्दिरा, नमिता र सुचीको प्रोफाइल

५ असार, बिराटनगर । एक नम्बर प्रदेशको एक मात्र महानगरपालिका बिराटनगरमा उपमेयरको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । उपमेयरमा मुख्यतः तीन उम्मेदवार चर्चामा छन्- नमिता न्यौपाने, इन्दिरा कार्की र सुची चौधरी ।

बिराटनगरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेर उपमेयरमा सुची चौधरीलाई सघाएको छ । कांग्रेसले इन्दिरा कार्कीलाई उठाएको छ । माओवादीले पूर्वएमाले नेतृ नमिता न्यौपानेलाई उपमेयरमा उठाएको छ । नमितालाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले सघाउने भएको छ ।

उपमेयरका तीनजना प्रत्यासीमध्ये इन्दिराले कसैसँग तालमेल नगरी एक्लै जित्नुपर्ने छ भने नमिता र सुचीले गठबन्धनको भोट पाउने छन् । प्रतिस्पर्धामा रहेका तीन उपमेयरहरु उमेरका हिसाबले लगभग तीन पुस्ताका नेतृ हुन् ।

उपमेयरमा दाबी गरिरहेका तीनैजना बिराटनगरका छोरी नभएर बुहारीहरु हुन् । दुईजना मोरङ्गे नेतृ हुन् भने एक जनाको माइती सर्लाही हो ।

बिराटनगरका धेरै मतदाताहरुलाई महानगर हाँक्ने उपमेयर कस्ता छन् भन्ने जानकारी छैन । हामीले यहाँ तीनैजना उपमेयरको संक्षिप्त परिचय दिने प्रयास गरेका छौं-

सुची चौधरीः मेरो खूनमा राजनीति छ, म जित्छु


एमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने पनि योगासन र धार्मिक कार्यमा चासो राख्नेहरुले सुचीको नाम पक्कै पनि सुनेको हुनुपर्छ । सुची योग सिकाउने शिक्षिका समेत हुन् ।

विसं २०२७ बैशाखमा जन्मेकी सुची अहिले ४७ वर्षकी भइन् । उनको माइतीघर मोरङको डंग्राहामा पर्छ । उनले डंग्राहाकै सबैहितैषी स्कुलमा प्राथमिक शिक्षा अध्ययन गरिन् । त्यसपछि बनीगाउँमा कक्षा १० सम्म पढि्न ।

माध्यमिक शिक्षा सकेपछि घरगृहस्थीमा लाग्नुपर्‍यो । र, अहिले बालबच्चा हुर्किइसकेपछि फेरि उनी आफ्ना पितापूर्खाको बिँडो थाम्न राजनीतिमा प्रवेश गरेकी छिन् ।

सूचीको घर बिराटनगरको एयरपोर्ट नजिकै, दरबार रेष्टुरेन्टको छेउमा छ । उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरी डाक्टर छिन्, उनको विवाह भइसकेको छ । कान्छी छोरीले साइन्स पढेकी छिन् । छोराले सीए पढ्दैछन् । श्रीमानको व्यापार व्यवसाय छ । कटहरीमा उनीहरुको अंकित ईंटा उद्योग छ ।

उपमेयरकी उम्मेदवार सुची लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारकी नातेदार हुन् । गच्छदार सूचीका काका ससुरा हुन् ।

सुचीका हजुरबा खरदार उमालाल चौधरी हुन् । उनका बुबा श्रीनारायण चौधरी हुन् । डंग्राहामा रहेको चौधरी परिवार २००७ सालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउँदै सुचीले अहनलाइनखबरसँग भनिन्- ‘राजनीति त मेरो खूनमै छ, हाम्रो घरमा कांग्रेस नेता वीपी, मातृका र गिरिजाप्रसाद कोइरालाको सेल्टर थियो, कोइराला परिवारसँग हाम्रो नजिकको सम्बन्ध थियो ।’

घरगृहस्थीमा लाग्नुपरेका कारण आफू यसअघि राजनीतिमा आउन नसकेको सुचीले बताइन् । तर, विगतमा विभिन्न संघसंस्थामा रहेका सामाज सेवामा सक्रिय भएको उनले बताइन् । सूचीले अब समाज सेवाबाट राजनीतिमा प्रवेश गर्न लागेको बताइन् ।

‘म समाज सेवामा सक्रिय छु । म योगाको टिचरसमेत हुँ । साई मन्दिर, लाइन्स क्लब र पतञ्जलीमा समेत आवद्ध छु,’ सुचीले अनलाइनखबरसँग भनिन्- ‘अब राजनीतिका माध्यमबाट समाज सेवा गर्न चाहन्छ्, मेरो रुची समाज सेवा गर्ने हो ।’

सुचीले उपमेयरमा आफ्नो जित निश्चित भएको बताइन् । उनले लोकतान्त्रिक फोरम र नेकपा एमालेवीच भएको तालमेलपछि संयुक्तरुपमा चुनावी अभियान अघि बढिरहेको बताइन् । र, दुई दलको सहमति अनुसार नै एमाले कार्यकर्ता र समर्थकबाट मत प्राप्त हुने र आफूले जित्ने सुचीले अनलाइनखबरलाई बताइन् ।

एमाले र लोकतान्त्रिक फोरमवीच बिराटनगर महानगरपालिकामा चुनावी तालमेल भएकाले एमाले-फोरम गठबन्धनले जित्ने निश्चित भएको सूचीले दाबी गरिन् ।

इन्दिरा कार्कीः वीरगञ्जदेखि बिराटनगरसम्म


नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी इन्दिरा कार्की सर्लाहीबाट बिबाह गरेर बिराटनगरबासी बनेकी हुन् । उनको घर बिराटनगरको तीनपैनीमा छ ।

कार्की परिवारको मोरङको बाहुनी र बबियाबिर्तामा खेतीपाती छ । उनका श्रीमान शालिक कार्की खेतीपाती रेखदेख गर्छन् ।

वि.सं. २०१९ सालमा सर्लाहीमा जन्मेकी कार्की अहिले ५५ वर्ष पुगिन् । उनको माइतीको थर सिलवाल हो ।

इन्दिराका एक छोरा र एक छोरी छन् । ग्लोबल बैंकमा काम गर्ने छोरी ललितपुरको हात्तीवनमा बस्छिन् । ज्वाइँ इञ्जिनियर हुन् । एक मात्र छोरा नेपाली सेनामा मेजर पदमा कार्यरत छन् ।

इन्दिराले वाल्यकालको शिक्षा वीरगञ्जको त्रिजुद्ध स्कुलमा पढेकी हुन् । कलेजको शिक्षा उनले वीरगञ्जकै ठाकुर राम कलेजमा पढिन् । उनले स्नातकसम्म अध्ययन गरेकी छिन् ।

विद्यार्थी कालदेखि नै इन्दिराले नेपाल विद्यार्थी संगठनमा काम गरेकी हुन् । नेपाली कांग्रेसको वडाको साधारण सदस्य हुँदै इन्दिराले वडा सभापति, जिल्ला सहसचिव र महासमिति सदस्यका रुपमा काम गरेकी छिन् । उनी तीन कार्यकालदेखि लगातार कांग्रेस महासमिति सदस्य छिन् । उनी अहिले पनि महासमिति सदस्य हुन् ।

पार्टीका साथै इन्दिरा नेपाल महिला संघमा पनि वडा सभापति र जिल्ला सचिव हुँदै केन्द्रीय सदस्यसम्म बनेकी छिन् ।

आफू सामाजिक संघ संस्थामा पनि सक्रिय रहेको इन्दिरा बताउँछिन् । उनी बिराटनगरको एलिट क्लबको सांस्कृतिक सदस्य छिन् । त्यस्तै परिवार नियोजन र सहकारी विकास बोर्डमा समेत उनको आवद्धता छ ।
पार्टीले आफ्नो निरन्तरतालाई हेरेर टिकट दिएको इन्दिराले अनलाइनखबरलाई बताइन् । र, उनले उपमेयरमा आफूले जित्ने दाबीसमेत गरिन् । उनले भनिन्- ‘मेरो रुची राजनीति र समाज सेवामा हो, पार्टीले मेरो निरन्तरतालाई हेरेर टिकट दिएको हो ।’

आफूले महानगरको उपमेयरमा जितेको खण्डमा महानगरलाई साँच्चिकै महानगर बनाउने इन्दिराले बताइन् । साथै बिराटनगरलाई बन्दरहित, धुलोरहित बनाउने बताइन् ।

आफूले निरन्तर पार्टी र समाज सेवामा लागेका कारण टिकट पाएको बताए पनि इन्दिरालाई महानगरका धेरै मानिसहरुले नजिकबाट नचिनेको स्थानीयको टिप्पणी छ । उनी बिराटनगरबासीमा भिज्न बाँकी छ ।

यसका साथै नेपाली कांग्रेसभित्रको असन्तुष्ट समुहले इन्दिरालाई धोका दिन सक्ने डर कांग्रेसभित्रै देखिन्छ ।

तथापि दलगत हिसाबले हेर्दा नेपाली कांग्रेस बिराटनगरको बलियो पार्टी भएकाले पार्टीभित्रबाट अन्तरघात नभएको अवस्थामा इन्दिरा उपमेयरका लागि खरो प्रतिस्पर्धी हुन् ।

नमिता न्यौपानेः एमालेदेखि माओवादीसम्म


महिनौं अघिदेखि बिराटनगरको उपमेयरमा भोट मागेर हिँडिरहेकी माओवादी नेतृ नमिता न्यौपानेले एमालेको भोटसमेत आफूले पाउने दाबी गरेकी छिन् । उनी अहिले माओवादी उम्मेदवार भए पनि पूर्वएमाले नेतृ हुन् ।

मोरङ जिल्लाको केराबारी बजारमा ०३७ सालमा जन्मेकी नमिता न्यौपानेले केराबारीकै मच्छिन्द्र उच्च माविबाट एसएलसी र प्लस टु को अध्ययन सकिन् । त्यसपछि उनले धरानको महेन्द्र क्याम्पसबाट स्नातक पूरा गरिन् । र, बिराटनगरको डिग्री क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरिन् ।

स्थानीय तहमा उपमेयरले न्यायिक समितिको संयोजकका रुपमा कानूनी कामहरु गर्नुपर्ने हुन्छ । नमिता हाल महेन्द्र क्याम्पस धरानकी कानून स्नातक तह -एलएलबी) दोस्रो वर्षकी विद्यार्थी समेत हुन् । अहिले उपमेयरमा लडिरहँदा उनको प्रोफाइलमा कानूनी शिक्षाले थप ‘स्कोर’ दिएको छ ।

विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा नमिताले एमाले अखिलको प्राकबाट राजनीति थालेकी हुन् । उनी एमाले अखिलको इकाई, र क्षेत्री सदस्य हुँदै केन्द्रीय सदस्यसमेत बनिन् ।

दोस्रो जनआन्दोलनमा बिराटनगरमा उनी एमाले विद्यार्थी नेतृका रुपमा सक्रिय थिइन् । यही क्रममा उही केही समय पक्राउ परिन् । जनआन्दोलन सकिएपछि उनी ०६३ सालमा माओवादीमा प्रवेश गरिन् ।

एमाले छाडेर माओवादीमा लागेपछि नमिता ०६८ सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य बनिन् । ०६८ देखि ०७० सम्म उनले माओवादी पार्टीको मोरङ क्षेत्र नं ७ को सचिव भएर काम गरिन् । र, हाल उनी माओवादी केन्द्रको केन्द्रीय आयोजक समितिको सदस्यका साथै बिराटनगर महानगरपालिका कमिटीकी संयोजक छिन् ।

एमाले अखिलमा सँगै काम गरेका घनश्याम पोखरेलसँग नमिताको बिहेबारी भएको छ । नमिता माओवादीमा लागेको दुई वर्षपछि घनश्याम पनि एमाले छाडेर माओवादीको सदस्य बनेका छन् ।

घनश्याम पोखरेल विराटनगरमा व्यापार व्यवसायमा सक्रिय छन् । परिवारका सदस्यबारे जानकारी दिँदै नमिताले अनलाइनखबरसँग भनिन्- ‘हामी आपसी सल्लाहले नै अघि बढेका हौं, मैले राजनीति गर्ने र उहाँले घर व्यवहार सम्हाल्ने हाम्रो सल्लाह छ ।’

नमिताकी ६ वर्षकी एक छोरी छिन् । बिराटनगर-४ मा उनीहरुको घर छ ।

नमिताले बिराटनगरको उपमेयर आफूले जितिसकेको दाबी गरिन् । उनले ढुक्क हुँदै भनिन्- ‘उपमेयरमा मैले जित्दैछु ।’

कसरी ? हामीले सोध्यौं । उनले एक, दुई, तीन भन्दै पाँचवटा तर्क गरिन्-

एक– म युवा हुँ । बिराटनगरबासीले युवा नेतृत्व चाहनुभएको छ ।

दुई– म पूर्वएमाले हुँ । अहिले एमालेले उपमेयरमा आफ्नो उम्मेदवार उठाएको छैन । त्यसैले हिजो एमालेमा हुँदा सँगै काम गरेका साथीहरु र एमालेका शुभचिन्तकहरुको मतसमेत मलाई आउँछ ।

तीन– उपमेयरमा प्रतिस्पर्धा गरेका मध्ये मेरो अध्ययन, शैक्षिक योग्यता अरुको भन्दा माथि छ । राजनीतिक संघर्षका हिसाबले पनि १५ वर्ष बिराटनगरमा बसेर मैले जनतासँग काम गरेकी छु । म बिराटनगरबासीसँग चिर परिचित छु । र, यसले महानगर हाँक्न सक्छे भन्ने नगरबासीलाई विश्वास छ ।

चार– माओवादी पार्टीले संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको छ । उमेश यादवजीलाई मेयरमा हामीले सघाएका छौं र मधेसी समुदायको मत हामीलाई आउँछ ।

पाँच– मलाई सबैसँग मिल्न सक्ने सहज नेताका रुपमा सबैले चिन्छन्, जसले गर्दा म सबै पार्टीका मानिसहरुसँग सहज छु भन्ने बिराटनगरबासीको बुझाइ छ । र, मेरो पक्षमा चुनावी माहौल पनि आएको छ ।

यो पनि पढ्नुस्

बिराटनगरका मेयर उम्मेदवार उमेश यादवः मधेसको छोरो, पहाडको ज्वाइँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment