८ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयकी नवनियुक्त सचिव डा. किरण रेग्मीले बिहीबार पदभार ग्रहण गरेकी छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले डा. रेग्मीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।
राष्ट्रकवि माधव घिमिरेकी छोरी डा. किरणले भनिन्, ‘जब सचिव बनेको पत्र आयो, सबैभन्दा पहिले मैले बुवा-आमालाई सम्झिएँ । जसले मलाई हुर्काएर, बढाएर, पढाएर यहाँ पुर्याउनुभयो । मैले चिठी बुवालाई दिएँ । बुवा र मेरा आँखाबाट आँसु आयो । तर, यो हर्षको आँसु थियो ।’
पत्र पाएलगत्तै पदभार ग्रहण गरेकी रेग्मीले आफूलाई सचिव नभनिदिन आग्रह गरिन् । आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै डा. रेग्मीले भनिन्, ‘मलाई सचिव नभन्दिनुहोला । हिजो जसरी म डा. किरण थिएँ, मलाई त्यही रुपमा स्वीकारिदिनु होला ।’
सचिव नै बन्छु भन्ने लक्ष्यका साथ निजामती सेवामा प्रवेश गरेको भन्दै उनले अहिले कुनै नौलो पद नपाएको बताइन् । सचिवमा नियुक्त भएको पत्र पाउँदा सबैभन्दा पहिले बुवालाई जानकारी दिएको र त्यतिबेला खुसीले आँसु झरेको जानकारी पनि उनले दिइन् ।
उचित कदर गरेको भन्दै सरकारको प्रशंसा
उनले आफ्नो कामको सरकारले उचित कदर गरेको भन्दै आभार व्यक्त गरिन् । बाग्लुङबाट निजामती सेवा सुरु गरेकी उनले पत्रकारहरुसँग आफ्ना विगत बाँड्दै भनिन्, ‘बाग्लुङबाट मेरो सेवा सुरु भएको थियो । सुत्केरी भएको २५ दिनमै बच्चालाई छाडेर गएँ । चार घण्टा हिँडेरै जानुपर्थ्यो । त्यसपछि धनगढी गएँ । ६ वर्ष त्यहाँ श्रीमानसँग बसें । तराई-पहाड घुमेको छु । अविछिन्न काम गरेकोमा सरकारले उच्च कदर गरेको छ ।’
स्वास्थ्य संस्थाको पुनर्संरचना मुख्य काम
उनले संघीयतामा स्वास्थ्य संस्थाको पुनर्संरचना आफ्नो मुख्य काम भएको बताइन् । उनले त्यसका लागि कुनै बाधा अड्चन भए फुकाउँदै अघि बढ्ने बताइन् ।
डा. रेग्मीले निर्धक्क भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिइन् । तर, नियमित विपरीतको कामलाई भने आफूले साथ नदिने उनले प्रष्ट पारिन् ।