Comments Add Comment

एमालेका ‘म्यान अफ दि इलेक्सन’ जसले ओली र एमाले जनको इज्जत राखिदिए

कसरी भयो धनकुटामा एमालेको क्लिन स्वीप ?

८ असार, काठमाडौं । एमाले र धनकुटाको साइनो रगतसँग साटिएको छ भन्दा अतिरञ्जित हुँदैन । ०३५ सालमा नामाकरण भएको तत्कालीन नेकपा माले नै अहिलेको नेकपा एमाले हो । तत्कालीन माले बामे सर्दै गर्दा धनकुटाको छिन्ताङमा १६ जनाको सामुहिक हत्या भएको थियो । मारिनेहरु अधिकांश सर्वसाधारण र माले समर्थक थिए ।

छिन्ताङ हत्याकाण्डले मालेलाई एमालेका रुपमा विस्तार गर्दा धनकुटे नेता तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहावदुुर थापालाई जीवनभर त्यो काण्डले लेखिटरहृयो । संयोग नै मान्नुपर्छ, ४ वर्षअघि संविधानसभा चुनावमा सूर्यबहादुरका छोरा सुनिलसँग २ सय मतले पराजित भएका राजेन्द्र राईले यसपटक स्थानीय चुनावमा राप्रपालाई एउटा सदस्य समेत जित्न नसक्ने अवस्थामा पुर्‍याए ।

दुई चरणमा चुनाव भएका ६७ जिल्लामध्ये धनकुटा यस्तो जिल्ला बन्यो, जुन जिल्लामा एमाले बाहेक अन्य सबै पार्टी मिल्दा पनि कुनै स्थानीय तह जित्न सकेनन् । अर्थात धनकुटामा एमालेले राजेन्द्र राईको नेतृत्वमा क्लिन स्वीप गर्‍यो । एमालेले क्लिन स्वीप गरेको एउटैमात्र जिल्ला धनकुटाका अध्यक्ष हुन् राजेन्द्र राई ।

धनकुटामा एमालेले क्लिन स्वीप गरेपछि विजयको खुसी बाँड्न अध्यक्ष केपी शर्मा ओली आफैं धनकुटा पुगे । उनले त्यहाँ क्लिन स्वीपको खुसियाली मात्र बाँडेनन्, धनकुटा जिल्ला अध्यक्ष राईलाई ‘म्याद अफ द इलेक्सन’ को उपाधि समेत दिए ।

पार्टी अध्यक्षले नै ट्रफी दिएर घोषणा गरेपछि एमालेभित्र राजेन्द्र राई अहिले म्याद अफ दि इलेक्सन हिरोका रुपमा चर्चित भएका छन् ।

ओलीको उक्तिः चरक मरक गरे राजेन्द्र पठाइदिउँला !

धनकुटामा २४ असार ०७४ मा आयोजित विजय सभामा ओलीले भने- ‘स्थानीय तह निर्वाचन ०७४ मा एमालेको ‘म्यान अफ म्याच’ राजेन्द्र राई । अब म उहाँलाई विशेष ट्रफी प्रदान गर्छु । यदि अरु जिल्लामा एमाले बिरोधीले निहुँ खोजे भने हामी भन्नेछौं- धनकुटाबाट राजेन्द्र राई पठाइदिउँ ?

अध्यक्ष ओलीले यो घोषणापछि रोष्टमबाट नेकपा (एमाले) धनकुटाका अध्यक्ष राई बसिरहेको ठाउँमै पुगेर दुबोको माला लगाइदिए ।

अध्यक्ष ओलीले जिल्ला अध्यक्ष राईको खुलेर प्रशंसा मात्रै गरेनन्, अन्य जिल्लाका बिरोधीहरुलाई राजेन्द्र राई पठाएर ठीक पार्ने समेत बताए । ओलीले भने, ‘एमाले बिरोधीहरुले बढी चरक-मरक नगरे हुन्छ, धनकुटाबाट राजेन्द्र राई पठाइदिउँला ।

हेबीवेट नेता र जातीय पहिचानको राजनीति असफल

एमालेका तिनै म्यान अफ द इलेक्सन राजेन्द्र राई शुक्रवार अनलाइनखबरको कार्यालयमा आइपुगे । उनमा चुनाव जितेको दम्भ भन्दा पनि अब यसलाई जोगाइराख्ने जिम्मेवारीवोध देखिन्थ्यो । हुन त धनकुटा राप्रपा महामन्त्री सुनिल थापा र संघीय समाजवादीका

उपाध्यक्ष रकम चेम्जोङको गृहजिल्ला हो । तर, स्थानीय चुनावमा सबै हेबीवेट नेताहरु राजेन्द्र राईका सामु कमजोर देखिए ।

दुई नगरपालिकासहित सबै सातवटै स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्वीप गरेको छ । धनकुटामा एमाले विरुद्ध कांग्रेस, राप्रपा र संघीय समाजवादी फोरमको त्रिपक्षीय गठबन्धन बनेको थियो । वडादेखि नगर र गाउँपालिकासम्म कतै पनि एक्लै प्रतिस्पर्धा गर्न नपाइएको राईले बताए ।

उनले भने-‘यसपटक धनकुटामा एउटा वडा पनि थिएन जहाँ सबै पार्टी सिंगल-सिंगल भिडेको होस् । कतै दुई पक्षीय र कतै त्रिपक्षीय गठबन्धनलाई पराजित गर्दै धनकुटामा क्लिन स्वीप गरियो । अब यो सफलतालाई प्रदेश र संघीय संसदको चुनावसम्म कायम राख्नुछ ।’

धनकुटा जिल्लामा ०७० सालको दोस्रो संबिधानसभाको चुनावमा एउटा क्षेत्र एमालेका टीकाराम चेम्जोङ र अर्कोमा राप्रपाका सुनिलबहादुर थापाले जितेका थिए । संविधानसभाको पहिलो निर्वाचनमा भने दुबै क्षेत्र नेकपा (माओवादी) ले जितेको थियो । तर, पछिल्लो समय धनकुटामा माओवादी कमजोर र कांग्रेस बलियो बन्दै छ ।

धनकुटा राई र लिम्बूहरुको बाहुल्य रहेको पहाडी जिल्ला हो । जहाँ पहिचानको राजनीति गर्ने भन्दै एमालेबाटै बाहिरिएका पूर्वमन्त्री तथा प्रभावशाली नेता रकम चेम्जोङले अस्थित्व समेत जोगाउन सकेनन् । जिल्लाभर ६० मध्ये ४३ वडाध्यक्ष एमालेले जितेको छ ।

कांग्रेस, माओवादी, राप्रपा र संघीय समाजवादी फोरम बिभिन्न ठाउँमा मिलेर १७ वडाध्यक्ष जितेका छन् । ती वडामा पनि अधिकांशमा सदस्य एमालेले जितेको दावी राईले गरे । ‘कुनै कुनै गाउँमा चार पार्टी समेत मिलेर एउटा वडाध्यक्ष जिते तर सदस्य हामीले नै जितेका छौं’ उनले भने ।

समग्रमा धनकुटा जिल्लाका ७ स्थानीय तह र ६० वडामध्ये एमालेले ८५ प्रतिशत मत पाएको छ । यो भनेको दुई तिहाई भन्दा बढी हो । कास्कीमा एउटा गाउँपालिकाको अध्यक्ष पराजित भएर क्लिन स्वीप गर्न नसकेको एमालेले दोस्रो चरणमा धनकुटाबाट क्लिन स्वीपको रेकर्ड राख्न पाएको भन्दै ओलीले राजेन्द्र राईको धेरै प्रशंसा गरेका छन् ।

को हुन राजेन्द्र राई ?

२०३६ कात्तिक २४ देखि २९ सम्म तत्कालीन राज्यसत्ताले धनकुटाको खोकु छिन्ताङमा ब्यापक दमन गरेको थियो । त्यही क्रममा १६ जना क्रान्तिकारीको हत्यापछि धनकुटामा सैयौं कम्युनिस्ट जन्मिए । तिनै सयौंमा एक थिए राजेन्द्र राई ।

छिन्ताङ काण्डले १५ वर्षे किशोर राजेन्द्रलाई कम्युनिस्ट राजनीतिमा हुत्यायो । धनकुटा सदरमुकामदेखि करिब पाँच घन्टाको पैदलयात्रापछि पुगिन्छ, मुगा गाविस । त्यही मुगा गाउँमा ०२२ साल भदौ २९ गते जन्मिएका हुन् राजेन्द्र राई ।

रोचक संयोग के हो भने, सूर्यवहादुर थापा पनि मुगाकै बासिन्दा थिए । ‘मुगाली थापा’हरूको प्रभाव र दबाबले त्यतिबेलाका धेरै युवाहरू पञ्चायतको पक्षमा थिए । तर, राजेन्द्रले कठिन् बाटो रोजे । उनी अखिलको राजनीतिमा तत्कालीन माले हुँदै एमालेमा लागे ।

०३६ सालमा काठमाडाैंको चावहिलमा अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भएका थिए । त्यतिबेला उनी आठ कक्षामा मात्रै पढ्दै थिए ।

राईले ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीनरूपमा पार्टीमा काम गर्न थाले । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी भए । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारमा परे । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो ।

२०४६ सालको जनआन्दोलनको सफलता लगत्तै उनले अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बने । उनले अखिलपछि युवा संघको जिल्ला अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरे ।

राजेन्द्र राई ०४९ मा धनकुटा जिल्ला विकास समितिको सदस्य निर्वाचित भए जतिबेला धर्मराज पौडेल सभापति थिए । २०५४ सालमा उनी जिल्ला विकास समितिको उपसभापति बने । जतिबेला टीकाराम चेम्जोङ सभापति भएका थिए । अहिले चेम्जोङको नेता राजेन्द्र बनेका छन् ।

०६६ सालमा एमाले धनकुटाको अध्यक्ष निर्वाचित भएका राई लगातार दुईपटक जिल्लाको नेतृत्व गरिरहेका छन् । सूर्यबहादुर थापाको विरुद्ध शुरु भएको उनको राजनीति अहिले छोरा सुनिल र नाति सिद्धार्थ थापासँग पनि संघर्षपूर्ण नै छ ।

कसरी भयो क्लिन स्वीप ?

परीक्षामा बोर्ड फस्र्ट हुने विद्यार्थीलाई सोधिन्छ-सफलताको सूत्र के हो ? हामीले पनि राजेन्द्र राईलाई सोध्यौं-क्लिन स्वीप कसरी सम्भव हुँदो रहेछ ? यो प्रश्नको उत्तर सायद अरुहरुलाई पनि उपयोगी हुनसक्छ ।

राजेन्द्रले यसको सहज जवाफ दिए-पहिलो कुरा त एमालेले लिएको सही नीति नै हो जितको आधार । हामीले त्यही नीतिलाई जनताको बीचमा संगठित ढंगले लग्यौं । कार्यकर्ताको सही व्यवस्थापन गर्न सक्यौं । उम्मेदवार चयनमा विवाद हुन दिइएन र सबै कार्यकर्ता परिचालन भए ।

चुनावमा जित्नका लागि व्यवस्थापन आवश्यक रहेको र त्यो यसपटक धनकुटामा कमी हुन नदिइएको उनले बताए । उम्मेदवारी चयनमा माथिका नेताहरुको स्वार्थ छिर्न नदिन उनले जिल्लाबाटै सबै उम्मेदवार तय गरेर अनुमोदनका लागिमात्र प्रदेशमा पठाए । जसले गर्दा कसैले पनि चलखेल गर्न पाएनन् ।

उनले भने- हाम्रो पार्टीले झापा, मोरङ, सुनसरी, भोजपुर जस्ता हाम्रो प्रदेशका धेरै ठाउँमा उम्मेदवार चयनमा अशन्तुष्टिकै कारण चुनाव हारेको छ । तर, धनकुटामा हामीले त्यस्तो हुन दिएनौं । जसले टिकट पाए, ती सबै सर्वसम्मत भए, टिकट नपाउनेहरुलाई प्रदेश र संसदमा पठाउनेछौं । यति गरेपछि कार्यकर्ता मसक्कै आँटेर लागे ।

उम्मेदवार चयनका क्रममा वडा तहबाटै टिकटका आकांक्षीहरुलाई सर्वसम्मत वा मतदानका आधारमा टुंग्याइएको थियो । तल्लो तहदेखि नै जसले धेरै कार्यकर्ताको मत पाउँछ उसैलाई टिकट दिने नीति राईले लागु गरे ।

खर्चमा एकद्वारः कार्यकर्तामाथि नगरानी

राईले यसपटक एमालेका प्रत्येक संगठित सदस्यलाई चुनावभरि आफैंले निगरानीमा राखे । हरेकको मोबाइल नम्बर उनीसँग थियो । कुन कार्यकर्ता कहाँ पुगेको छ भन्ने रेकर्ड उनीसँग हुन्थ्यो । खटिएको ठाउँमा नदेखिएमा उनले तत्काले फोन गरेर सोध्थे । उम्मेदवार र कार्यकर्ताबीच सधैं सम्पर्कमा रहन्थे ।

यसपटक चुनाव लड्ने उम्मेदवारहरुले अथाह पैसा बगाएका छन् । धनकुटामा क्लिन स्वीप गर्ने उम्मेदवारले कति खर्च गरे होलान् ? राजेन्द्र राईको जवाफ अचम्मको छ । उनले आफ्ना उम्मेदवारलाई व्यक्तिगत रुपमा पैसा खर्च गर्न समेत रोक लगाएका रहेछन् ।

राईले भने-जति पनि पैसा खर्च भयो पार्टी च्यानलबाट संगठित रुपमै भएको छ । व्यक्तिगत रुपमा उम्मेदवारलाई पैसा खर्च गर्ने छुट दिइएन । पैसा परिचालन गर्ने पार्टीको जिम्मेवार व्यक्ति अर्कै राखियो । यसो गर्दा चुनावमा पैसा धेरै खर्च पनि नहुने र कार्यकर्ता परिचालन पनि हुने अवस्था आयो ।

यो सफलतासँगै अब राजेन्द्र राईको सांसद बन्ने बाटो खुलेको छ । तर, प्रतिस्पर्धामा फेरि पनि हुनेछन्- उनै मुगाली थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment