Comments Add Comment

खेती सिकाउने सरल पुस्तक

सशस्त्र द्वन्द्व समाप्त भएर शान्ति प्रकृया सुरु भएपछि हामीकहाँ व्यवसायिक खेतीको लहर सुरु भएको छ । शिक्षित युवाहरु, जागीरबाट रिटायर्ड भएकाहरु मात्र होइन, विदेशबाट अनुभव हाँसिल गरेर फर्केकाहरु समेत व्यवसायिक खेती तर्फ आकषिर्त भइरहेका छन् । विभिन्न गैरसरकारी संस्थाको पहलमा गठन भएका विपन्न तथा महिला कृषक समूहहरुले समेत व्यवसायिक कृषिको लहर ल्याएका छन् । यसबाट गाउँघरमै स्वरोजगारको सिर्जना भइरहेको छ । कृषि प्रधान मुलुक भइकन पनि तरकारी र फलफूलमाथि समेत आयात गर्नुपर्ने विडम्बनापूर्ण बाध्यता कम हुँदै गइरहेको छ । साथै, थोरै भए पनि स्वदेशी मुद्रा विदेशिनबाट रोकिएको छ ।falful

तर जति पनि खेती भइरहेको छ, परम्परागत रुपमा मात्र भइरहेको छ । जिल्ला कृषि विकास कार्यालय तथा कृषि सेवा केन्द्रहरुमा कृषि प्राविधिकहरुको उपलब्धता असाध्यै कम भएको र भएकाहरुले समेत समर्पित भएर सेवा दिन सक्ने प्रचलन नै छैन । स्वअध्ययनबाट खेतीका बारेमा जानकारी लिन र रोग किराको समस्या आउँदा समाधान गर्न चाहने वर्गका लागि बजारमा पर्‍र्याप्त मात्रामा पुस्तकहरु उपलब्ध छैनन् । यही कुरालाई मध्यनजर गर्दै योगी डा. विकाशानन्दकी चेली शान्ता सिंखडाले एकैचोटि “सफल तरकारी खेती” र “सफल फलफूल खेती” नामक दुई पुस्तक बजारमा ल्याएकी छिन् ।

सफल तरकारी खेती पुस्तकमा उनले अदुवा, स्कुस, आलु, टमटर, चम्सुर, रायो, पालुंगो, कुरिलो, च्याउलगायत ३५ वटा तरकारीको खेती गर्ने तरिका, लाग्न सक्ने सम्भाव्य रोग, तिनको जैविक तथा विषादी उपचार विधि आदिका बारेमा सामान्य साक्षरले समेत बुझ्ने गरी सरल भाषामा बताइएको छ । बाली लगाउनु अघि गर्नुपर्ने माटोको तयारीदेखि भण्डारणसम्मका बारेमा निकै रोचक पारामा जानकारी दिइएको छ । यसबाट परम्परागत ढंगले खेती गर्दै आएकाहरुले समेत निकै उपयोगी जानकारी हाँसिल गर्न सक्छन् ।

तर पुस्तकमा कुन तरकारीको खेती किन गर्ने ? तरकारीलाई वेमौसमी उत्पादन गर्न के-के गर्नुपर्छ ? कुन तरकारी भान्सा, होटेल आदिमा कसरी-कसरी उपयोग गरिन्छ ? कुन तरकारीको बजारको सम्भावना कस्तो छ ? जस्ता कुरा भने छुटेका छन् । अर्गानिक तरकारीप्रति उपभोक्ताको सचेतता विस्तार हुँदै गएको अवस्थामा पूर्ण अर्गानिक तरकारी खेती गर्दा अपनाउनु पर्ने प्रकृया आदिका बारेमा समेत उल्लेख गरिएको भए पुस्तक निकै हदसम्म उपयोगी हुने थियो । साथै खेतीमा असम्बद्धहरुमा समेत प्रेरणा प्राप्त हुने थियो । यद्यपि पुस्तकमा प्राङ्गारिक मल बनाउने बिधिका बारेमा भने बताइएको छ ।

“सफल फलफूल खेती” पुस्तकमा पनि यी समस्या विद्यमान छन् । पुस्तकमा एभोकाडो, ओखर, अनार, अम्बा, लिची, सुन्तला लगायत ३० प्रजातिका फलफूलको परिचय मात्र नभएर ती-ती फलफूलको खेतीका लागि आवश्यक पर्ने हावापानी, माटो आदिका बारेमा जानकारी दिइएको छ । रोग र मुसा नियन्त्रण विधिका बारेमा समेत बताइएको छ । तर कुन फलफूलको खेती किन गर्ने ? बजारको सम्भावना कस्तो छ ? आदि बारेमा जानकारी दिन भने कन्जुस्याइँ गरिएको छ । अर्थात् पुस्तकमा खेतीका बारेमा प्राविधिक जानकारी त छन् तर कृषिमा चासो राख्नेहरुलाई उर्जा भर्ने सामाग्री छैनन् । पुस्तकको तयारी हतारमा गरिएकोले छुटेको पनि हुनसक्छ । जे होस्, फलफूल खेतीबाट आर्थिक कायापलट हुनसक्ने प्रचुर सम्भावना, विदेश निर्यात गर्न सकिने सम्भावना आदिका बारेमा समेत बताइएको भए यो पुस्तकको महत्व नै बेग्लै हुने थियो । जे होस् नहुनु मामाभन्दा कानो मामा नै निको । यी पुस्तक बजारमा ल्याएर शान्ताले उपयोगी काम गरेकी छिन् । पाँचपोखरी प्रकाशनले बजारमा ल्याएका यी पुस्तकमध्ये सफल तरकारी खेतीको मूल्य रु २७५ र सफल फलफूल खेतीको रु २५० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment