+
+

कोरियाले ४२ मेगावाट सोलार उत्पादन गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २२ गते १२:५२

२२ भदौ, काठमाडौं । नेपालमा सोलारबाट विद्युत उत्पादन गर्न कोरियन सोलार कम्पनी इच्छुक देखिएको छ । कोरियाको प्रतिष्ठित इयान टेक कम्पनी लिमिटेडले नेपालको सोलार विद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको हो ।

तत्काल १० देखि ४२ मेगावाटसम्मको आयोजना संचालन गर्न इयान टेक कम्पनीका अध्यक्ष खाङ थे सङ र नेपालको दुधकोशी पावर कम्पनीका कार्यकारी निर्देशक रामबहादुर लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

इयान टेकले पाकिस्तान र बंगलादेशसहित विश्वका ३० देशमा सोलार विद्युत उत्पादन गर्दै आएको छ । इयान टेकले लगानी गर्न लागेको नेपाल ३१ औं राष्ट्र हो ।

korea solar

सम्झौता अनुसार, नेपालका १० वटा क्षेत्रमा ६ महिनाभित्र सोलार विद्युत उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन गरिनेछ । यसैगरी, दुधकोशी पावर कम्पनीले कोरियाको सोलार ऊर्जा परियोजनाहरुको अध्ययन अवलोकन गर्नेछ ।

विद्युत उत्पादनका लागि पहिलोचरणमा काभ्रे, झापा र खोटाङ लगायतका स्थानलाई प्राथमिकतामा राखिएको दुधकोशी पावरका कार्यकारी निर्देशक रामबहादुर लामाले बताउनुभयो ।

जलविद्युत आयोजना भन्दा सोलार विद्युत उत्पादन केही महंगो हुन्छ, तर थर्मल प्लान्ट भन्दा यो धेरै नै सस्तो हो । १० मेगावाटसम्मको आयोजना ६ महिना भित्रै सम्पन्न गर्न सकिने भएकाले पनि नेपालका लागि सोलार आयोजना अति नै प्रभावकारी देखिएको छ, कार्यकारी निर्देशक लामाले भन्नुभयो ।

सम्भाव्यता अध्ययन सकिनासाथ विद्युत उत्पादन सुरु गरिने उहाँले बताउनुभयो । जलविद्युत आयोजना निर्माण गर्नका लागि वर्षौ लाग्ने भए पनि सोलार आयोजनाका लागि बर्षदिनभित्र सयौं मेगावाट निकाल्न सकिने भएकाले लोडसेडिङ हटाउने उपयुक्त विकल्प समेत हुनसक्ने उहाँको भनाइ छ ।

एक हप्तादेखि नेपालमा रहेका कोरियन कम्पनी इयान टेकका अध्यक्ष खाङले सोलार विद्युतको प्रशस्तै सम्भावना रहेकाले नेपालमा लगानी गर्न खोजेको बताउनुभयो । नेपालमा लोडसेडिङको समस्या रहेको भन्दै उहाँले नेपाल सरकारले स्वीकृति दिए सयौं मेगावाटका सोलार उर्जा उत्पादन गर्न आफू तयार रहेको बताउनुभयो ।

सोलार ऊर्जा आयोजना टिकाउपूर्ण पनि मानिन्छ । एक पटक प्लान्ट स्थापना गरिएपछि २५ वर्षसम्म सहजै निरन्तर विद्युत उत्पादन गर्न सकिने विज्ञहरुले बताएका छन् । नेपाल सरकारले पनि सोलार उर्जालाई प्राथमिकता दिने बताइरहेपनि अहिलेसम्म सोलार मेगा परियोजना संचालन भएको छैन ।

त्यत्तिकै खेर गइरहेको सौर्य ऊर्जालाई उपयोग गरे नेपालका लागि अति नै लाभदायक हुने दुधकोशी पावर कम्पनीका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।

दुधकोशी पावर कम्पनीले खोटाङको रावा खोलामा ६.५ मेगावाटको जलविद्युत आयोजना पनि निर्माण गरिएको छ । कोरियाको प्रतिष्ठित कम्पनीसँगको साझेदारीमा सोलार विद्युत उत्पादन गर्न पाउनु अवसरको रुपमा लिएको दुधकोशी पावरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?