२० असार, काठमाडौं । नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन् ।
भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए ।

राजभण्डारीका अनुसार अन्तिम दिन विनु बाहेक नेपालले थप १ स्वर्ण र १ रजत जितेको छ ।
पुरुष ८० केजीमा सगेन्द्र सिंहले स्वर्ण जिते । महिला टिम च्याम्पियनसिपमा नेपालले रजत प्राप्त गर्यो । पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौं भए ।
प्रतियोगतामा नेपालले कूल ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो ।
यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए ।
दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्कणदेखि निरन्तर सहभागी नेपालको कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ । नेपाली टोली आइतबार स्वदेश फर्कदै छ ।
प्रतिक्रिया 4