Comments Add Comment

कतारमा पुल भत्किँदा नेपाली कामदार गम्भीर घाइते

२८ भदौ, दोहा । कतारमा एक निर्माणाधिन पुल भत्किँदा १५ जना कामदार घाइते भएका छन् । घाइते हुनेमध्ये अधिकांस नेपाली कामदार रहेका र ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको कतारी संचार माध्यम द पेनिन्सुलाले जनाएको छ । लुसैल सहरमा निर्माणाधीन पुल बिहीबार बेलुकी झण्डै ६ बजे भत्किएको हो । पुलको स्टिल संरचनालाई कंक्रिट हाल्ने तयारी भैरहेको बेला दुर्घटना भएको बताइएको छ ।

पुल भत्किएपछि कामदारहरु चेपिएका एक जना नेपाली कामदारले बताए । खबर दिने ती नेपाली कामदारको खुट्टामा चोट लागेको कतारी संचार माध्यमले जनाएको छ ।गम्भीर घाइते भएका नेपाली कामदारलाई हमाद मेडिकल कर्पोरेसनको आकस्मिक विभाग अन्तरगत ट्रमा युनिटमा राखेर उपचार भैरहेको छ । अन्य घाइतेको पनि उपचार भैरहेको छ । पुल भत्किएर कामदार चेँपिएपछि क्रेनको सहायताले केही मिनेटमै कामदारलाई उद्धारगरिएको थियो । धेरै कामदारको हात तथा खुट्टा भाँचिएको छ र सरीरका विभिन्न ठाउँमा स्टिलका रडले घाउ बनाएको छ ।

पुल निर्माणमा ३५ जना मजदुर खटिएका भएपनि अरु दुर्घटनाको समयमा निर्माणस्थलमा नभएकाले दुर्घटनामा पर्नबाट जोगिएका हुन् । पुल भत्किनुको कारण पत्ता लागेको छैन ।तर कामदारहरुले स्टिल संरचना राम्रोसँग नअडिएकाले दुर्घटना भएको हुनसक्ने बताएका छन् । पुल निर्माणको जिम्मा पाएको कम्पनीले भने के कारणले दुर्घटना भएको हो भन्न नसकिएको बताउँदै अध्ययन भैरहेको जनाएको छ । दोहास्थित नेपाली दुताबासले भने घटनाका बारेमा कुनै जानकारी नभएको बताएको छ । कतारी संचार माध्यमसँग बोल्दै नेपाली दुताबासका अधिकारीहरुले आफुहरुले सूचना संकलन गर्ने प्रयास गर्ने र पछि आफै खबर गर्ने बताए । दुर्घटना भएको लुसैल सहर कतारको राजधानी दोहा भन्दा १५ किलोमिटर उत्तरमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment