Comments Add Comment

लिम्बुवान र मिथिलाको फिजीकरण भएको छ

सीके लाल

राज्य भनेको मानव जातिको इतिहासमा एकदमै नयाँ संरचना हो । वेस्टफालिया सन्धिलाई लिने हो भने अहिलेको जस्तो राज्य बनेको ३ सय ६० देखि ३ सय ८० वर्ष मात्र भएको छ । त्योअगाडि राज्य थिएन । तर, राज्य नहुँदा पनि समाज थियो । त्यसैले समाज प्राकृतिक संरचना हो । राज्य कृत्रिम संरचना हो । प्राकृतिक संरचना भएकाले त्यससँग हाम्रा सम्बन्धहरु जोडिएका हुन्छन् ।ck lal

समाजभित्र नातागोता हुन्छन्, परिवार हुन्छ, समुदाय हुन्छ, साथीभाइ हुन्छन्, मर्‍या पर्‍या बेलामा काम लाग्ने छिमेकीहरु हुन्छन् । त्यसैले समाज रहिरहन्छ । राज्य भने बन्छ, टुक्रिन्छ । दक्षिण एसियाको कुरा गर्नुहुन्छ भने सन् १९४७ मा भारतबाट पाकिस्तान छुट्टयिो । त्यसको अलि दिनपछि बङ्गलादेश छुट्टयिो । त्यसको अलि दिनपछि बर्मापनि गयो । त्यसपछि फ्रान्सभन्दा ठूलो देश हैदरावाद भारतमा गाभियो । राज्य बन्छ टुक्रिन्छ, मिल्छ । यो इतिहासको प्रक्रिया हो ।

नयाँ संरचना भएकाले राज्य एकदमै आक्रामक हुन्छ । राज्यको एउटा स्वरुप डर र भयबाट शासन गर्ने हो । नेपालमा राणाहरु र पञ्चायतकालको कुरा गर्ने हो भने पहिलो रुप डर र भयबाट नै शासन गर्ने थियो । त्यसपछि दोस्रो रुप सोसियल कन्ट्रयाक्ट -सामाजिक अनुवन्ध) को आधारमा शासन गर्ने हो । त्यसमा नागरिकको पनि केही कर्तव्य र अधिकार हुन्छ । त्यसबापत राज्यले पनि केही दायित्व र अधिकार पाउँछ । यी दुईटाले आफ्नो अधिकार र कर्तव्य पालन गर्ने जुन अनुबन्ध छ, त्यो संविधान हो । त्यसैले अनुबन्धमा आधारित राज्य हुन्छ । राज्यको अन्तिम स्वरुप भनेको सहमतिको राज्य हो । त्यसमा अनुबन्ध गौण हुन जान्छ अनि राज्य र समाज एउटै भइदिन्छ ।

नेपालमा एकथरिले राज्य र समाज एउटै हो भनेर भने । यसले समस्या सिर्जना गर्‍यो । हाम्रा नताहरुले भाषण गर्दा भद्र महिला तथा पुरुष भनेर भन्दैनन्, आदरणीय दाजुभाइ तथा दिदीबहिनी भन्छन् । त्यसो भन्नुको अर्थ राज्यलाई परिवारको रुपमा लिइएको हुनसक्छ । यसरी नै राज्यलाई शासक समुदायले परिवारको रुपमा लिए । तर, राज्य परिवारजत्तिको प्राकृतिक छैन ।

नेपालको हकमा अहिलेसम्म डर र भयबाटै चलेको राज्यमा छौं । हामी अनुबन्धसम्म पनि पुग्न सकेका छैनौँ । अनुबन्धको सम्बन्धलाई आधार मान्ने हो भने नेपालमा २००७ सालदेखि सुरु भएको थियो । त्यसले ६० वर्ष नाघिसक्यो । तापनि अहिलेसम्म राज्यको स्वरुप भयमै आधारित दमनकारी प्रवृत्तिको छ । त्यसैले गर्दा राज्य र समाजबीच निरन्तर द्वन्द्व छ । राज्यमाथि नागरिकको भरोसा छैन । नागरिकले मलाई भरोसा गरेन भन्दै राज्यबाट झन् बढी दमन गरियो । राज्यले बढी शोषण गर्‍यो । अनुबन्धको सम्बन्ध बनेकै छैन । त्यसैले हामीले अनुबन्धको सामान्य आधार हेर्नुपर्ने हुृन्छ ।

तर, अहिले राज्यले सुरक्षा दिन सकिरहेको छैन । राज्यले सेवा दिन पनि छोडिसक्यो । बच्चाहरुलाई पढाउने ग्यारेन्टी गर्न सकिरहेको छैन । विरामी भएपछि अस्पतालमा उपचार गराउन गाह्रो भइराखेको छ । निजी संस्थामा सेवा लिन बाध्य हुनुपरेको छ । बिरामी हुँदा औषधी पसलमा गएर सोधपुछ गर्नुपर्ने, धामी-चाहार्ने अवस्था छ । सम्मान त राज्यले दिएकै छैन । सम्मान लिनको लागि पहिलो आवश्यकता हो नागरिकता । तर, अहिले नागरिकता राज्य संयन्त्रको एटीएम मेसि बन्न पुगेको छ । जहिले पनि पैसा निकाल्न मिल्ने भएको छ । सरकारले यदि नागरिकता गलत प्रक्रियाबाट दिएको छ भने त्यो त सरकारी संयन्त्रको गल्ती हो । व्यक्तिको त पटक्कै होइन । मानौँ त्यस्तो गल्ती भएको छ भने यदि व्यक्तिले रक तिर्छ र कानुन मान्छ भने त्यो नागरिक सम्मानको हकदार हुनुपर्छ । यहाँ नागरिकता पाउनको लागि जन्मेर हुँदैन । मान्यता दिइएको रगतबाट जन्मनुपर्ने स्थिति छ । यसरी समुदायलाई राज्यले आफ्नो नागरिक होइन भनेर सिधै नकारिरहेको छ । त्यसो हुँदा नागरिकले म कर तिर्दिनँ, कानुन मान्दिनँ, तिम्रो हतियारको एकाधिकार मान्दिनँ भन्ने भावनाको विकास गर्छ र सशस्त्र समूहतिर लाग्ने सम्भावना पनि हुन्छ । यसरी समाज र राज्यसंयन्त्रको सम्बन्ध खलबलिएको छ ।

यो टकरावको स्थिति मधेश जस्तो ठाउँमा जटील बन्नुको कारण हो-राज्यको अनुहार हेर्दा आफूजस्तो नदेखिनु । राज्य आफ्नो जस्तो पनि त देखिनु पर्‍यो नि । जंगबहादुर राणाले पाण्डे, थापा साफ गरिसके भनेर हामीले इतिहासको किताबमा पढ्यौँ । तर, होइन रहेछ । म तपाईंहरुलाई निजामती सेवामा रा.प. द्धितीय श्रेणीमा हालै पदोन्नति पाएकाहरुको नामावलीको थर पढेर सुनाउँछु । तपाईंहरु यसमा विचार गर्नुहोला । खरेल, बराल, खड्का, भट्टराई, लुइँटेल, ठकुरी, विष्ट, सुवेदी, कार्की, अर्याल, पोखरेल, हुमागाईँ, ढुंगाना, ढकाल, निरौला, आचार्य, गैरे, अधिकारी, चापागाईँ, थपलिया, घिमिरे, पुरी, बेलबासे, डाँगी, श्रेष्ठ, खनाल, ज्ञवाली, सापकोटा, तिमिल्सिना, तिम्सिना, रेग्मी, दाहाल, भुसाल, उपाध्याय, जिसी, लम्साल, पौडेल,भण्डारी, रायमाझी, उप्रेती, न्यौपाने, कलोनी र बास्तोला । यसमा जनजातिको नाउँमा दुईवटा श्रेष्ठ रहेछन् । हिमाली क्षेत्रका कोही पनि छैनन् । मधेशी कोही पनि छैनन् । राज्यको यस्तो एकांगी चरित्र छ । मैले ऐना मात्रै देखाएको हो राज्यको अनुहारको । यो नतिजाअनुसार तपाईँहरुले कुनै मधेशी सीडीओहरु पाउनुहुने छैन । त्यसैले अहिलेको जस्तो ७५ वटा जिल्लाहरु नै रहने हो भने पाँच वर्षपछि यिनीहरुमध्ये नै सीडीओ हुन्छन्, सचिव हुन्छन्, क्षेत्रीय प्रशासक हुन्छन् । यसरी २०-२८ प्रतिशत जनसंख्याको नियन्त्रण पूरैराज्यमा छ । बाँकीचाँहि समाजमा मात्र बसेका छन् र राज्यको उपस्थितिको प्रत्याभूति नै पाएका छैनन् । यस्तो अवस्थामा सम्बन्ध कसरी सुधि्रन सक्छ ? यो निकै चिन्ताको विषय हो । यस विषयमा छलफल गर्नुअगाडि यो समस्या हो भन्ने कुरा स्वीकार गर्नैपर्छ । यो समस्या नै होइन भनियो भने त्यो गलत हुन जान्छ ।

यसरी कुरा राख्दा विखण्डनको कुरा ल्यायो, दुर्भाव बढायो, सद्भाव विगार्‍यो भनिन्छ । तर, यो वाहियात कुरा हो । यस्तो कुराले सद्भाव बिगि्रँदैन । त्यसैले यहाँहरुले आफूलाई लागेको कुरा स्पष्ट शब्दमा भन्नुभयो भने त्यसले समाजलाई र राज्यलाई अन्ततः बलियो बनाउँछ । दर्शनशास्त्री नित्सेले भन्थे- ‘जुन बिषले तिमीलाई मार्दैन, त्यो बिषले तिमीलाई बलियो बनाउँछ ।’ त्यसैले बिषै ओकल्नुपर्‍यो भने पनि मनमा केही नराखेर स्पष्टसँग राख्नुभयो भने मात्रै यो कार्यक्रमको उद्देश्य हासिल हुन्छ ।

हजार साल नभए पनि नेपालको मधेशमा अढाई सय साल त भयो । त्यसैले यो आगो भड्काउने कुरा होइन । यो मनन गर्ने कुरा हो । जहाँ समाज र राज्यको सम्बन्धको अन्तरक्रिया हुन्छ, त्यहाँ कठिनाई हुन्छ । तपाईँको भावना, प्रतिक्रिया र अनुभव सुनाउनुभयो भने त्यसबाट सबैलाई फाइदै हुन्छ ।

अहिले राज्य-संयन्त्र र समाजबीच जुन बैमनस्यताको भाव छ, त्यसलाई कसरी कम गर्ने भन्नेतर्फ जाँदा पहिले त विवाद हुन्छ । विवाद नभईकन कुनै समझदारी आउला, समझदारी आएपछि अलिकति सद्भाव पनि बढ्ला अनि सामञ्जस्य स्थापित होला भन्ने आशा हो । अहिले यो कुरै नगरौँ भन्ने हो भने त वैमनस्यता झन् बढ्दै जान्छ । यो बिषवृक्ष भएपछि यसलाई राक्नै सकिँदैन ।

फिजीकरणको नामममा तपाईँ हामीलाई नागरिकता नदिने भन्लान् । के देशलाई फिजीकरण गर्न लागेको हो ? भनेर प्रश्न गर्नेलाई मुखभरीको जवाफ दिनुहोस् । आफूले गल्ती गरेको जस्तो सुनेर मात्र छोड्नुभयो भने कहीँ कतै स्थान पाउनुहुने छैन । हामीले भन्नुपर्छ, ‘के को फिजीकरण ? मधेशको फिजीकरण पहिले नै गरिसकियो ।’ फिजीमा साम्राज्यवादीहरुले उखु खेतिका लागि त्यहाँका स्थानीयहरुलाई पत्याएका थिएनन् । त्यहाँ भारत र नेपालबाट मजदुरहरु लैजाने कुरा भयो । भन्ने बेलामा भारतीय भनिन्छ तर त्यहाँ नेपालीहरु पनि थिए । ती मधेशी मूलका थिए । त्यसपछि उनीहरुले त्यहाँको नागरिकता पाए । स्वाभाविक छ, पुस्तौँ पुस्तादेखि बसेपछि नागरिकता पाइन्छ । त्यहाँ नेपालबाट गएका एक जना बहादुर मन्त्री पनि छन् । फिजीमा स्थानीयहरुलाई सेनासम्ममा राखियो । बेलायती उपनिवेश हुँदा पनि त्यहाँको सेनामा स्थानीय मान्छे हुन्थे । त्यहाँको प्रशासनमा पनि स्थानीय मानिस नै हुन्थे । मधेशमा त यस्तो फिजीकरण भयो कि मधेशमा पहाडीयाहरुलाई ल्याएर बसाइयो तर मधेशीलाई न त सेनामा राखियो, न त प्रशासनमै ।

पहाडबाट मधेशमा मान्छे सारियो, यहाँका मान्छेलाई दास बनाइयो र उल्टै फिजीकरणको कुरा गरियो । हाम्रो फिजीकरण यत्रो वर्षदेखि हुँदा कसैले केही पनि नबोल्ने र हामीलाई नै फिजीकरणको कुरा सुनाउने ? त्यसरी नै लिम्बुवानको पनि फिजीकरण भएको हो । त्यहाँ पनि नेपाली भाषीलाई सारियो । लिम्बुहरुको राज्य खोसियो, जग्गा खोसियो र भनियो-‘तिमीहरुलाई हामी भाडाका सिपाहीमा मात्र राख्छौँ ।’ लिम्बुवानको फिजीकरण भएको छ, मिथिलाको भएको छ, तमुवानको भएको छ । यी सबै फिजीकरणतिर लैजाने हो भने समाज विध्वंश हुन सक्छ । हामी अब सकारात्मक भएर सभ्य समाज निर्माण गरौं ।

अहिले असन्तोष छ । यो असन्तोषलाई कम गर्न सकेनौं भने समाजको असन्तुष्टि बढदै जान्छ र उसले राज्य किन चाहिन्छ भन्ने कुराको अर्थ खोज्न थाल्छ । कसैले कृपा गरेर हुने सम्बन्ध स्वीकार्य हुँदैन र यो उपनिवेश कायम रहेको काल पनि होइन । राज्यको आधुनिक अवधारणा नै नेपालको राज्यले स्वीकार गरेको छैन ।

यसको सम्बोधन पनि तीन तरिकाबाट नै हुनसक्छ । पहिले, जस्तो चल्दैछ त्यस्तै चल्न दिनुस् र तपाईँ आत्मसमर्पण गरिदिनुस् । दोस्रो, समावेशी र संघीयताको लागि तपाईँ संघर्ष गर्नुस् । तेस्रो, राज्यले तपाईँलाई पूर्ण रुपले दमन गर्न सक्छ । चौथो त बाटै छैन । यी तीनवटै बाटोले भएन भने चौथो बाटो भनेको विखण्डन हो ।

दोस्रो विश्वयुद्ध सन् १९४७ सम्म संसारमा ४०-५० वटा मात्र देशहरु थिए । अहिले २०७-२०८ जति छन् । ती नयाँ देशहरु आकाशबाट झरेका होइनन्, तिनीहरु पनि टुक्रिएर बनेका देशहरु हुन् । ती बढेका राष्ट्रहरु टुटेर बनेका हुन् । पूर्वी टिमोर कपिलबस्तु भन्दा कम जनसंख्या भएको देश हो । तुभालुको जनसंख्या मेरो गाउँको भन्दा कम छ । यस्ता देशहरु पनि छन् । सिक्किम आज छैन, हैदरावाद पनि छैन । दक्षिण सुडान आयो । पूर्वी टिमोर आयो । यसरी नयाँ देश आउँछन्, पुराना जान्छन् ।

-राजनीतिक विश्लेषक सीके लालको यो लेख मधेश फाउण्डेशनद्वारा प्रकाशित मधेश मन्थन पुस्तकबाट साभार गरिएको हो । राज्य-समाज सम्बन्धका आधार शीर्षकमा प्रकाशित सो लेखको केही अंश शीर्षक परिवर्तन गरी अनलाइनखबरमा प्रकाशित गरिएको हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment