
२६ साउन, काठमाडौं । इजरायली सेनाले आइतबार गाजामा गरेको हवाई आक्रमणमा पत्रकारको भेषमा रहेका एक हमास नेताको हत्या गरेको दाबी गरेको छ । तर, अधिकारकर्मीहरूले भने उनी युद्धग्रस्त क्षेत्र गाजामा अग्रपंक्तिबाट रिपोर्टिङ गरिरहेका अलजजिराका पत्रकार भएको बताएका छन् ।
इजरायलले गाजा सिटीको पूर्वी भागमा पर्ने शिफा अस्पताल नजिकैको टेन्टमा आइतबार आक्रमण गरेको थियो । सो आक्रमणमा अल जजिराका चार पत्रकार र एक सहायक सहित पाँच जना मारिएका थिए । अस्पतालका एक अधिकारीका अनुसार सो आक्रमणमा अन्य दुई जनाको पनि मृत्यु भएको थियो ।
मारिनेमध्येका २८ वर्षीय अनस अल शरिफलाई इजरायलले ‘पत्रकारको भेषमा काम गरिरहेको हमासको नेता’ भनेको हो ।
इजरायली सेनाले जारी गरेको एक विज्ञप्तिमा अल शरिफ हमास सेलको प्रमुख भएको उल्लेख छ । उनी इजरायली नागरिक र इजरायली सैनिकहरूमाथि रकेट आक्रमण बढाउन जिम्मेवार रहेको आरोप लगाइएको छ ।
पत्रकार संघ तथा अलजजिराले भने इजरायली आक्रमणबाट पत्रकारहरु मारिएको भन्दै घटनाको निन्दा गरेका छन् । अलजजिराका अनुसार अन्य मृतक पत्रकारहरूमा मोहम्मद कुरेकेह, इब्राहिम जाहेर र मोहम्मद नुफल थिए ।
पत्रकारहरूको अधिकारका लागि काम गर्ने समूह र संयुक्त राष्ट्रसंघका एक विज्ञले यसअघि नै अल शरिफको जीवन गाजाबाट गरिरहेको रिपोर्टिङका कारण जोखिममा रहेको बताएका थिए ।
जुलाईमा नै ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ (सीपीजे) ले पनि अल शरिफको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको थियो । उसले शरिफसहितका पत्रकार मारिएको घटनाको निन्दा गरेको छ । इजरायलले उनलाई हमासको नेता भएको आरोप लगाए पनि त्यो आरोप पुष्टि नहुने उसको भनाइ छ ।
‘विश्वसनीय प्रमाणबिना पत्रकारहरूलाई लडाकु भनेर लेबल लगाउने इजरायलको बानीले यसको उद्देश्य र प्रेस स्वतन्त्रप्रतिको सम्मानबारे गम्भीर प्रश्न उठाउँछ,’ मध्यपूर्व तथा उत्तरी अफ्रिकाका लागि सीपीजेकी निर्देशक साराह कुदाहले भनेकी छन् ।
शरिफले अन्तिम समयमा छाडेको सन्देश
अलजजिराले जनाएअनुसार अल शरिफले मृत्यु भएमा प्रकाशित गर्न भनेर सोसल मिडियामा एउटा सन्देश छोडेका थिए, जसमा लेखिएको थियो, ‘…मैले कहिल्यै सत्य कुरालाई जस्तो छ त्यसरी नै, कुनै तोडमोड वा विकृति बिना, प्रस्तुत गर्न संकोच गरिनँ र ईश्वरले मौन बस्नेहरूलाई साक्षी राखून् भन्ने आशा गरेँ ।’
पाँच लाखभन्दा बढी फलोअर भएको एक्स (पहिले ट्विटर) खातामा अल शरिफले मृत्यु हुनु केही मिनेटअघि मात्रै गाजा सिटीमा दुई घण्टाभन्दा बढी समयदेखि तीव्र बमबारी भइरहेको लेखेका थिए ।
अलजजिराले उनलाई ‘गाजाका सबैभन्दा साहसी पत्रकारमध्ये एक’ भन्दै इजरायली आक्रमणको निन्दा गरेको छ । ‘अनस अल शरिफ र उनका सहकर्मीहरू गाजाको दु:खद यथार्थलाई संसारसम्म पुर्याउने आवाजहरू मध्येका थिए,’ अलजजिराले भनेको छ । उसले इजरायलको आक्रमणलाई ‘गाजा कब्जाको तयारीका बीचमा आवाजहरू चुप गराउने प्रयास’ भनेर टिप्पणी गरेको छ ।
गाजालाई सञ्चालन गर्ने हमासले यो हत्या सम्भावित इजरायली आक्रमणको सुरुवातको संकेत हुन सक्ने बताएको छ । ‘पत्रकारहरूको हत्या र बाँकीलाई धम्की दिनु भनेको गाजा सिटीमा कब्जाधारीले योजना बनाइरहेको ठूलो अपराधको तयारी हो,’ हमासले विज्ञप्तिमा भनेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा हमासका गढहरू ध्वस्त पार्ने नयाँ आक्रमण सुरु गर्ने बताएका छन्, जहाँ २२ महिनादेखिको युद्धपछि भोकमरी संकट गहिरिँदै गएको छ ।
हमासद्वारा सञ्चालित गाजा सरकारी सञ्चार कार्यालयका अनुसार ७ अक्टोबर २०२३ मा युद्ध सुरु भएयता २३७ जना पत्रकार मारिएका छन् । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ (सीपीजे) का अनुसार गाजा संघर्षमा कम्तीमा १८६ जना पत्रकारको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4