२३ असार, बेल्जियम । नेपाली अवैतनिक कन्सुलर रोजर द ग्रुनके अध्यक्षतामा जुलार्इ ४ तारिखका दिन ११ सदस्यीय बेल्जियम-नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । नेपालसँग व्यापार गर्न इच्छुक बेल्जियम व्यापारीहरुलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने, आपसमा व्यवसायीक सहकार्य गर्ने, लगानीका सम्भावनाहरु पहिचान गर्ने, आर्थिक सुचना आदान-प्रदान तथा कानुनी परामर्श गर्ने उद्वेश्यका साथ संस्था गठन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा हेनरी माई र युबराज गुरुङ रहेका छन् । त्यस्तै, महासचिव ओम शर्मा, कोषाध्यक्ष क्रिष्टोफ डे मिस्टर रहेका छन भने सदस्यहरूमा हरी थपलिया, चेतप्रसाद भट्ट, जानकी गुरुङ, गुय माहियु, कृष्ण खतिवडा र किसन पोखरेल रहेका छन् । घोषणा सभापछि अध्यक्ष ग्रुनले संस्था गठन गर्नुको उद्देश्य, औचित्य र कार्यक्षेत्रका बारेमा प्रष्ट पारेका थिए ।
अध्यक्ष ग्रुनले आयात निर्यातका सम्पूर्ण ढोका खोलेर बेनेलक्सका ब्यापारीहरुलाई सबै प्रकारको सहयोग गर्ने प्रण गर्दै सम्पूर्ण नेपाली व्यापारी, नेपालमा रहेर बेल्जियमसँग ब्यापार गर्ने ब्यापारीहरु, नेपालसँग व्यापार गर्ने बेल्जियमका व्यापारीहरूलार्इ संस्थामा आवद्ध हुन अनुरोध गरेका थिए ।
संस्था घेषणा कार्यक्रममा ब्रसेल्स महानगरमा स्थापित नेपाली व्यापारीहरु, नेपालका ब्रसेल्सस्थित राजदूत राममणी पोख्रेल, दुताबासका प्रथम सचिव लक्षुमण खनाल, उपनियोग प्रमुख कुमार खरेल, बेल्जियमका लागी नेपाली अवैतनिक कन्सुलरद्वय जोन केरी र रोजर द ग्रुन, नेपली प्रबासी संघ बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ, नेपली व्यवसायी संघका अध्यक्ष हरी थपालिया, भ्लामिस च्याम्बर अफ कमर्सका डाइरेक्टर बेल्कार्ट, कलाकार संघका अध्यक्ष पदम गुरुङ, चितवन क्याटकी अध्यक्ष पार्वती अधिकारी, बरिष्ठ साहित्यकार तथा पत्रकार पञ्चम अधिकारी, नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य दीपक ज्योति पौडेल र अर्का पत्रकार डिल्ली अंमाईको उपस्थिती रहेको थियो ।
महामहिम राजदूत पोख्रेलले बेल्जियम-नेपाल च्याम्बर अफ कमर्सको गठनबाट आफु एकदमै प्रभावित भएको बताए । उनले बेल्जियम–नेपाल च्याम्बर अफ कमर्सलाई कुनै पनि प्रकारको सहयोगको जरुरी भएमा नेपाल सरकारले सबै ढोका खुला राख्ने जानकारी दिँदै नेपाल र नेपालीहरुको हितलाई केन्द्रमा राखेर लगानी नेपाल भित्राउन सम्पूर्ण सहयोग जुटाउन प्रयत्न गर्ने बचन दिए ।
डिल्लीराम अंमाई
प्रतिक्रिया 4