Comments Add Comment

पर्यटन बोर्डको फाइल छानविन समितिले पाएन

 २४ असार, काठमाडौं । पर्यटन बोर्डमा भएको अनियमितता छानविन गर्न गठन भएको समितिले फाइल नै अध्ययन नगरी प्रारम्भिक प्रतिवेदन पर्यटन मन्त्रीसमक्ष बुझाएको छ । छानविनका क्रममा माग गरिएका कागजपत्रहरु बोर्डले उपलब्ध नगराएपछि समितिले फाइल नै अध्ययन नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेको हो NTB-Building

छानविन समितिले कागजपत्र माग्दा बोर्डले सबै कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको जबाफ दिएको थियो । ‘हामीले १३ प्रकारका डकुमेन्टहरु बोर्डमा मागेका थियौं’ छानविन समितिका एक सदस्यले अनलाइनखबरसँग भने- ‘सबै कागजपत्र अख्तियारलाई पठाएको भन्दै हामीलाई दिइएन ।’

पर्यटन मन्त्रालयका सह-सचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित छानविन समितिले १९ गते प्रतिवेदन सरकारलाई बुझाइसक्नुपर्ने थियो । सोही अनुरुप अनुगमनमा जे-जती प्रगती भयो, के-कस्ता कठिनाई बेहोर्नुपर्‍यो नालिबेली उतारेर प्रतिवेदन बुझाएको ती सदस्यले बताए ।

छानविन समितिका सदस्य सचिव ध्यान कुमार राईद्धारा हस्ताक्षरित पत्रमार्फत असार ९ गते विभिन्न १३ प्रकारका सक्कल कागजातहरु उपलब्ध गराउन बोर्डलाई आग्रह गरिएको थियो । समितिले पुनः १२ गते पत्रचार गरी आर्थिक वर्ष २०६८/०६९, ०६९/०७० र ०७०/०७१ को बोर्डका निर्णय पुस्तिका र बैंक विवरण उपलब्ध गराउन बोर्डसमक्ष आग्रह गरेको थियो ।

समितिले कागजपत्र मागेपछि बोर्डको कर्पोरेट सर्भिसेजका निमिक्त निर्देशक अनिल दासले सबै कागजातहरु विभिन्न सयमयमा अख्तियारमा बुझाएको जबाफ दिँदै छानविन समितिलाई उपलबध गराउन नसक्ने जानकारी गराएका थिए ।

अनलाइनखबरले प्राप्त सुचनाअनुसार छानविन समितिले काम अगाडी बढाइरहेका बेलामा अख्तियारका अनुसन्धान अधिकृत रबिन कोइरालाद्धारा हस्ताक्षरित पत्रमार्फत बोर्डको आर्थिक वर्ष २०६८/०७९ र आव ०६९/७० को लेखा परीक्षणको प्रतिवेदन उपलब्ध गराउन अनुरोध गरिएको थियो । असार १२ गते आयोगको पत्र बोर्डले प्राप्त गरेपछि माग गरिएका सबै कागजपत्र आयोगमा पठाएको सुवास निरौलाले बोर्ड अध्यक्ष सुशिल घिमिरेलाई जानकारी गराएको देखिन्छ ।

एमाले महाधिवेशनका कारण पर्यटनमन्त्री भीम आचार्यले छानविन समितिले बुझाएको प्रतिवेदन हेर्न पाएका छैनन् । ‘महाधिवेशन सकिएपछि मन्त्री ज्यूले प्रतिवेदन अध्ययन गर्नुहुनेछ, अनि उहाँले जे आदेश दिनुहुन्छ, हामी त्यहि अनुरुप अगाडी बढ्छौं’ छानविन समितिका ती सदस्यले भने- ‘छानविनका क्रममा बोर्डबाट सहयोग नपाउँदा तोकिएको भूमिका निभाउन असमर्थ जस्तै भयौं ।’

उनले दिएको जानकारी अनुसार छानविन समितिले काम पुरा नगरेको हुनाले म्याद थपेर अनुसन्धान अगाडी बढाइने छ । ‘अख्तियार भ्रष्टाचार छानविन गरेर कारबाही प्रकृया अगाडी बढाउने सर्वोच्च निकाय हो, उ आफै तातेर फाइल अध्ययन गरेको राम्रो हो’ उनले भने- ‘तर अख्तियारले सबै फाइल अध्ययन गर्ने हो की आंशिक अध्ययन गर्ने हो, अहिले के हेरिरहेको छ, समितिलाई प्रष्ट पारिदिनुपर्छ ।’

छानविनका लागि आवश्यक कागजात उपलब्ध नभएपछि समितिले बोर्डमा एक दिनमात्र काम गरेको थियो । टिम्सकार्डको विवरण बोर्डले उपलब्ध नगराएपछि ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) मा पनि समितिले काम गर्न पाएन । बोर्डले टानलाई कति टिम्स कार्ड पठाएको भन्ने डाटा उपलब्ध नहुँदासम्म अडिट अगाडी बढाउन मिल्दैन । नेपाल माउन्टेनियरिङ एशोसियसन (एनएमए) को भने अध्ययन तथा छानविन कार्य सम्पन्न भइसकेको ती सदस्यले जानकारी दिए ।

आर्थिक विनियमको विषयमा अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको जानकारी प्राप्त भएपछि के गर्ने भन्ने विषयमा समिति निक्र्यौलमा पुग्न नसकेको बताइएको छ ।
पर्यटन व्यवसायीहरु भने सुवास निरौलाले कागज लुकाएर छानविन समितिलाई नदिएको आरोप लगाएका छन् । ‘रातभरी बोर्डमा बसेर निरौलाले कागजपत्र मिलाइरहेका छन्’ एक व्यवसायीले भने- ‘उनले प्रमाण नपुग्ने कागजपत्र अख्तियारलाई दिएर सबै कागजात अख्तियारमा पठाइदिएँ भन्दै छानविन समितिलाई झुक्काउँदै आएका छन् ।’

कागजपत्र अख्तियारलाई पठाएपनि बैंक स्टेटमेन्ट छानविन समितिलाई उपलब्ध गराउन सक्ने भएपनि निरौलाले आफ्नो कर्तुत बाहिर आउने डरले उपलब्ध नगराएको ति व्यवसायीले आरोप लगाए । बोर्डको निष्पक्ष छानविन गरी सत्य तथ्य बाहिर नल्याउँदासम्म व्यवसायीहरुले आन्दोलन जारी राख्ने व्यवसायीहरुको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment