२५ असार, सुनसरी । विश्वकप फुटबलको सेमिफाइनल खेलमा ब्राजिलले ७ गोल खाएपछि सुनसरी भरौलकी कक्षा १० मा पढ्ने छात्रा प्रज्ञा थापाले बुधबार बिहान आत्महत्या गरिन् ।
पोष्टमार्टमपछि उनको बुधबार नै चतरा धाममा सदगति गरिएको छ । पढाइमा मेघावी रहेकी प्रज्ञाको आत्महत्याको कारण अरु केही नभएर ब्राजिलको पराजय नै रहेको परिवारजन र स्थानीयले बताएका छन् ।
पारिवारिक पृष्ठभूमि
सिद्धार्थ इङलिस बोर्डिङ स्कुल कालाबञ्जरमा कक्षा १० मा पढ्ने प्रज्ञाको पढाइ राम्रो थियो । उनी प्रायः प्रथम हुँदै आएकी छात्रा हुन् । १५ वर्षीया प्रज्ञाको कुनै ब्वाइफ्रेन्ड थिएनन् । केटाले जिस्काउन खोज्दा प्रहरीलाई खबर गर्ने उनी हक्की स्वाभावकी थिइन् ।
घरकी जेठी छोरी प्रज्ञाका दुई बहिनी थिए । उनीहरुको पनि पढाइ राम्रो थियो । पिता महेन्द्र थापाले बहराइनमा बसेर आर्जन गरेको कमाइले सबै छोरीलाई बोर्डिङ स्कुल पढाएका थिए । विदेशको कमाइले थापा परिवारले एक विघा जमिन खरिद गरेको थियो । परिवार प्रेमपूर्ण थियो । घरमा आमा कल्पना थापा र तीन छोरीहरु बस्थे । बुबाले दिनहुँजसो बहराइनबाट फोन गरिरहन्थे ।
आत्महत्या गर्नुपूर्वको घटना
आमा कल्पनाले दिएको जानकारी अनुसार प्रज्ञाको फुटबलमा असाध्यै रुची थियो । फुटबल खेल हेर्न उनी प्रायः छुटाउँदिनथिइन् । छुटेको खेल उनी पछि दोहोर्याएर हेर्ने गर्थिन् ।
तर, गएको राति भने उनी ब्राजिल र जर्मनीको सेमिफाइनल नहेरी सुतिन् । कारण थियो बुधबारको परीक्षा । उनले बुधबार नेपाली विषयको त्रैमासिक जाँच दिनुपर्ने थियो ।
बुधबार बिहानै प्रज्ञा ओछ्यानबाट ब्युझँदा बहराइनबाट बुबाले आमालाई फोन गरिरहेका थिए । छोरीले गेम हेरी कि हेरिन भन्दै महेन्द्रले पत्नीलाई सोधे । कल्पनाले जाँच भएकाले नहेरी सुतेको जानकारी दिइन् । त्यसपछि महेन्द्रले छोरीको टिम ब्राजिलले सात गोल खाएर हारेको जानकारी गराए । आमाले जिस्काउँदै भनिन्, तेरो ब्राजिलले त सात गोल खाएर हार्यो अरे । बहिनीले पनि उनलार्इ जिस्काएकी थिइन् ।
ब्राजिलले सात गोल खाएको सुनेपछि प्रज्ञा मुख धोएर गाउँतिर लागिन् । आफूले भेटेजतिलाई उनले ब्राजिलले सात गोल खाएछ, नेयमार भएको भए हार्दैनथ्यो भनिन् ।
आमालाई मर्छु भनेपछि आत्महत्या

आमा कल्पनाका अनुसार गाउँबाट फर्केर आएपछि प्रज्ञाले म त मर्छु भनेकी थिइन् । तर, अरुबेला पनि कहिलेकाँही यस्तै भनेर जिस्कने गरेकी हुनाले कल्पनाले यो कुरामा खासै ध्यान दिइनन् । त्यसपछि प्रज्ञा कोठा (बुइँगल)भित्र परिन् । छोरी सधैंझैं मोबाइल खेलाउँदै होली भन्ने आमालाई लाग्यो । एकैछिनमा कोठामा घद्र्याक्क गरेको आवाज आयो । कल्पनाले बहिनीलाई जाजा हेर् के खस्यो भनेर हेर्न पठाउँदा प्रज्ञा झुण्डिइसकेकी थिइन् ।
कल्पनाले अघिल्लो साल चतरामा बोलबम जाँदा प्रयोग गरेको शिव शिव लेखिएको कपडाको पासो लगाएर प्रज्ञाले आत्म हत्या गरेकी थिएन् । उनका खुट्टाले भूइँ छोए पनि आमाले थाहा पाउँदा प्राण पखेरु उडिसकेको थियो ।
कल्पनाका अनुसार छोरीले आत्महत्या गर्नुपर्ने वा उनको मनमा चोट पार्ने कुनै घटना भएका थिएनन्, ब्राजिलको लज्जास्पद पराजयबाहेक ।
प्रतिक्रिया 4