Comments Add Comment

सूर्यबहादुरलाई हराउने दीपक बोहोराको प्लान !

३२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेताका लागि बरिष्ठ सूर्यबहादुर थापा आफैं अघि सर्ने भएका छन् ।

संसदीय बोर्डको बैठकले साउन १० गतेका लागि चुनावको मिति तय भएको छ र दलकाे नेतामा पूर्व अध्यक्ष एवं पूर्वप्रधानमन्त्री थापासँग महामन्त्री दीपक बोहोराले प्रतिस्पर्धा गर्ने भएपछि संविधानसभामा १३ सीटको प्रतिनिधित्व गर्ने राप्रपाको राजनीति गर्माएको छ ।

थापा किन आफैं अघि सरे ?

पार्टी अध्यक्ष पद पशुपतिसमशेर जबरालाई जिम्मा लगाइसकेका सूर्यबहादुर थापा संसदीय दलको अध्यक्षका लागि आफैं अघि सरेका छन् ।

राप्रपा स्रोतका अनुसार पशुपति समशेरलाई २६ सीटबाट सभासदमा मनोनित गरेर सूर्यबहादुरले उनैलाई संसदीय दलको नेता बनाउने इच्छा गरेका थिए । तर, सर्वोच्च अदालतले दलभन्दा बाहिरबाट मनोनयन गर्न भनेको र सभासदको मनोनयनमा समेत ढिलाइ भएकाले राणालाई संसदीय दलको नेता बनाउने थापाको इच्छा पूरा भएन ।

Rpp

‘अध्यक्ष राणालाई संसदीय दलको नेता बनाउन नसकिएपछि सूर्यबहादुर आफैं अघि सर्नु परेको हो,’ राप्रपाका एक नेताले अनलाइनखबरसँग भने, ‘ दीपक बाहोराको छवि राम्रो नभएकाले उनलाई संसदीय दलको नेता जिम्मा लगाउँदा राप्रपा सिद्धिने ठहरसहित थापा आफैं अघि सरेका हुन् ।

बोहोरा र चन्द मिल्दा थापा अल्पमतमा पर्ने

स्रोतका अनुसार १३ सभासद रहेको राप्रपामा सूर्यबहादुर थापाको पक्षमा आफू र छोरा सुनील थापासहित पाँच सभासद छन् । आफैं पार्टी अध्यक्ष घोषणा गरेका लोकेन्द्रबहादुर चन्दसँग ३ सभासद छन् भने दीपक बोहोरासँग पनि आफूसहित तीन सभासद छन् । बाँकी दुई सभासद कतै पनि खुलेका छैनन् ।

तीन-तीन सभासद आफूसँग रहेका चन्द र बोहोरा आपसमा मिलेको खण्डमा संसदीय दलको नेतामा सूर्यबहादुर थापा हार्न सक्ने स्रोतले बतायो । तर, लोकेन्द्रसँग रहेका र स्वतन्त्र रहेका केही सभासद बोहोरालाई दलको नेता बनाउन नहुने अडानमा रहेका कारण चन्द र बोहोरा मिले पनि सबै मत एक ठाउँ नझर्ने आशमा थापा पक्ष रहेको छ ।

ठाकुरमार्फत राणालाई फकाएको आरोप

बोहोराले पशुपति समशेरलाई फकाएर संसदीय दलको नेता हत्याउन खोजेको थापा पक्षले आरोप लगाएको छ । ‘२६ सभासदमा मनोनित भएपछि संसदीय दलको नेता तपाईलाई छाडिदिन्छु भन्दै बोहोराले राणालाई फकाइरहेका छन्, ‘थापानिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पशुपति धादिङका ठाकुर शर्माको कुरा सुन्छन्, शर्मालाई बोहोराले आर्थिक सहयोग गरेर आफ्नो पक्षमा पारिसकेका छन् ।’

राप्रपाको संसदीय दलको नेतामा बोहोराले जिते राप्रपा सिद्धिने थापा पक्षको दाबी छ । ‘विगतका सुशील कोइरालाले बोहोरालाई भ्रष्ट छविको भन्दै मनत्री बनाउन नमानेका हुन्, संसदीय दलको नेता उनलाई बनाउने हो भने राप्रपाको छवि धुमिल हुने निश्चित छ,’ ‘स्रोतले भन्यो,-‘बोहोराका कारण राप्रपा कमजोर भयो भने कमल थापाको राप्रपा नेपालले कन्जरभेटिभ फोर्सको नेतृत्व गर्ने खतरा बढ्छ ।’

उता सभासद बोहोराले भने विगतमा संसदीय दलको नेताको दाबी नछाड्ने र थापासँग प्रतिस्पर्धा गर्ने बताएका छन् ।

थापालाई उपनेता र अब बन्ने सरकारमा मन्त्री दिने प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गर्दै चुनाव लड्ने अडान लिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment