Comments Add Comment

‘फेसबुक यातायात’लाई तेह्रथुम छिर्न नदिइएपछि…….

facebook-travels

ज्ञानेन्द्र खड्का
२६ साउन, काठमाडौं । देशमा दिनानुदिन विस्तार भइरहेको सार्वजनिक सडक कसको निजी सम्पत्ति होला ? यस्तो सडकलाई तपाईले आफ्नै ठान्नुभएको छ भने त्यो भ्रममात्रै हो । सरकारी सम्पत्तिका रुपमा रहेका यी सडकमा गाडी गुडाउन तपाईले ‘सडकका डन’हरुको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।

काठमाडौंबाट पूर्वी तराईसम्म चल्दै आएको ‘फेसबुक यातायात’ ले तेह्रथुमसम्मको बाटोमा गाडी चलाएपछि कोशी अञ्चलका यातायात व्यवसायीहरु आन्दोलनमै उत्रिए । आफ्नो अनुमतिविना लामो रुटको बस चलाएको भन्दै धरानका व्यवसायीले फेसबुक यातायातलाई अवरोध गरे । झापामा पनि सडकमा हुलिएका उज्यालो यातायातका नयाँ गाडीमा ढुंगा हानियो ।

काठमाडौंबाट धरानसम्म मात्रै जाने गरेका मितेरी यातायात र फेसबुक यातायातले काठमाडौंबाट धनकुटा र तेह्रथुमसम्म यात्रु लान थालेपछि कोशी बस व्यवसायी संघले सौता पसेको भन्दै अवरोध गरेको हो ।

धरानका व्यवसायीहरुले गाडी गुड्न नदिएपछि तेह्रथुमका व्यवसायीहरुले खोलेको ‘फेसबुक यातायातले तराईबाट आउने यातायातका साधनलाई पनि तेह्रथुम र संखुवासभा छिर्न नदिने अर्को घोषणा गरे ।

कोशी अञ्चलमा हप्ता दिन यात्रुलाई हुर्मत भोगाएपछि यातायात व्यवसायीको दादागिरी मेची अञ्चलमा सर्‍यो । कोशीमा फेसबुकले जस्तै मेचीमा उज्यालो यातायातले २१ वटा सुविधायुक्त गाडी ल्याएर लामो दूरीमा चलाउन थालेपछि सत्तारुढ दल एमालेनिकट बस व्यवसायी संघले बुधबारबाट आन्दोलन थाल्यो ।

एमालेनिकट बस व्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनालीको अगुवाइमा थालिएको आन्दोलनलाई कांग्रेस र माओवादीनिकट व्यवसायीले पनि साथ दिए । उज्यालो यातायातका गाडीमाथि ढुंगा बर्साउँदै यातायात व्यवसायी सडकमा उत्रिए ।

सरकारले प्रतिवन्ध लगाइसकेको सिन्डिकेट प्रणालीका लागि आन्दोलन सुरु गरेका व्यवसायीहरु पाँच दिनपछि घुँडा टेक्न बाध्य भए । आन्दोलन नरोकिए कारबाही गर्ने झापाका प्रजिअ एकमणि नेपालले चेतावनी दिएपछि बन्दकर्ताले आइतबारबाट आन्दोलन रोकेका हुन् ।

गैह्रकानुनी नियम लाद्दै दादागिरी
सरकारले एक वर्षअघि नै अवैध घोषित गरिसकेको सिन्डिकेट कायम गरिएपछि मेचीमा मैनालीको अगुवाइमा सिन्डिकेटअनुसार करिब ४ हजार यात्रुवहाक साधन आलोपालोमा चल्न थालेका छन् । ‘हामीले नयाँ गाडी काठमाडौंसहितका लामो रुटमा गुडाउन ल्याएपछि सिन्डिकेट ‘आलोपालो’ प्रणालीमा रहेर चलेमात्र गुडाउन दिने भनियो’, उज्यालो बस व्यवसायी संघका महासचिव केवलराम राईले भने, ‘सरकारले खारेज गरिसकेको सिन्डिकेट प्रणाली नमानी प्रतिस्पर्धामा गाडी चलाउँदा हाम्रा गाडीमा तोडफोड गरियो, तर हामी सिन्डिकेट स्वीकार्दैनौं ।’

बहुदल आएयता सरकारले उदार अर्थव्यवस्था अँगाल्दै आएको छ । उदार अर्थप्रणालीले विनाअवरोध प्रतिस्पर्धा गर्दै व्यवसाय गर्ने कुराको प्रत्याभूति गरेको छ ।
यसैका आधारमा सरकारले प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन ०६३ जारी गरी प्रतिस्पर्धाविरुद्ध सम्झौता गर्न नहुने, प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने र प्रतिस्पर्धा सीमित गर्ने उद्देश्यले गाभिन नहुनेजस्ता कानुनी व्यवस्था गरेको छ ।
कानुनले बर्जित गरेको सिन्डिकेटको आडमा ५ दिनसम्म पूर्व ठप्प पारेपछि आइतबार झापामा बसेको सर्वपक्षीय बैठकमा सिन्डिकेट लाद्न खोज्ने यातायात व्यवसायीलाई पक्राउ गरी कानुनी कारबाही गर्ने चेतावनी प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले दिएपछि यातायात व्यावसायी पछि हटेका हुन् ।

मेचीमा गरिएको बन्दको समर्थनमा कोशीमा पनि बन्दमा उत्रेका सिन्डिकेट पक्षधर व्यवसायीले भने बोलबम र जनैपूणिर्मा मनाउन तीर्थयात्रामा जाने तीर्थालुको सुविधालाई ध्यानमा राख्दै बन्द खुलाएको बताएका छन् । प्रशासन र प्रहरीले कारबाही गर्न डराउँदा व्यवसायीले ज्यादति गरेको यात्रुको गुनासो छ ।

नयाँ गाडीलाई सुरक्षा दिनै चर्को
सिन्डिकेट लाद्न आन्दोलनमा उत्रेका व्यवसायीले बन्दमात्रै गरेनन्, नयाँ गाडीलाई गुड्न नदिई सडमै बस तेस्र्याए । बस तेस्र्याएर अवरोध गरेपछि व्यवसायीले उज्यालो यातायातका गाडीमाथि ढुंगामुढासमेत बर्साउन भ्याए । सिन्डिकेट तोड्दै गुडाइएका मध्ये करिब आधा दर्जन बसमा तोडफोड भयो । सडकमा गुडेका गाडी तोडफोड गर्ने ६ जना बढी मजदुरलाई पक्रेर मुद्दा चलाइएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सिन्डिकेटका पक्षधरको तर्क
मेची वस व्यवसायी संघका महासचिव श्रीप्रसाद मैनाली आलोपालो गरेर गाडी नचलाउने हो भने सबै व्यवसायी डुब्ने तर्क गर्छन् । ‘अस्वस्थ प्रतिस्पर्धा गरेर डुब्नुभन्दा आलोपालो गरेर चल्दा सबै जोगिइन्छ र राम्रो हुन्छ’, मैनाली भन्छन्, ‘सरकारले नै मिलेर गरी खानु भनेका बेला हामी पनि मिलेर अघि बढौं भन्दा उज्यालो यातायात नटेरी अघि बढेपछि समस्या भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment